छयोर्तेन र गुम्वा मर्मत गर्दै मुस्ताङ्गीहरु

२४ मंसिर २०७७, बुधबार १०:०७ मा प्रकाशित (7 महिना अघि)
पुनहिल संवाददाता

कोरोना कहरले जाडो छल्न वेंशी झर्न नपाएपछि गाउँमै रोकिएका मुस्ताङ्गीहरु फुर्सदको समय जीर्ण भएका र भत्केका गुम्बा, छ्योर्तेन र मणीपर्खालहरु मर्मत गर्दै फुर्सदको उपयोग गरिरहेका छन ।
प्राचिन समयदेखी नै हिउँदका चार महिना जाडो छल्न वेंशी झर्ने गरेकोमा यो वर्ष वेंशीका बस्तीमा कोरोना संक्रमण फैलिएपछि ‘ग्रीन जोन’ मा रहेका मुस्ताङ्गी वेंशी झरेका छैनन । प्राचिनकालदेखी नै हिउँदका दिनमा वैंशी झरेर घुम्ती ब्यापार गर्दै आएका मुस्ताङ्गीको यो वर्ष क्रमभंगता भएपछि फुर्सदमा छन ।
जाडो छल्ने र घुम्ती ब्यापार गर्न कोरोनाले गाउँमै रोकेपछि फुर्सदिला मुस्ताङ्गीहरु यति वेला श्रमदानगरी गाउँवस्तीमा जीर्ण भएका गुम्बा, छ्योर्तेन र मणीपर्खाल जस्ता सम्पदा संरक्षणमा जुटेका छन । संरक्षण अभावमा गाउँवस्ती नजिकै तथा डाँडाहरुमा अलपत्र परेका प्राचिन सम्पदाहरु पुन:निर्माण, मर्मत तथा संरक्षण गर्न स्थानीय जुटेका हुन ।
‘हिउँदका चार महिना जाडो छल्न र घुम्ती ब्यापार गर्न वेंशी झथ्र्यौ । यो वर्ष कोरोना सर्ने डरले मुस्ताङी सभ्यतामा पहिलो पटक हामी गाउँमै रोकिएका छौं, वेंशी झरेनौं’ लोमन्थाङ गाउँपालिका, ५ का नामग्याल गुरुङ्गले भने, ‘अघिल्ला वर्ष यतिवेला वेंशीका वस्ती, सहरहुँदै दिल्लीसम्म पुगेर घुम्ती ब्यापार गर्थ्र्यौ । अहिले फmुर्सदमा छौं । त्यसैले गाउँमा भत्केका हाम्रा धार्मिक सम्पदाको संरक्षणमा श्रमदान गरिरहेका छौं ।’
छ्योर्तेन मुस्ताङ्गको साँस्कृतिक सम्पदा हुन । गर्भमा मृतकको अस्तु राखिएको छ भने त्यसलाई दुङ्तेन र धार्मिक ग्रन्थ वा अन्य वस्तु राखिएको छ भने त्यसलाई छ्योर्तेन भनिन्छ । मुस्ताङका सवै गाउँ प्रवेश गर्ने र बाहिरिने द्धारमा, बाटोहरु, डाँडाको टुप्पो, गुम्बाको वरीपरी लामो ढुङ्गाको पर्खाल उठाई छ्योर्तेन बनाईएको हुन्छ ।
त्यसैगरी मनोकाँक्षा पुरा हुने विश्वासमा बौद्ध मन्त्र ‘ॐमणिमद्मेहुँ’ लेखिएका ढुङ्गा पर्खालमा चढाउने चलन छ । यस्ता पर्खाल २ सय ७५ मिटरसम्म लामा हुने यो मणीपर्खाल मद्मसंभवले सुरु गराएको कथन छ ।
‘कोरोनाको डरले तल वेंशी झरेनौं । जाडो खपेरै गाउँमा बसेका छौं । चिसो बढेपनि यो वर्ष हिउँ परेको छैन । काम गर्न सक्ने उमेरका हामी फुर्सदको वेला गाउँका धार्मिक सम्पदा, भत्केका थिए, संरक्षण थिएन त्यसैले आ–आफ्ना गाउँमा जनश्रमदान गरी संरक्षणमा लागेका हौं’ लोमन्थाङ गाउँपालिका, ५ धेका कर्मा छिरिङ लोवाले भने, ‘चिसोबढेकोले बृद्धबृद्धा, वालबालिका र जोखिममा रहेका आफन्तहरु भने घरभित्र बस्न लगाएका छौं । युवाहरु काममा निक्लन्छौं । हिउँ पऱ्यो भने काम रोकिन्छ ।’
प्राचिन समयदेखी नै मुस्ताङ्गीहरु गधा, घोडा धपाउँदै बालबच्चा सहित हिँदमा वेंशीका म्याग्दी, पर्वत, कास्की, पोखरा, तनहुँ समेतका वस्तीमा घुम्ती ब्यापार गरी मध्य फागुनपछि तिनै गधा, घोडामा खाद्यान्न बोकाएर घर फर्कने गर्थे । उपल्लो भेगका मुस्ताङ्गीकालागी हिउँदका चार महिना जाडो छल्ने समय मात्र होईन, हिमाली जडिबुटीलाई बेचेर फर्कदा खाद्यान्नको जोहो गर्ने गतिलो अवसर पनि थियो ।
उपल्लो भेगमा मात्र होईन मध्य मुस्ताङ्गका मुक्तिनाथ–वाह्गाउ गाउँपालिकाको मुक्तिनाथ, कागवेनी, तेताङ्ग, चैले समेतका बस्तीबाट पनि जाडो छल्न बेंशी छर्ने गर्थे । त्यस्तै मुस्ताङको बाटो हुँदै जाडो छल्न छर्काभोट समेत उपल्लो भेगका डोल्पालीहरु समेत यहीबाट वेंशी झर्ने गर्थे ।
उपल्लो भेगबाट समेत होईन प्राय: मुस्ताङ्गी अति जरुरी र विरामी नभै तल वेंशीका सहर नझर्ने भएका छन । मोटरवाटोको सुगमताले गर्दा परम्परागत समाजमा जस्तो गधा, घोडा र मानव श्रमले बोकेर खाद्यान्न लैजानु नर्पे भएकोले पनि मुस्ताङ्गीलाई जोडो छल्न र घुम्ती ब्यापार रोकिँदा जनजीवनमा आर्थिक तथा खाद्यान्नको समस्या भने हुने छैन ।
‘यसपाला तल (वेंशी)मा कोरोना फैलिएकोले हिउँदमा पोखरामा संञ्चालन गरिने हिउँदे विद्यालय पनि यहीं गाउँमै संञ्चालन गरेका छौं । विद्यालयमा विद्यार्थीलाई आवसिय गरी हिटर समेत तातो हुने ब्यवस्थागरी अध्यापन गर्ने मिलाएका छौं’ लोघेकर–दामोदर कुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले भने, ‘यतिवेला खेतिपाती केही छैन । वेंशी (पोखरा, काठमाण्डौ घर भएका) झरेपनि अन्य सवै गाउँमा भएकोले युवायुवती सामाजिक काममा जुटेका छन ।’

तस्वीर सौजन्य : छिरिङ ल्हल्मो लोवाको फेसवुकबाट।