- Loading...
सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो
- पुनहिल डट कम
- ४ साल अघि
- २७८ पटक पढिएको
नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको मङ्गलवार घोषणा गरेका छन्।
नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ। चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४ मिटर रहेको बताउँदै आएको थियो।
नेपाल र चीनले मङ्गलवार संयुक्त रूपमा आयोजित कार्यक्रममा नयाँ उचाइको घोषणा गरेका हुन्। नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो।
नेपालले सगरमाथाको उचाइ नापेको यो पहिलो पटक हो। सगरमाथापछिको सबैभन्दा अग्लो हिमाल केटुको उचाइ ८,६११ मिटर रहेको छ जुन पाकिस्तान-चीन सिमामा पर्दछ।
गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा बेइजिङ र काठमाण्डूले नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने समझदारी गरेका थिए।
सन् २०१७ को अन्त्यदेखि नेपाल एक्लैले अघि बढाइरहेको उचाइ मापन अभियानमा उत्तरी छिमेकी चीन पनि मिसिन पुगेको थियो। यो वर्ष तिब्बती मोहडाबाट पहिलो सफल सगरमाथा आरोहण भएको ६० वर्ष पुग्दैछ।
चीनले यस वर्ष आफ्नो तर्फबाट सगरमाथाको पहिलो पटक वास्तविक उचाइ नापिएको ४५ वर्षका पुगेको पनि उल्लेख गरेको छ।
दुवै देशले सर्वेक्षणसम्बन्धी कामहरू सम्पन्न गरी तथ्याङ्क प्रशोधन गरेपछि प्राविधिक तथा निर्देशक समितिको तहमा छलफल गरेर संयुक्त रूपमा उचाइ मापनको परिणाम प्राप्त भएको नापी विभागले सोमवार बताएको थियो।
दुई साता अघिको मन्त्रिपरिषद् बैठकले उचाइ मापनमा सहभागी कर्मचारीको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्ने निर्णय गरेको थियो।नेपाल र विश्वले सन् १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको ८,८४८ मिटरलाई सगरमाथाको उचाइका रूपमा मान्यता दिँदै आएका छन्।
सबैभन्दा पहिलो पटक ‘द ग्रेट ट्रिगोनोमेट्रिक सर्वे’ अन्तर्गत ब्रिटिश उपनिवेशकालीन समयमा भारतीय उपमहाद्वीपको वैज्ञानिक नक्साङ्कन गर्ने क्रममा सन् १८४७ मा सर्वे अफ इण्डियाले सगरमाथाको उचाइ ८,८७८ मिटर रहेको घोषणा गरेको थियो।
शुरूमा ‘पिक-एक्सभी’ भनिएको सगरमाथालाई सन् १८६५ सर्वे अफ इण्डियाका तत्कालीन सर्वेयर जेनरल कर्णेल जर्ज एभरेष्टको सम्मानमा अङ्ग्रेजहरूले माउन्ट एभरेष्ट नामाकरण गरेका थिए।
इतिहास शिरोमणि बाबुराम आचार्यले पछि नेपाली नाम सगरमाथा राखेका थिए।