- Loading...
परराष्ट्र नीति सार्वजनिक : सीमा सुरक्षा र आर्थिक कूटनीति चुनौती
- पुनहिल डट कम
- ४ साल अघि
- १९९ पटक पढिएको
सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन् ।
संविधान जारी भएर नयाँ सरकार बनेको अवस्थामा मुलुक स्थिरतातर्फ गइरहेको कुरालाई समेट्नुपर्ने भएकाले परराष्ट्र नीति ल्याएको मन्त्री ज्ञवालीले बताए । उनले भने, ‘हामीले प्राप्त गरेको स्थिरतालाई सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परराष्ट्र नीतिमा राख्नुपर्ने भएकाले राज्यको परराष्ट्र नीति तय गर्नुपर्ने भयो ।’
परराष्ट्र नीतिका चुनौतीमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीति रहेको ज्ञवालीले बताए । ‘परराष्ट्र नीतिमा सीमा सुरक्षा, हामीलाई अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ तर त्यो राष्ट्रिय हितमा हो वा होइन भन्ने हेराइ, आर्थिक कूटनीति इनह्यान्स गर्ने क्षमता चुनौती रहेका छन्,’ उनले भने, ‘जलवायु परिवर्तनबाट फाइदा हासिल गर्ने, कोरोना महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग कसरी ल्याउने भन्ने कूटनीतिक चुनौती छन् ।’
शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नु, सबै मुलुकसँग कूटनीतिक सम्बन्ध राम्रो हुनु नेपाली कूटनीतिका राम्रा पक्ष रहेको र तिनै कुरा परराष्ट्र नीतिमा समेटिएको मन्त्री ज्ञवालीले बताए ।
परराष्ट्र नीतिमा संस्थागत संरचनाको सुदृढीकरण कसरी गर्ने भन्ने रणनीति तय गरिनुका साथै दुईपक्षीय र बहुपक्षीय आर्थिक रणनीति तय गर्ने विषय पनि समेटिएको उनले जानकारी दिए ।