जाडोसँगै सिस्नुको माग बढ्यो

९ मंसिर २०७७, मंगलवार १८:५९ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

जाडो बढेसँगै बजारमा सिस्नु पाउडरको माग ह्वात्तै बढेको छ । कोरोना संक्रमणबाट वच्न तातोझोलिलो सुप खान सुझाईने भएकोले जाडोसँगै सिस्नु पाउडरको पनि माग बढेको हो । जाडो सिजनमा सिस्नुको सुप खाने चलन नेपाली समाजमा परम्परादेखी नै हो ।
गरिवको खाना भनेर अपहेलित, उपेक्षित र तीरस्कृत बहुउपयोगी खाद्य वस्तु सिस्नु हिजोआज सहिरिया एवं सम्भ्रान्त उपभोक्ताको भान्साको अभिन्न साथी भएको छ । खासगरी डाईविटिजका विरामीले सिस्नु खोजी–खोजी खान थालेपछि माग बढ्दो छ ।
‘वाल्यकाल नै यही सिस्नुको खोलेसँगै हुर्कियो । विदेश जाने चलन सुरु भएपछि घरका मान्छे विदेश गए, केटाकेटी पढाउन सहर झरियो तर वाल्यकालदेखी जिव्रोमा गढेको सिस्नुको स्वाद विर्सेको छैन । अहिले झन कोरोना भगाउन तातो हुने सुप खानु पर्छ भनेकोले दैनिक भान्सामा सिस्नु थपेकी छु’ बेनी नगरपालिका, ८ हस्पिटलचोककी डकमायाँ पाईजाले भनिन, ‘कोरोना लाग्दैन भन्ने भएपछि साना नातीतातिनीहरु पनि सिस्नु सुप खुप मज्जाले खान्छन, चाउचाउको सुपमा पनि मिसाउँदा स्वादिलो हुन्छ ।’


सादा सुपको रुपमा तथा मास, सिमी लगाएतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नुको सुपले शरिरमा गर्मी बनाउने जाडो मौषममा खानु उपयुक्त हुन्छ । सिस्नुको सुप स्वादिलो र प्रोटिनको राम्रो श्रोत भएपनि टिप्न बाक्ला काँडाले च्वात्त पोल्ने हुंदा बनाउन कठिन छ ।
‘सिस्नुको माग बढ्दो छ । बेनीमा रैथाने खाद्य वस्तु वेच्ने धेरै छन । मैले मात्र बर्षमा दुई क्वीन्टलसम्म सिस्नु पाउडर बेच्छु । एक ठूलो चम्चा सिस्नु पाउडरले तीन जनालाई सुप पुग्ने भएकोले परिणामा २ क्वीन्टल थोरे जस्तो लागेपनि प्रयोग मात्रा बढी हो’ बेनी स्थित धौलागिरी कोसेली घरकी मीना राम्जालीले भनिन्, ‘कोरोना कहरले यो वर्ष जिल्ला भ्रमणमा आउने पर्यटक घटेपनि स्थानीय वजारमा भने माग बढेको छ ।’
बाटोको किनारा, खेतबारी र जंगलमा खेर गै रहेको च्वात्त पोल्ने झार (सिस्नु)लाई आम्दानीको राम्रो श्रोत भएको छ । लाग्दो कात्तिकदेखी सिस्नु टिप्ने ‘पिक सिजन’ शुरु हुन्छ । माग बढेपछि सिस्न ग्रामिण महिलाको फुर्सदको ब्यवसाय र अतिरिक्त आम्दानीको श्रोत भएको छ । सिस्नु विदेशका आफन्तलाई पठाउने कोसेली बनेको छ । सहरका धेरैको भान्सामा सिस्नु पाक्न थालेपछि सदरमुकाममा सिस्नु, गुन्द्रुक, धजरा, सिमी समेत रैथाने खाद्यान्न वेच्ने पसल नै खुलेका छन ।
‘परिवारमा अर्को आम्दानी छैन्, तिन बर्षदेखी यही सिस्नुको ब्यवसायले ६ जनाको परिवार पालिएको छ’ अन्नपूर्ण गाउँपालिका, ५ पाउद्धारकी पार्वती पुनले भनिन् ‘यो वर्ष सिस्नु पाउडरको उत्पादन घटेको छ । लकडाउनपछि सहरमा वालबालिका पढाउन झरेका सवै गाउँ फर्के, फुर्सदका सवैले सिस्नु टिपेकोले उत्पादन घटेको हो ।’
सिस्नुको पाउडर बनाउन सर्वप्रथम सिस्नुको कलिला मुन्टा र फुललाई टिप्नु पर्छ । घरमा ल्याई केलाएपछि सितल घाममा सुकाएपछि मिचेर धुलो पारिन्छ । यसरी सामान्य धुलो सिस्नुमा आवश्यकता अनुसार टिमुर मिसाएर पनि प्रयोग गरिन्छ ।
सिस्नु पूर्ण आर्गनिक खाद्य हो । खाद्य प्रविधी तथा गुण नियन्त्रण बिभागको नमुना विश्लेषण प्रतिवेदनमा उल्लेख भए अनुसार सिस्नुमा २३ प्रतिशतबढी फलाम तत्व, २४.५ प्रतिशत कुड प्रोटिन, क्रुढ फाईवर ८ प्रतिशत, र क्रुड फ्याक्ट १.५ प्रतिशत, जलांशं ९।८५ प्रतिशत पाईन्छ । जिल्लाबाट १५ क्वीन्टल सिस्नुको पाउडर निर्यात गरी ४ लाख २० हजार आम्दानी भएको थियो ।