Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरोना लागेको भन्न किन नहुने ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४९३ पटक पढिएको
कोरोना लागेको भन्न किन नहुने ?

उषा थापा- सामान्य रूघाखोकी र ज्वरो आएपछि मौसम परिवर्तन हुँदा लाग्ने भाइरल ज्वरो हो भन्ने सोचें।

सधैंको वर्षभन्दा अलि फरक अवस्था देखिएपछि कोरोना त, होइन भन्ने मन चसक्क भयो। बुहारी नर्स भएकोले उनैसँग परामर्श लिएँ। उनकै सुझाव अनुसार पिसिआर गरें। साँझको समय घरमा पाहुना थिए।

खाना पस्कँदै गर्दा मोबाइलको घन्टी बज्यो। त्यो फोन बुहारी लक्ष्मीको थियो। दिदी तपाईंको रिपोर्ट पोजेटिभ छ, उनले भनिन्।

सुरूमा म संक्रमित भए त भन्ने आफैंलाई पत्यार लागेन।

मेरो रिपोर्ट नेगेटिभ आउने कुरामा म ढुक्क थिएँ। किनकी यसबाट बच्न म सधैं सजग र सचेत थिएँ। मलाई कोरोना नलागी यो भाइरस समाप्त हुन्छ भन्ने लाग्थ्यो। म मात्र हैन, मेरो परिवारलगायत कसैलाई पनि कोरोना नलागोस् भन्ने सोच्थें। तर जे नहोस् भनेको त्यही भयो। मेरो घर र मेरो शरीरमा कोरोनाले प्रवेश गरेरै छाड्यो।

यो कुरा पाहुनालाई सुनाउने आट गरिनँ। बाहिर जति कोरोनाले केही गर्दैन आफू सचेत हुनुपर्छ भने पनि भित्र मन भने आतिनु स्वभाविक थियो।

किनकी कोरोनाको त्रास हाम्रो मनभित्र खलबलिएको छ। तर पनि आफैं सम्हालिने कोशिस गरें। जे नहुनु थियो। त्यो भएरै छाड्यो। अब चाँडै कोरोना जितेर मनलाई पहिलाकै अवस्थामा फर्काउनुपर्छ भनेर आफ्नै मनलाई बलियो बनाएँ।

छोरी र मेरो बेडरूम अलग गर्ने योजना बनाएँ। छोरीलाई भने मेरो रिपोर्ट पोजेटिभ आयो। छोरीको मलिन अनुहारले मलाई थप भावुक बनायो।

तर, छोरीको अगाडि मैले हाँस्दै भने तिम्रो र मेरो बेड फरक हुनुपर्छ। छोरी कहिल्यै एक्लै नसुत्ने। तर त्यस दिन सहमति जनाई।

सधैं सँगै बस्ने, खाने, खेल्नेहरू सबैमा संक्रमण नभएका समाचार सुने पनि सानी छोरीलाई अलग्याउनु कोरोना पोजेटिभले भन्दा बढी पीडा दियो।

हरेक दिन छोरी मेरो साथी भई। कहिलेकाहीँ जिस्कन्थी। ममी म तपाईंसामु आऊँ। म खिसिक्क हाँसेर भन्थे १४ दिन पर्ख। रिपोर्ट नेगेटिम भएपछिसँगै बसौंला है। छोरी मुन्टो हल्लाउँदै मुसुक्क हाँस्थी। त्यही नै मेरो जीवन हो भन्ने लाग्यो।

रहेक दिन टाढैबाट छोरीलाई तातोपानी तताउन सिकाउँथें। खाना पकाउन सिकाउँथें। मैले भने बमोजिम छोरीले खाना बनाउँथी। अनि ढोका बाहिर र भित्र बसेर खाना खान्थ्यौं मुख हेरी हेरी। कोरोनाको कारण छुन नहुने, भेट्न नहुने मान्छे भएकी थिएँ, म। कहिलेकाहीँ आफैंलाई प्रश्न गर्थें। के मलाई ठूलै रोग लागेको हो त ? किन धेरै मान्छे मदेखि टाढा भए ?

मेरो घरभन्दा दुई घर परकी दिदी एक साँझ मेरो घर आइन्। छोरीले हतार हतार ममीको कोठामा नजान भनिन्। ‘ममीलाई कोरोना लागेको छ बाहिरै बस्नु !’

छोरीको आदेशले उनीहरू ढोकामै उभिए। बाहिर र भित्रबाट एकछिन कुराकानी भयो। ती दिदीले नआतिन र अरूलाई नभन्न सुझाव दिइन्। तर, मेरो मन भारी भयो। कोरोना लागेको किन भन्न नहुने ? के कोरोना सधैं शरीरमा रहिरहने वस्तु हो र ?

कोरोना एउटा रोग हो। कमजोरलाई यसले सताउँछ। यो निको हुने रोग हो। यसबाट सजग र सचेत हुने हो। तर, आतिने, डराउने र यो ठूलै रोग हो भन्ने हाउगुजीलाई हामीले बुझाउन र बुझ्न नसकेको हो। दिनभर घरमा बसिरहँदा कोरोना पोजेटिभ देखिएका साथीसँग फोनमा अनुभव आदान–प्रदान र अन्य साथीसंगी र आफन्तसँग कुरा गरेर दिन बिताएँ।

त्यसैले पनि आइसोलेसनको बसाइँ त्यति सकसपूर्ण भएन। मेरो पूर्वतयारी बेसार, अदुवा, गुर्जो, चिनीलहरो र तुलसीपत्ता घरमा जोहो गरेकी थिएँ। महान पर्व बडादसैं नजिकिँदै थियो। घरमा छोरी र आफूमात्रै। दुवै जना गाउँ जाने योजना कोरोनाको कारण सफल भएन।

यसपालि मामाघर टीका लगाउन जान नपाउने भयौं है ममी ? छोरीले प्रश्न गरी। मामा घरमात्र हैन। सँगै भएकी छोरीलाई पनि दसैंको टीका लगाइदिन पाइनँ, मनमनै भनें। छोरी आफैंले उत्तर दिई ‘अर्को साल जाउँला ममी। सो साल कोरोनामय भयो।’

सामाजिक सञ्जालमा आएका समाचार र सामग्रीले मनोवैज्ञानिक रूपमा असर गर्थ्यो। तर म सम्हालिन्थें। कोरोनाका कारण ज्यान गुमाएका समाचारले यो एकान्तबासको बसाइँमा ठूलो त्रास उत्पन्न हुन्थ्यो। तर, त्यही सामाजिक सञ्जालमार्फत् पाएको प्रेरणाले मनमा उत्साह र आत्मबल जगाई दिन्थे।

मेरो भोगाइ र अनुभव सुरूआतीमा जसरी संक्रमितले दुःख, कष्ट र विभेद भोग्नु पर्‍यो। त्यो पछिल्ला दिनहरूमा घटेर गए।

कोरोना संक्रमित नेपालका ठूला नेता, उद्योगपति, कर्मचारी, पत्रकार लगायतका उच्च ओहोदाका व्यक्तित्वहरूका कुरा सामाजिक सञ्जाल र समाचारमा छरपस्ट देख्न र पढ्न पाइन्थ्यो। उनीहरूको स्वास्थ्य निगरानीका लागि स्वास्थ्यकर्मीको टिम नै खटिएका हुन्थे।

देशका ठूल्ठूला ओहोदाका व्यक्तिलाई स्वास्थ्यकर्मीको विशेष निगरानीमा राखेर कोरोना परास्त गर्ने र मजस्ता हजारौं नागरिकहरू बेसार, गुर्जो, अदुवा र तातोपानीको भरमा होम आइसोलेसनमा कोरोनासँग संघर्ष गरिरहेका थियौं।

कतिलाई कोरोना लागेर जाँच नभई निको भएको छ। लक्षण हुँदाहुँदै पनि आम नागरिकले पिसिआर गर्न सकेका छैनन्। कतिपय नागरिकहरू स्थानीय सरकारले निर्माण गरेका आइसोलेसनमा सादा दाल भात र तातोपानीको भरमा कोरोना जित्ने प्रयत्न गरिरहेका छन्।

कडा स्वास्थ्य निगरानीमा भएका संक्रमितहरूले कोरोनालाई सामान्य रूपमा नलिनुहोस् भनेर डर देखाइरहँदा घरमा बसेर होस् वा टिनको छाप्रोमुनि तातोपानी र बेसार खाएर कोरोनासँग लड्नेहरूको अनुभव फरक छ।  उनीहरू आत्मबल र आत्मविश्वासले कोरोना जितिरहेका छन्।

कोरोना संक्रमणपछि सबैमा त्रास उत्पन्न हुँदो रहेछ। जुन मैले भोगें। यो बेला सहयोगको जरूरत पर्दो रहेछ। जुन म एक्लो हुँदा महशुस गरें। यो बेला भनेको एकले अर्कोलाई हौसला प्रदान गर्दा, फोन गर्दा, भेट्दा पनि रोगलाई मैले जित्न सक्छु भन्ने आत्मबल बढ्दो रहेछ। जुन मैले अनुभव गरें।

तर, यस्तो अवस्थामा जुन सहयोग गर्नुपर्ने हो। त्यो सहयोग नपाइने रहेछ। मलाई रोगभन्दा पनि नजिकका साथी, आफन्तहरूको असहयोगले बढी पीडा दियो। यस्तो बेलामा भनेको कोरोना संक्रमितप्रति सकारात्मक व्यवहारसहित भौतिक दूरी कायम गरेर सामाजिक सद्भाव देखाउनुपर्ने हो। तर, कोरोनालाई भयानक सरूवा रोगको रूपमा लिई आफन्त र साथी नै टाढिए। संक्रमितप्रति असामाजिक व्यवहार र बुझाइले झन् पीडा थप्यो।

यो रोग कसैले चाहेर हुने होइन। र, यो दैनिक जीवनशैली अपनाउने क्रममा आकस्मिक रूपमा देखा पर्ने गर्छ भन्ने सचेतना अभिवृद्धि जगाउन आवश्यक छ। यसैगरी एकातर्फ यो रोग केही होइन भन्ने बुझाइ छ। यस्तो बुझाइ परिवार र समाजको लागि घातक हुन सक्छ।

अर्कोतिर यो रोग लाग्यो भने सबै सर्वस्व गयो, अरू केही उपाय नै छैन भन्ने छ। त्यसैले यसरी आ–आफ्ना तर्क वितर्कमा लाग्नु भन्दा हामी सम्पूर्णले कोरोना भाइरसको संक्रमणसँग लड्न बेसार, गुर्जो, अदुवा, तुलसी, मेथी, ज्वानो जस्ता सहजै उपलब्ध हुने जडीबुटीको प्रयोग गर्नुपर्छ। बाफ लिने नियमित व्यायाम गर्ने नै हो।

सम्भव भएसम्म बिरामी होम आइसोलेसनमा बस्ने जसले गर्दा बिरामीलाई परिवारभन्दा टाढा छैन भन्ने सोचाइले मनोबल उच्च हुन्छ।

यस्तो समयमा आफन्त र शुभचिन्तकहरूको हौसला नै सबभन्दा ठूलो औषधि हो। आइसोलेसनमा बसिरहँदा गीत सुन्ने, चलचित्र हेर्ने, आध्यात्मिक भिडिओ हेर्ने, अध्ययन गर्ने, जीवन उपयोगी सीप जस्ता सामग्रीको प्रयोग र आफ्नो रुची अनुसारको काम गर्ने खुसी हुने हुँदा आत्मबल बढ्छ।

जुन मैले यस अवधिमा अनुभव गरें, भोगें अनि लागू गरें।  copy – setopati.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल