कोरोना कहर : जाडो छल्न मुस्ताङ्गी बेंशी नझर्ने

१५ कार्तिक २०७७, शनिबार १०:५४ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

प्राचिन समयदेखी नै हिउँदका चार महिना जाडो छल्न वेंशी झर्ने गरेका मुस्ताङ्गी यो वर्ष भने बेंशी झर्ने छैनन ।
वेंशीका बस्तीमा समुदाय तहमै कोरोना संक्रमण फैलदै गएपछि ‘कोरोना संक्रमणको ग्रीन जोन’मा रहेका मुस्ताङ्गीहरु यस वर्ष जाडाे छल्न वेंशी नझर्ने भएका हुन । कोरोना कहरको कारण पोखरामा संञ्चालन गरिने हिउँदे घुम्ती विद्यालय पनि बन्द हुने छन ।
‘यो वर्ष तल वेंशी नझर्ने, जाडो खपेरै घरमा बस्छौं । तल कोरोनाको महामारी छ, वरु यहीं सुरक्षित छौं’ लोमन्थाङ गाउँपालिका, ५ धेका कर्मा छिरिङ लोवाले भने, ‘अघिल्लो वर्ष हिउँदमा जाडो छल्न वेंशी झऱ्यौं, वेमौषमी हिमपातले घर फर्कने वेलामा चैत लाग्यो, कोरोनाले लकडाउन भयो, तीन महिनासम्मै पोखरामा थुनियौं, धेरै सास्ती भयो, अव सहज नहुँदासम्म वेंसी झर्दैनौं ।’
हिउँमा हुने हिमपात र अति चिसोबाट बृद्धबृद्धा, वालबालिका समेत सर्वसाधारणलाई बचाउन स्थानीय लोमन्थाङ् र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले हिमपात नहुँदै सकेसम्मबढी घरमा केन्द्रीय विजुली जोड्ने र हिटर बाल्ने गरी लागी परेको जनाएका छन । अघिल्ला वर्ष लाग्दो कात्तिकदेखी नै वालवालिका च्यापेर वेंशी झर्ने हिमालपारीका मुस्ताङ्गी कोरोना कहरको कारणले यो वर्ष जाडो खप्ने तर जोखिम नमोल्ने निर्णयमा पुगेका हुन । प्राचिन समयदेखी नै मुस्ताङ्गीहरु गधा, घोडा धपाउँदै बालबच्चा सहित हिँदमा वेंशीका म्याग्दी, पर्वत, कास्की, पोखरा, तनहुँ समेतका वस्तीमा घुम्ती ब्यापार गरी मध्य फागुनपछि तिनै गधा, घोडामा खाद्यान्न बोकाएर घर फर्कने गर्थे ।
‘हिउँदका चार महिना उपल्लो भेगका मुस्ताङ्गी जाडो छल्न र घुम्ती ब्यापार गर्न वेंशी झर्थे तर यो वर्ष कोही झर्ने छैनन । बरु हरेक घरमा केन्द्रीय विधुत पुर्‍याई हिटर वाल्ने ब्यवस्था गर्ने प्रयास भएको छ’ लोघेकरदामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले भने, ‘यो बर्ष पोखरामा घुम्ती विद्यालय पनि संञ्चालन हुने छैन । सहरमा घर भएकालाई पनि नझर्न भनेका छौं ।’
उपल्लो भेगका मुस्ताङ्गीकालागी हिउँदका चार महिना जाडो छल्ने समय मात्र होईन, हिमाली जडिबुटीलाई बेचेर फर्कदा खाद्यान्नको जोहो गर्ने गतिलो अवसर पनि हो । जौ, उवा, फापर र केही तरकारीबाहेक अन्य खेती नहुने र चौरी र भेडाच्याग्रा पाली जिावकोपार्जन गर्दै आएका उपल्लो भेगका मुस्ताङ्गीको जिवन हिउंदमा थप कष्टप्रद हुन्छ ।
उपल्लो भेगमा मात्र होईन मध्य मुस्ताङ्गका मुक्तिनाथ–वाह्गाउ गाउँपालिकाको मुक्तिनाथ, कागवेनी, तेताङ्ग, चैले समेतका बस्तीबाट पनि जाडो छल्न बेंशी छर्ने गर्थे । त्यस्तै मुस्ताङको बाटो हुँदै जाडो छल्न छर्काभोट समेत उपल्लो भेगका डोल्पालीहरु समेत यहीबाट वेंशी झर्ने गर्थे ।
उपल्लो भेगबाट समेत होईन प्राय: मुस्ताङ्गी अति जरुरी र विरामी नभै तल वेंशीका सहर नझर्ने भएका छन । मोटरवाटोको सुगमताले गर्दा परम्परागत समाजमा जस्तो गधा, घोडा र मानव श्रमले बोकेर खाद्यान्न लैजानु नर्पे भएकोले पनि मुस्ताङ्गीलाई जोडो छल्न र घुम्ती ब्यापार रोकिँदा जनजीवनमा आर्थिक तथा खाद्यान्नको समस्या भने हुने छैन ।