जहाँ महिला जीवनमा एकपटक मात्रै नुहाउँछन्…!

१० कार्तिक २०७७, सोमबार १५:०६ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

अफ्रिकामा बस्ने जनजातिहरू हजारौं वर्ष पुरानो सभ्यता तथा रीतिरिवाज पालना गर्ने मानिसका रुपमा संसारभर चिनिन्छन्। अफ्रिकाको उत्तरपूर्वी मुलुक नामिबियाको कुनैन प्रान्तका एक जातिको जीवन स्वयम्मा अनौठो कथाजस्तो लाग्छ।

यस्ता हिम्बा जाति नामिबियामा करिब २५ हजार छन्। यिनीहरु आफ्नो जरासँग जोडिएका छन्। उनीहरुका कथा कहिले काल्पनिक लाग्छ त कहिले सत्य। यो जनजातिका महिलालाई अफ्रिकामा सुन्दर मानिन्छ।

अचम्म त के छ भने, यी महिला जिन्दगीमा केवल एकपटक नुहाउँछन्, त्यो पनि विवाहका दिन।

हिम्बा जाति बालुवैबालुवा भएको कठोर हावापानीमा बस्छन् र बाहिरका अन्य मानिससँग सम्पर्क बिलकुलै राख्दैनन्। यिनीहरु खानेकुरामा सधैंजसो गहुँको रोटी खान्छन्। नामिबियामा गहुँ खुबै फल्छ। विवाहोत्सव वा कुनै विशेष समारोहमा मात्रै मासु खान्छन्। गाई पाल्छन् र दूध दुहुने जिम्मा महिलालाई हुन्छ।

पुरुषले लगाउँछन् विवाहको निशानी पहिरन

हिम्बा महिला विवाहपछि पनि अन्य पुरुषसँग सम्बन्ध राख्न पाउँछन्। यो अधिकार जनजाति पुरुषलाई पनि छ।

आर्थिक निर्णयको अधिकार केवल महिलालाई छ। परिवारका लागि केही किन्नु वा कतै खर्च गर्नुपर्‍यो भने अन्तिम निर्णयको हक महिलालाई हुन्छ।

हिम्बा जनजातिको हेयरस्टाइल पनि अनौठो हुन्छ। पुरुषको टाउकोमा टुप्पीजस्तै राखिएको हुन्छ र त्यो सिङ आकारको हुन्छ। त्यहाँका विवाहित पुरुषले टाउकोमा पगडी (फेटा) लगाएका हुन्छन्। विवाहित पुरुषले कहिल्यै पनि टाउकोबाट पगडी निकाल्दैनन्।

रातो रङका महिला

हिम्बा जनजातिका महिलाको त्वचाको रङ रातो हुन्छ। यिनीहरु नुहाउनुको सट्टा विशेष जडिबुटी पानीमा उमालेर अनुहारमा दल्छन्। सोही पानी शरीरमा लगाएर आफूलाई सफा राख्छन्। यिनीहरु हात धुँदा पनि पानी प्रयोग गर्दैनन्। घामबाट अनुहार जोगाउन विशेषखालको लोसन प्रयोग गर्छन्। लोसन जनावरको गोबर र फलामजन्य खनिजबाट तयार पार्छन्। यही कारण तिनको त्वचा रातो हुन्छ।

यस्तो लोसनले कीराफट्याङ्ग्राबाट पनि जोगाउँछ। यी महिलालाई ‘रेड म्यान’ भनेर पनि पुकारिन्छ। यी महिला केवल लुँगी लगाउँछन् र शरीर छोप्न गेरु रङ लगाउँछन्। शरीरको माथिल्लो भाग सधैं खुल्ला हुन्छ।

देवतासँग संवाद

हिम्बाहरु आफ्नो देवता ‘मुकुरु’लाई मान्छन्। उनीहरु आफ्नो इष्टदेवतासँग कुरा गर्न पवित्र अग्निको प्रयोग गर्छन्। जब आगो बल्छ तब आफ्नो आवाज स्वर्गसम्म पुग्ने यिनीहरुको मान्यता छ। हिम्बा धर्म स्वयम्मा एक ईश्वरवादी छ। पितृलाई मान्छन्। आफ्नो झुपडीबाहिर यिनीहरु सात आठ दिनमा एक पटक पूर्वज र मुकुरुको पूजा गर्छन्। जादु, टुनामुनामा यिनको विश्वास छ।

महिला अधिक मेहनती

सन्तानको रेखदेख महिलाले गर्छन्। एक महिलाले अर्काको सन्तानसमेत हुर्काइदिन सक्छन्। पुरुषको तुलनामा महिला बढी मेहनती हुन्छन्। तलाउ वा नदीबाट पानी ओसार्छन्। यिनैले दूध दोएपछि पुरुष गाई चराउन जान्छन्।

लोकसंस्कृतिमा धनी

कुनै पनि समुदायमा लोकगीतको भूमिका ठूलो हुन्छ। हिम्बा जनजातिको समुदायमा मात्र होइन प्रत्येक मानिसको जीवनसँग जोडिएको छुट्टाछुट्टै विशेष गीत हुने गर्छ। यस्तो गीत उसको जन्मअघि नै तय गरिएको हुन्छ। सोही गीत उसको जीवनको आधार र पहिचान बन्ने गर्छ। जसरी आधुनिक मानिसको परिचय नागरिकता वा पासपोर्ट हुन्छ, उसैगरी हिम्बाको परिचय गीत हुने गर्छ।

जब कुनै महिलाको मनमा आमा बन्ने भावना जागृत हुन्छ तब ती कुनै रुखमुनि गएर बस्छिन् र हुनेवाला सन्तानका निम्ति गीतको सोच बनाउँछिन्। गीतका लागि उनी तपस्यामा हुन्छिन्।

त्यसपछि महिला आफ्नो सन्तानको पिता चुन्छन्। आफूले कल्पेको गीत सोही पुरुषलाई सुनाउँछन्। पुरुषसँगको सम्पर्कदेखि लिएर प्रसवको अवस्थासम्म नै सोही गीत गाइन्छ। सोही गीत नै नवजात शिशुको परिचय बन्दै जान्छ। शिशु खेल्दा, उफ्रँदा र लड्दा पनि त्यही गीत गाएर उठाइन्छ।

जब कुनै हिम्बा मर्न लागेको छ भने पनि त्यही गीत गाइन्छ, जुन ऊ जन्मनुअघि तयार पारिएको थियो। उपस्थित सबै मिलेर मर्न लागेको हिम्बाका अघिल्तिर गीत गाउँछन्। हिम्बाले आफ्नो गीतसँगै संसारबाट बिदा लिन्छन्। त्यो गीत र जीवनचक्र दुवै एकैसाथ पूरा हुन्छ। (एनबीटी)