FLASH NEWS
  • Loading...

आज महासप्तमी : फुलपाती भित्राईंदै, कालरात्रि देवीको आराधना गरिँदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७६ पटक पढिएको
आज महासप्तमी : फुलपाती भित्राईंदै, कालरात्रि देवीको आराधना गरिँदै

आज नवरात्रको सातौँ दिन अर्थात् महासप्तमी । नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको पूजा–आराधना गरिन्छ ।
कालरात्रिको स्वरूप भयंकरको छ । कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत जस्तै चम्किने माला लगाएकी छन् । तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छिन् । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ ।
चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छन् । स्वरूप डरलाग्दो भए पनि कालरात्रिले आफ्ना भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ ।
महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ । यस्तै भद्रकालीको आराधना पनि गरिन्छ । विभिन्न शक्तिपीठहरूमा पशु बलिसहितको पूजा पनि चल्छ ।

आजै भित्र्याइन्छ फूलपाती

शक्तिपीठ तथा जमरा राखिएका दशैँघरमा महासप्तमीको बिहान वा दिउँसोको शुभसाइतमा नवपत्रिका भित्र्याइन्छ । यसलाई बोलीचालीमा फूलपाती भनिन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ ।