मुस्ताङ्गबाट झरे ६ हजार चेलुक/च्याङ्ग्रा , मुल्य सुन्दै तर्सन्छ उपभोक्ता

२७ आश्विन २०७७, मंगलवार ११:२३ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

कोरोना कहरका विच हिन्दुहरुको मुख्य चाड दशै संघारमा छ । दशैंलाई लक्षित गरि हरेक वर्ष मुस्ताङ्गबाट झर्ने चेलुक/च्याङ्ग्रा थोरै झरेका छन ।

धितमरुन्जेल मासुभात खाने चाड दशैंमा मुस्ताङ्गबाट प्रयाप्त चेलुक/च्याङग्रा नझरेपछि मुल्य आकाशिएको छ । आपूर्ति घटेपछि अधिक मुल्य बृद्धीले सामान्य परिवारले मुस्ताङ्गी चेलुक/च्याङ्ग्राको मासुको खान नसक्ने अवस्था आएको छ ।

मुस्ताङ्गको चेलुक/च्याङ्ग्रा समेत हेर्ने प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाको अभिलेख अनुसार यो वर्ष मुस्ताङबाट दशैं वजार लक्षितगरी जम्मा ६ हजार २ सय खसी तल झरेका छन । संघ तथा प्रदेश सरकारले परियोजनालाई दशैं लक्षित बजार पठाईने चेलुक/च्याङ्ग्राको क्वारेन्टाईन (स्वास्थ्य परिक्षण) गर्ने जिम्मेवारी दिएको छ ।

‘बजार लैजान लागिएका खसीको ज्वारो, झोक्क्राउने, खाना नखाने, छेरौटे लागेको लगाएतका केही रोग लागे/नलागेको परिक्षणगरी पठाउने गरेका छौं’ परियोजना प्रमुख रहेका पशु चिकित्सक समिर थापाले भने, ‘यो बर्ष ६ हजार २ सय खसी हाम्रो चेकपोष्टमा अभिलेख गरी तल लगिएको छ । सवै चेलुक/च्याङ्ग्रा यहाँ रहँदा स्वस्थ्य छन ।’

मुस्ताङको लोमन्थाङ, लोघेकर दामोदरकुण्ड र वाह्गाउँमुक्ति क्षेत्र गाउँपालिकाका क्षेत्रमा मात्र चेलुक/च्याङ्ग्रा पाल्ने गरिन्छ । स्थानीय कृषक फेङ्दो गुरुङका अनुसार यो वर्ष लोमन्थाङबाट २ हजार र लोघेकर दामोदरकुण्डबाट १५ सयको हाराहारीमा च्याङ्ग्रा तल झरेको दशैंमा मुस्ताङबाहेक डोल्पाको छर्काभोट, मुगुबाट केही र मुख्यगरी तिब्बतको कोरला नाकाबाट धेरै खसी ल्याउने गरिन्छ । पहिला–पहिलो दशैंमा तिब्बती आफैले खसी लिएर बेच्न आउँथे । पछिल्ला बर्ष लोमन्थाङ क्षेत्रका ब्यापारीले तिब्बती चेलुक/च्याङ्ग्रा एकमुष्ठ खरिद गरी ल्याउने गर्थे ।

कोरोना महामारीको कारण कोरला नाका सील हुँदा तिब्बतबाट एउटै चेलुक/च्याङ्ग्रा नआएको, मुगु र डोल्पाली पनि चेलुक/च्याङ्ग्रा कम भित्रिएको र मुस्ताङमा उत्पादन ह्वात्तै घटेकोले अघिल्ला वर्ष झै यो वर्ष दशैंमा चुलुक/च्याङ्ग्रा कम झरेका हुन । दुई वर्ष अघि लामो समयसम्म अधिक भारी हिमपातमा पुरिएर उपल्लो मुस्ताङमा ८ हजारबढी भेडाच्याङ्ग्रा मरेको कारण यो वर्ष उत्पादन घटेको उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएका छन ।

‘कोरोनाको कारण कोरला नाकाबाट तिब्बती खसी आएनन । डोल्पातिरबाट पनि थोरै आएकोले यो वर्ष थोरै संख्यामा मात्र चेलुक/च्याङ्ग्रा तल झरेका छन । मुल्य पनि बढेको छ’ लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले भने, ‘हाम्रै उत्पादन त थोरै हुन्थ्यो, दुई बर्ष अघि करिव १० हजार च्याङ्ग्रा हिउँमा पुरिएपछि झन घटेको छ । गाउँपालिकाले उत्पादन बृद्धीमा लगानी त बढाएको छ तर सिमित चरनले गर्दा माग अनुसार उत्पादन कम नै हुन्छ ।’

लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्र भित्र ३०० बढी चेलुक/च्याङ्ग्रा पाल्ने १३ वटा गोठ सूचिकृत छन । थप ५०–१०० वटासम्म पाल्ने १० परिवार छन । संघिय सरकारको लगानीमा चराङमा दुई पश्मिना उत्पादन प्रयोजनकालागी तीन सय वटा फार्ममा च्याङ्ग्री (रोमा) रहेका छन । फार्म दुई वर्षदेखी उपभोक्ता समिती मार्फत रेखदेख भैरहेको छ ।

‘आगामी दुई बर्षमा हाम्रो फार्मबाट पनि केही माशुजन्य च्याङ्ग्रा उत्पादन हुन्छ । यो गुणस्तरिय पस्मिना उत्पादनकालागी मात्र सुरु गरिएको हो’ उपभोक्ता समितिकी अध्यक्ष मायाँ विष्टले भनिन, ‘हिउँबाट बचाउन २ रोपनी क्षेत्रफलमा खोर बनाएका छौं । यो नमुना हो, अन्य कृषकलाई पनि उत्प्रेरित गरिरहेका छौं ।’

मुस्ताङमा धेरै च्याङ्ग्रा वाह्गाउँमुक्तिक्षेत्र गाउँपालिकामा पालिएका छन । गाउँपालिकाको पशु शाखाकी नायव पशु सेवा प्राविधिक मनिषा जिसीका अनुसार वाह्गाउँ मुक्तिक्षेत्र गाउँपालिकामा १५ हजार चेङ्ग्रा र २ हजार भेडा (चेलुक) पालिएको छ । यस बर्ष देशैं बजारमा बाह्गाउमुक्तिक्षेत्रबाट करिव ३ हजार लगिएको छ ।

प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना मुस्ताङको क्वारेन्टाईन (स्वास्थ्य परिक्षण) पोष्टको अभिलेख अनुसार ब्यापारीेले जोमसोममै रोजा च्याङ्ग्राको खसीलाई २८ हजारसम्म मुल्य तिरेका छन । च्याङ्ग्राको तुलनामा चेलुक (भेडा)को मुल्य थोरै छ । सवै खसी ब्यापारीले सोझै गाडीमा लोड गरी बजार लगेकोले पहिला जस्तो सडकमा चेलुक/च्याङ्ग्राको बथान छैन ।सोमबार विहानसम्म जोमसोमको खसी बजारबाट करिव २ सय हाराहारीमा एक वथान खसी हिंडाएर तल झारिएको छ । अव फाट्टफुट्टमात्र होलान, नत्र जोमसोमको खसीबजार खाली भएको डा समिर थापाले बताए ।