- Loading...
समुदायमा कोरोना फैलिएपछि म्याग्दीका विद्यालयमा वैकल्पिक सिकाई सहजीकरण कक्षा प्रभावित
- पुनहिल डट कम
- ४ साल अघि
- १४२ पटक पढिएको
कोरोना संक्रमण समुदायमा फैलिन सुरु भएसँगै विद्यालयलहरुले सुरु गरेको अनौपचारिक शैलिको अध्ययन/अध्यापन गराउने वैकल्पिक शिकाई पद्धति पनि पुन: संकटमा परेको छ ।
औपचारिक रुपमा विद्यालय नखुलेपनि सहजीकरण कक्षा, वैकल्पिक कक्षा तथा अनौपचारिक कक्षा भनेर विद्यार्थीलाई कक्षा कोठामा बोलाई उपलब्ध शिक्षकहरुले पढाउन थालेका हुन ।
विद्यालयमा जति धेरै स्थानीय (जिल्ला भित्रका) शिक्षक छन, त्यति नै पिरियड कक्षा संञ्चालन गरिएको छ । तर केही सामुदायीक विद्यालयले भने विद्यार्थीलाई स्कुल र केहीले टोल–टोलमा बोलाई होमवर्क दिने र जाँचगरी पठाउने गरेका छन ।
कोरोना संक्रमणको हटस्पट रहेको राजनधानी काठमाण्डौ, पोखरा, बुटवल समेत जोखिम क्षेत्रबाट धमाधम मान्छेहरु विना स्वास्थ्य सावधानी समुदायमा पुग्न थालेको र समुदायमा कोरोना संक्रमणको सावधानी चेतना शुन्य देखिएकोले विद्यालयले सुरु गरेको अनौपचारिक पठाई पनि प्रभावित हुने भएको हो ।
‘जुन समुदायका विद्यार्थी स्कुल आउँछन, त्यहा कोरोना संक्रमणको शुन्य सावधानी छ । जिल्लाका कुनै पनि समुदायमा सक्रिय संक्रमण देखिएको छैन । कोरोना भाईरस देखिनु अघिकै झै जीवनशैली अपनाईएको छ त्यहाँको स्कुलमा मात्र वन्द गर्नुको औचित्य नै छैन’ धौलागिरी गाउँपालिकाको एक विद्यालयका शिक्षकले भने, ‘जिल्ला बाहिरका शिक्षक बोलाएका छैनौं, जिल्लाभित्र उपलब्ध शिक्षकले विद्यार्थी बोलाएर ३–५ पिििरयडसम्म पढाएका छौं ।’ उनले थपे, ‘कृपया विद्यालय र कक्षाको फोटो नखिच्नु होला, नाम उल्लेख नगरिदिनुस फेरी प्रशासनले पढाउन दिन्न । हामीलाई जागिरको होईन, वालबालिकाको भविश्यको चिन्ता छ ।’
विद्यालयको क्याचमेन्ट क्षेत्रसमुदायमा कोरोना संक्रमणको जोखिम नभएको अवस्थामा जस्तै सामान्य जनजीवन चलेको अवस्थामा विद्यालय मात्र बन्द गर्नुको औचित्य नभएको शिक्षकको भनाई छ । स्थानिय प्रशासनले चालपाए पढाई बन्द गर्न लगाउने भएकोले विद्यालयले गुपचुप अध्यापन गराई रहेका छन । तर बेजिल्लाका शिक्षक बढी भएको विद्यालयमा भने पढाई सुरु हुन सेको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले ‘सूचना, संञ्चार र प्रविधीको प्रयोगमा आधारित वैकल्पिक सिकाई प्रणाली’ अपनाई विद्यार्थी सिकाई सहजीकरण गर्न निर्देशन गरेपनि यहाँका विद्यालयमा यस्तो प्रविधी मैत्री सिकाई संभव नभएको शिक्षक, विद्यार्थी र अभिभावकको भनाई छ ।
जिल्लाका ग्रामिण भेगका अधिकांश सामुदायीक विद्यालयमा विद्यार्थी संख्या अति न्यून रहेको छ । मावि तह संञ्चालन भएका अधिकांश विद्यालयमा एक सय ५० जनाको हाराहारीमा विद्यार्थी छन । एउटा कक्षा कोठामा २०–२५ जना बढी विद्यार्थी नभएकोले कोरोना भाईरसको सकृय सक्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको पनि तर्क छ ।
‘विद्यार्थी सिकाई सहजिकरण निर्देशिकाले विद्यालय प्रत्यक्ष रुपमा खोलेर फेस टु फेस मोडमा अध्ययन/अध्यापन नगर्न नै भनेको छ । तर हाम्रा विद्यालयहरुले आ–आफ्नै शैलीमा सिकाई सहजिकरण गर्नु भएको छ । दुर तथा खुल्ला सिकाई प्रभावकारी नभएको भन्दै स्थानिय तहमा विद्यालय खुलेका भन्ने जानकारी छ’ जिल्ला शिक्षा विकास तथा समवन्यय इकाइका प्रमुख दलबहादुर थापाले भने, ‘जुनसुकै शैलीमा सिकाई सहजीकरण गरिएपनि कोरोनासंक्रमणको रेड जोनबाट शिक्षकहरु विद्यालय फर्कन रोक्ने भन्ने जिल्ला र स्थानीय तहमा निर्दैशन गरेका छौं । संक्रमणको रेडजोनबाट कार्यस्थल आएका शिक्षकलाई फिर्ता पठाईएको पनि छ ।’
सदरमुकाम बेनीका निजी तथा सामुदायीक विद्यालयले भने अनलाईनबाट कक्षा संञ्चालन गरेका छन । अनलाईन कक्षा संञ्चालन गरिएको भने पनि यी प्रभावकारी देखिएका छैनन । लकडाउन पछि घर फर्केका विद्यार्थी पुन: स्कुलको सम्पर्कमा आएका छैनन । केही अभिभावकको वुझाईमा अनलाईन कक्षा शुल्क उठाउने माध्यम मात्र भएको छ ।
‘अनलाईन कक्षा भन्यो, तोकिएको समयमा कि शिक्षककोमा विधुत छैन, कि विद्यार्थीको घरमा विजुली छैन । वल्नवल्न जोडियो, नेट स्लो भएकोले न भिडियो आउँछ, न आवाज प्रष्ट सुनिन्छ’ अभिभावक चित्र तिलिजाले फेसवुकमा स्टाटस लेखेका छन, ‘विषयको ज्ञान नभएका शिक्षकले अनलाईन कक्षा भन्दै विद्यार्थी भुलाउनु भन्दा म्याग्दी जस्ता सक्रिय संक्रमण नदेखिएका जिल्लामा उच्च संक्रमण सतर्कता सहित विद्यालय खोल्नु उपयुक्त छ ।’