- Loading...
मनबहादुरले जीवित छँदाको लिएको ऋण मृत्युपछि तिरे
- पुनहिल डट कम
- ४ साल अघि
- ११८ पटक पढिएको
दुर्गम धौलागिरी गाउँपालिका, ६ मराङको माथी टुप्पोमा पर्छ, कथित दलित वाहुल्य राम्चेवस्ती । गत असार २६ गते विहान परेको भिषण वर्षापछि आएको पहिरोमा पुरिएर राम्चेवस्तीमा मात्र लाम्गादे, सुनार र सिर्पाली तीन घरपरिवारका ९ जनाको मृत्यु भएको थियो ।
असार २६ गते विहान गएको पहिरोमा परी धौलागिरी गाउँपालिका, ६ मराङ र मालिका गाउँपालिका, ७ विमका विभिन्न बस्तीमा गरी १४ परिवारका ३१ जनाको ज्यान गएको थियो । मराङमा मात्र २ वेपत्तासहित २१ जनाले ज्यान गुमाएका थिए ।
पहिरोग्रस्त राम्चे वस्तीको छेउैको पाखोमा त्रिपालले बेरेको छाप्रोमाथी जस्तापाताको अस्थाई छानो राखेर बसेका छन, पहिरो पीडितहरु । यीनै विस्थापित मध्यकी हुन, राजमती सिर्पाली । जेठो छोरा मनबहादुर, बुहारी, नाती र नातिनीगरी चार जनाले पहिरोमा पुरिएर ज्यान गुमाए । मनबहादुर वैदेशिक रोजगारी गर्न दुई बर्ष अघि अरव पुगे तर राम्रो काम मिलेन एक बर्षमै अघिल्लो बर्ष वेखर्ची घर फर्के ।
मनबहादुर विदेश जाने वेला स्थानीय जनजागृती उपभोक्ता सहकारीबाट एक लाख रुपैयाँ ऋण झिकेका थिए । त्यो ऋण तिर्न अझै ५० हजार बाँकी थियो । जिवित छँदा मनबहादुरले लिएको ऋण मृत्युपछि उनकै नाममा आएको राहतबाट भुक्तानी भएको छ । आमा राजमतिले सरकार र विभिन्न दाताले दिएको नगद राहतबाट छोराको ऋण तिरिदिएकी हुन ।
‘छोराको परिवारै पहिरोमा सकियो । सहकारीमा उसको नामको ऋण थियो, तिरें अव उसको आत्माले शान्ति पाउने छ’ मजेत्रोको सप्तकोले आँशु पुछ्दै राजमती सिर्पालीले भनिन, ‘ खोटी रहेछ कर्म मेरो, म भन्दा पहिला सन्तानको मृत्यु भोग्नु पऱ्यो ।’
राजमति सिर्पालीको छाप्रो छेवैमा बस्छिन, चनमती लाम्गाडे कामी । जेठीबुहारी, ७, ४ र १ बर्षका नाती नातिनी गुमाएकी चनमतीका कान्छा छोरावुहारी अर्को घरमा बस्ने भएकोले बाँचे । तर घाईते अवस्थामा उद्धार गरिएको सात महिनाकी गर्भवती कान्छी बुहारी मन्जिताको गर्भ सुरक्षित गर्न नसकेपनि ज्यान बचाए । उनको अझै उपचार भैरहेको छ ।
संघिय सरकारले यहाँका पहिरोका मृतकका परिवारलाई एक जना मृतकको परिवारलाई दुई लाख र एकै परिवारमा एक जनाभन्दाबढी मृतक भए प्रति मृतक थप एक लाख राहत दिएको छ । राहत दिँदा ‘वेपत्ता ब्यक्ति जीवित भेटिएमा राहत रकम फिर्ता गर्ने र नभेटिएको खण्डमा दावी नगर्ने’ सर्तसहित वेपत्ताका परिवारलाई पनि मृतक सरह राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
धौलागिरी गाउँपालिका, ६ वडा कार्यालय मराङका अनुसार छिमेकी समुदाय, जिल्ला, देशबासी र विदेशमा रहेका जिल्लाबासीले प्रत्यक मृतक र घरपूर्ण क्षति भएका परिवारलाई केही महिना पुग्नेगरी खाद्यान्न, खाना पकाउने भाँडाहरु, ओड्ने–ओछ्याउने समेतका प्रयाप्त सामाग्री सहयोग गरेका छन ।
त्यस्तै सरकारी राहत बाहेक विभिन्न ब्यक्ति, संघ/संस्थाबाट प्राप्त रकमलाई मृतक परिवारलाई ३ लाखबढी नगद, पहिरोमा घरपूर्ण क्षति भएका परिवारलाई ६५ हजार नगद उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ । छुट्टै पहिरोमा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाले प्रति मृतक परिवार १० हजारका दरले किरिया खर्च उपलब्ध गराएको थियो । पहिरोमा मराङ र विमका विभिन्न बस्तीमा गरी १४ परिवारका ३१ जनाको ज्यान गएको थियो ।
‘पीडितकालागी आएको नगद, खाद्यान्न समेतका राहत सामाग्रीहरु पीडित वर्गिकरणगरी सोही अनुसार वितरण गरेका छौं । सरकारबाट प्राप्त नगद राहत बैंक र अन्य राहतलाई स्थानीय सरकारीमा खाता खोल्न लगाई जम्मा गर्न लगाईएको छ’ वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘टहराको खुल्ला वास छ, लुटपाटको जोखिम हुने ठानेर अति आवश्यक रकम बाहेक धेरै पैसा साथमा नराख्न भनेका छौं । एकमुष्ठ रकम भए भोली घर पुनर्निमाण गर्न पनि मद्धत नै पुग्ने छ ।’