FLASH NEWS
  • Loading...

प्राविधिक त्रुटीले ९ महिनादेखी मोटरपुल अलपत्र

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११२ पटक पढिएको
प्राविधिक त्रुटीले ९ महिनादेखी मोटरपुल अलपत्र

अन्नपूर्ण गाउँपालिका ६ पोखरेवगर र ५ नेपानेपाउद्धार जोड्न घारखोलामा प्रस्तावित मोटरेवल पुलको डिजाईन इष्टिमेटमा त्रुटी हुँदा अलपत्र परेको छ ।
राष्ट्रिय पुननिर्मण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई म्याग्दी भुकम्प प्रभावित अन्र्तगत घट्टेघारखोला आरसिसि मोटरेवल पुलको लम्बाई कम्तीमा २५ मिटर लामो पुल हुनु पर्नेमा आयोजनाले त्रुटीगरी २० मिटर लम्बाईमा डिजाईन इष्टिमेटगरी सोही अनुसार ठेक्का लगाईएकोमा निर्माण ब्यवसायी कार्यस्थल पुग्दा सम्झौता अनुसारको डिजाईन फरक परेको पत्ता लागेको थियो ।
डिजाईनमा त्रुटी सच्याउन ढिलाई हुँदा पछिल्लो ९ महिनादेखी निर्माण ढिलाई हुँदा स्थानीयलाई कतै पुलको योजना नै रद्ध हुने हो कि भन्ने चिन्तामा छन ।
‘अहिले हिउँदमा मात्र गाडी चल्छ । पुल ठेक्का लाग्यो, निर्माण ब्यवसायी पनि काममा आएपछि अर्को वर्षदेखी त वर्खापनि गाडी चल्ने आसा लागेको थियो तर डिजाईन मिलेन भनेर ठेकदार फर्केको पनि ९ महिना पुग्यो अझै काम नहुँदा रद्ध हुन्छ कि भन्ने डर बढेको छ’ अन्नपूर्ण गापा, ५ पाउद्धारका स्थाथीय भीमबहादुर तिलिजाले भने, ‘यहाँ पुल बनेपछि पाउद्धार, किन्दु क्षेत्रका बासिन्दालाई मात्र होईन खोप्रा–खयरवराह पदमार्गमा आउने पर्यटककालागी पनि धेरै सजिलो हुने थियो ।’
राष्ट्रिय पुननिर्मण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाईले गत ०७६ माघ १७ गते फेवा विएमए जेवि पोखरासँग भ्याटसहित २ करोड ८१ लाख ७८ हजार ६ सय ४६ रुपैयाँ मोटरेवल पुल निर्माण सम्झौता गरेको थियो ।
‘ठेक्का सम्झौताको तेस्रो दिन मजदुर र निर्माण सामाग्री लिएर साईटमा गयौं । जग (फाउण्डेसन) खन्ने नाप लिँदा पुलको स्पान २५ मिटर स्पान हुनु पर्नेमा २० मिटर मात्र भएको भेटिएपछि कार्यालयलाई लिखित जानकारी गरेका हौं’ फेवा विएमए जेवि संञ्चालक निर्माण ब्यवसायी विमलेश आचार्यले भने, ‘डिपिआर नसच्याई काम गर्न असंभव रहेको तीन पटकसम्म लिखित जानकारी दिएका छौं । पुन:डिपिआर गरी लागत संशोधन गर्छौं भन्न थालेको पनि ९ महिना पुग्यो । हुन्छ, हुन्छ मात्र भनिएको छ ।’
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय कार्यक्रम कार्यान्वयन इकाई मार्फत ग्रीड कन्सल्टेन्ट काठमाण्डौले पुलको डिपिआर तयार पारेको थियो । जिल्लामा कार्यालय बस्नु अघि नै डिपिआर भएको र कन्सल्टेन्टले दिएको रिपोर्टको आधारमा डिजाईन इष्टिमेटगरी टेण्डर गरिएको हो, फिल्डमा पुग्दा त्रुटी फेला परेपछि सच्याउन काम भैरहेको कार्यक्रम कार्यान्वयन इकाई म्याग्दीले जनाएको छ ।
‘योजनाको डिपिआर तयार पार्दा प्राविधिकले एउटा योजनाको डिपिआरलाई अर्कोमा राख्दा समस्या भै योजना ८–१० महिना पछि धकेलिएको हो’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘डिजाईन इष्टिमेटर परिवर्तनगरी लागत संशोधनकालागी सहमति भै केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जिल्लामा पत्रिपत्र गरेको छ । दशैं लगत्तैदेखी काम अघी बढ्छ ।’
भुकम्प प्रभावित सडक अन्र्तगत अन्नपूर्ण चक्रिय पदमार्गको पुनहिल पुग्ने पदमार्ग मासेर पक्की मोटरबाटो बनाउन थालेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले सडकसँग पारीको पाउद्धार, नेपाने वस्ती जोड्न घारखोलामा पक्की पुल बनाउन टेण्डर गरेको थियो ।
‘हाम्रो तर्फबाट गम्भीर त्रुटी फेला परेपछि डिपिआर सच्याउने र लागत शंसोधन (भेरियसन) गर्ने प्रकृयामा छौं । पुलको रिडिजाईन भै नक्सा आईसकेको छ, लागत भेरियसन गर्न जुटेका छौं । दशैं अघि निर्माण ब्यवसायीलाई कार्यस्थलमा परिचालन गर्ने गरी काम गरेका छौं’ राष्ट्रिय पुननिर्मण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाइका सोही साईड हेर्ने सवइन्जिनियर डवलबहादुर तामाङ्ले भने, ‘डिपिआर, डिजाईन संशोधनले ९ महिना खेर गयो, यस अघि योजनाको नाम परिवर्तनले पनि केही महिना अल्झाएको थियो । अव सवै अल्झन टुङ्गो लागेकोले कामले गति लिन्छ ।’
अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट सोही वडाको चित्रेसम्म १८ किमी ५ सय मिटर कच्ची सडकमा सव वेस/वेस र कालोपत्रे सडक स्तरउन्नत गर्न मुल्य अभिवृद्धि कर सहित २७ करोड ९१ लाख ३५ हजारमा मोतिदान/जयमाता जेभीलाई छुट्टै ठेक्का दिएको छ ।
सडक स्तरोन्नती गर्दा ठेकदारले ढुङ्गामाटो काट्ने, ग्यावीन वाल लगाउने, मेसिनरी वाल लगाउने, ह्युमपाईप लगाउने, आरसीसि गर्ने, सव वेस/वेस र कालोपत्रे गर्ने स्टोन सोलिङ्ग र आरसिसी गर्ने कार्य तोकिएको भएपनि यसबर्षको अधिक बर्षापछि सडकमा धेरै पहिरो आएपछि काम प्रभावित छ ।