FLASH NEWS
  • Loading...

क्याम्पसचोकको बाढी ब्यवस्थापन गर्न घर अधिग्रहण गरिने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८५ पटक पढिएको
क्याम्पसचोकको बाढी ब्यवस्थापन गर्न घर अधिग्रहण गरिने

सदरमुकाम बेनीको क्याम्पसचोकमा बर्षेनी आउने भेलबाढीको दिगो समाधानकालागी बेनी नगरपालिका, ८ मा पर्ने क्याम्पसचोकमा रहेका घर तथा जग्गा अधिग्रहण गरिने भएको छ ।
समितिले ढल/बाढी निकास तथा वडा कार्यालय राख्ने प्रयोजनकालागी बेनी क्याम्पसचोकको तल्लो लाईनमा रहेका शिवानी फेन्सी पसल रहेको रवि शर्माको घर र सो घरपछाडी कालीपुल सडकसँग जोडिएको मीन सापकोटाको जग्गा अधिग्रहण गर्न लागेको हो ।
घर अधिग्रहणगरी भुईतल्लाबाट ठूलो आकारको नाली बनाई बाढीलाई तल कालीगण्डकी नदीमा पुर्‍याउने र माथिल्लो तल्लामा भाडामा बस्दै आएको बेनी नगरपालिका, ८ वडा कार्यालय राख्ने योजना छ । अहिले पनि घरधनीको सहमतिमा घरमुनीबाट सानो नाली बनाई बजारबाट निक्लेको ढलको पानी निकास दिने गरिएको छ । तर बाढी आउँदा नालीले नथेग्ने र पुरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा मालपोत अधिकृत, नापी अधिकृत समेतको जिल्ला मुअब्जा निर्धारण समितिको शुक्रवार वसेको बैठकले बाढी ब्यवस्थापन गर्ने तथा वडा कार्यालय समेत रहनेगरी क्याम्पसचोक २ कित्ता जग्गा र सो जग्गामा निर्मित भवनसमेत अधिग्रहण गर्ने निर्णय गरेको समितिका सदस्य एवं बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।
‘बाढी जाने निकास नहुँदा क्याम्पसचोकको बाढीको समस्या घरजग्गा अधिग्रहणपनि सुल्झने विश्वास लिएका छौं । समस्या समाधानमा नगरपालिकासँग आर्थिक, भौतिक दुवै क्षेत्रमा सहकार्य गर्न समुदाय तत्पर छौं’ क्याम्पसचोक बाढी ब्यवस्थापन समितिका अध्यक्ष गाविन्द बानियाँले भने, ‘घरअधिग्रहरण गर्न नगरपालिकाले विनियोजन गरेको बजेट अपुग हुनेभएपछि क्याम्पसचोकवासीले पनि घरधुरी रकम संकलन गरेका छौं ।’
मन्त्री परिषदले गत असार २ गते सम्बन्धित नगरपालिकाले मुअब्जा दिनेगरी घरजग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । बेनी नगरपालिकाले क्याम्पसचोकको बाढी ब्यवस्थापन गर्न यस वर्ष ७५ लाख बजेट विनियोजन गरेको छ । मुअब्जा निर्धारण समितिले गरेको मुल्यले विनियोनियोजित बजेट अपुग भएमा नगरपालिकाले थप बजेट ब्यवस्था गर्ने बेनी नगरपालिकाले जनाएको छ ।
‘बेनीको क्याम्पसचोकमा बाढी बग्ने निकास नहुँदा बर्षेनी बाढीको ववण्डरको समाधान गर्न स्थाई निकास खोज्न घर अधिग्रहण गर्ने निर्णय भएको छ । आवश्यक बजेट पनि विनियोजन गरेका छौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘आईतवार देखी नै अधिग्रहणको प्रकृयाले थप गति लिन्छ ।’
शहरीकरणसँगै परम्परागत खोल्सो अतिक्रमित भै शहर वसेकोले बाढीले निकास नपाउँदा बर्षेनी बेनीको पछाडीको पाखो र माथीको अथुङ्गे गाउँहुँदै आउने बाढीले क्याम्पसचोक क्षेत्रमा डुवान गरी क्षति पुर्‍याउँदै आएको छ । बेनीको सिरानपट्टी रहेको आँपारुख तथा वराहपाखोमा निर्माण गरिएको सडकले परम्परागत खोल्सा पुरेपछि अथुङ्गे गाउँहुँदै आउनेबाढी क्याम्पसचोक आउने गरेको हो ।
बलौटे पहाडमा निर्माण गरिएको सडक दिगो बन्न नसक्दा बर्षेनी पहिरो जाने र बाढीले सोही पहिरो बगाएर सदरमुकामको क्याम्पसचोक र मंगलाघाट बजार पुर्ने गरेको छ । ०६३ सालदेखी बेनीहुँदै अथुङ्गे जोड्ने सडकको विस्तार पहरामा डोजर लगाएर फोडिएको र परम्परागत खोल्सा पुरिएपछि एक स्थानबाट बग्ने भेलबाटी अन्यत्रबाट बग्न थालेको हो । त्यसयता हरेक बर्ष मंगलाघाट र क्याम्पसचोकमा बाढी पस्ने गरेको छ । माथीबाट बाढी आउँछ तर तल कालीगण्डकीसम्म पुग्ने बाटो नपाएपछि बजारका घरमा पस्ने गरेको हो ।