लगातारको झरीले धानवालीमा असर

११ आश्विन २०७७, आईतवार ०९:२४ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

फोटो : रश्मि बानियाँ, नेप्टेचौर

छिटो मनसुन सुरुभएपछि समयमै धान रोपाई भएकोले बढी उत्पादन हुने कृषकको अपेक्षा विपरित लगातारको झरीले धानवालीमा ब्यापक क्षति पुर्‍याएको छ ।
जिल्लाको माथिल्लो भेग (समुद्र सतहदेखी १४००–२००० सय मिटर उचाई)को क्षेत्रमा मध्य असार भित्र रोपाई सकिएकोले भदौंसम्म धान पसाएर पनि फुल लाग्नु पर्ने हो तर लगातारको झरीले धान फुल तथा पराग सेचन प्रकृया प्रभावित भएकोले असोजसम्मै धान पसाएपनि गेडा लागेको छैन । अधिक वर्षाले पानी छिटो चिसोहुँदा पसाउन नसकेको र पसाएको धानमा फुल नटिकेको कृषकले बताएका छन ।
‘असारमा समयमै धान रोपेका छौं । यस वर्ष उत्पादन बढ्छ भन्ने विश्वास थियो तर बढी झरी परेकोले पानी छिटो चिसो भयो, धानमा फुल नै लाग्न पाएन । काट्ने वेला हुँदा वाला ठाडै छ, गेडा नै लागेको छैन’ अन्नपूर्ण गाउँपालिका, ६ घारका कृषक नन्द खड्काले भने, ‘सवै खेतवाली झरीले क्षति पुर्‍यायो । वारीमा सिमी, तरकारी पनि भएन । कोरोनाको वर्ष भोकमरी नै लाग्ला जस्तो भयो ।’
तल्लो ८०० मिटरदेखी १४०० सय मिटर उचाई भएको क्षेत्रमा भने धानका वाला पसाउने र फुल्ने समयमा अधिक वर्षाले बोट ढलेपछि क्षति पुगेको छ । छिटो पाक्ने जातका धान असोज दोस्रो सातासम्म काट्ने वेला हुँदा अझै वाला पसाएको छैन ।
‘सलहले खाएर बचेको धान भर्खर पसाउन र फुल लाग्न थालेको धानवाली भारी वर्षा र हुरीवतासले पुरै ढलाएर सोत्तर नै बनाएको छ । हिलोमा ढलेको धान के उठेर बाला लाग्ला र खै’ बेनी नगरपालिका, ९ नेप्टेचौरका चक्रबहादुर चोखालले भने, ‘खाईनखाई बर्षभरी खेती गऱ्यो, मौषमले साथ दिन्न, बचेको रोगब्याधीले खान्छ । यो वर्ष रोग र भोकले मरिने चिन्ता लाग्या छ ।’
कृषी ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९५ हेक्टर खेतमा धान खेतीबाट १० हजार ५ सय ६० मेट्रीक टन धानको उत्पादन हुन्छ । जिल्लाको पात्लेखेत, तोरीपानी जस्ता उच्च क्षेत्रबाट माछापुच्छ्रे–३ र छोम्रोङ्ग जातका ८ टन धानको विउ डोल्पा, बाग्लुङ्ग र पर्वत जिल्लामा निकासी हुने गरेको छ ।
जिल्लाको सदरमुकाम सेरोफेरो तथा मध्य क्षेत्रका बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्र हुन ।
बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुरा, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती धानको खेती हुन्छ । नदी किनाराका फाँटभन्दा माथिल्लो अधिकांश खेतमा मार्सी, कालोमार्सी, झिनुवा, गुडुरा, दर्माली, तकमारे, जेठोबुढो आदी रैथाने जातका धान खेती हुन्छ ।
जिल्लाका अधिकांश माथिल्लो क्षेत्रका खेतमा भने रैथाने जातका गुडुरा र मार्सी धान बढी उत्पादन हुन्छ । पश्चिम धौलागिरी गाउँपालिकाको मुना र उत्तर अन्नपूर्ण गाउँपालिकाको घारको दुई हजार मिटरसम्म हावापानीमा धान फल्ने फाँट हुन ।

रैथाने धान मध्य चोटपटक लाग्दा र सुत्केरीकालागी लोकप्रिय बढी उपयोगी अनदी तथा कालोमार्सी लोपउन्मुख छ । तिब्र बसाई सराईले उपल्लो क्षेत्रका धान हुने खेत बाँझो हुन थालेपछि अनदी, आँगा र कालोमार्सी धान लोपुन्मुख हुन पुगेको हो । बजारबाट गाउँसम्म ट्याक्टरले चामल दैलोमै पुर्‍याउन थालेपछि गाउँले अल्छी बन्दा दैलोको खेतबाहेक बाँकी खेत बाँझो छोड्न थालेपछि रैथाने धानको जात समस्यामा परेका हुन ।