FLASH NEWS
  • Loading...

पृथ्वी आकारको अर्को ग्रह

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८६ पटक पढिएको
पृथ्वी आकारको अर्को ग्रह

‘के२–३१५–बी’ नाम राखिएको नयाँग्रहको नासाले बनाएको स्केच(माथि) र अनुसन्धानकर्मी प्रज्वल निरौला ।

खगोलशास्त्रका एक नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पृथ्वी आकारको ग्रह पत्ता लगाएको छ । अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका २८ वर्षीय नेपाली अनुसन्धानकर्ता प्रज्वल निरौला सम्मिलित समूहले नयाँ ग्रह पत्ता लगाएको हो । समूहमा मुख्य भूमिका निरौलाले खेलेका हुन् । उनी काठमाडौं मैतीदेवीका हुन् ।
सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन गर्न निरौलासहित अमेरिका, बेलायत, बेल्जियम र स्विट्जरल्यान्ड लगायत मुलुकका २८ जना अनुसन्धानकर्ताहरूको टोली खटिएको थियो । उक्त ग्रहसम्बन्धी अनुसन्धानात्मक आलेख एस्ट्रोनोमिकल जर्नलमा सेप्टेम्बर २१ मा प्रकाशित भएको छ । यो ग्रहलाई अमेरिकी अन्तरिक्ष संस्था नासाले समेत मान्यता दिएको छ । निरौलाले नयाँ ग्रहको खोज र सौर्यमण्डल बाहिरका ग्रहहरूको वायुमण्डल र विशेषताहरूको अध्ययन गर्दै आएका छन् । उनका अनुसार यो ग्रह स्पेकुलोस टेलिस्कोपको मद्दतबाट पत्ता लागेको हो । यस ग्रहको नाम ‘के२–३१५–बी’ राखिएको छ । के२–३१५ नामक ताराको वरिपरि घुम्ने भएकाले यसको नाम के२–३१५–बी राखिएको कान्तिपुरसँग टेलिफोन सम्पर्कमा आएका निरौलाले बताए ।

उनका अनुसार पृथ्वीबाट १ सय ८५ प्रकाश वर्ष टाढा रहेको यो ग्रहले आफ्नो तारालाई प्रत्येक ३ दशमलव १४ दिनमा परिक्रमा गर्छ । गणितमा पाईको मान ३.१४ हुने भएकाले यो ग्रहलाई पाई ग्रह पनि भनिएको छ । यसको गति ८१ किलोमिटर प्रतिसेकेन्ड रहेको छ ।

अनुसन्धानले यो ग्रहको सतही तापक्रम अत्यधिक रहेको जनाएको छ । ग्रहको सतही तापक्रम १८५ डिग्री सेल्सियस रहेकाले यसमा जीवनको सम्भावना नरहेको उनले बताए । तारा नजिक भएकाले यो ग्रहको वायुमण्डल धेरै नै तातिँदा ग्रहभित्र ग्यास अडिन नपाउने र वायुमण्डल बन्न नसक्ने सम्भावना उनले औंल्याए । ग्रहको वायुमण्डलसम्बन्धी अनुसन्धान हाल नगरिए पनि अनुमान लगाइएको उनको भनाइ छ । ‘वैज्ञानिकहरूलाई सबैभन्दा धेरै पिरोल्ने प्रश्न भनेको जीवन पृथ्वीमा मात्रै सम्भव छ भन्ने हो । हाम्रो काम भनेकै ग्रहहरूको खोज हो,’ उनले भने । ‘अहिले पत्ता लगाएको ग्रह बस्न लायकको थियो भने के हुन्थ्यो ? ग्रहहरू खोज्नु भनेको जीवन छ कि छैन भनेर हो । अनि त्यसपश्चात् अध्ययन गर्नॅ नै हो,’ उनले भने ।

सन् २०१७ मा नासाको के२ मिसनअन्तर्गत केप्लर टेलिस्कोपबाट लिइएको तथ्यांकलाई आधार मानेर यो ग्रहको खोजी गरिएको थियो । उक्त तथ्यांकलाई पुनः पुष्टि गर्न जमिनमा रहेका स्पेकुलस टेलिस्कोप नेटवर्कको प्रयोग गरिएको थियो । स्पेकुलस टेलिस्कोपको ६ वटा स्टेसन छन् । तीमध्ये ४ वटा स्टेसन चिलीमा र बाँकी स्पेन र मेक्सिकोमा छन् ।

हरेक राति सौर्यमण्डलभन्दा बाहिरका ताराको वरिपरि घुम्ने ग्रहहरूको ग्रहण (छाया) को खोजी गरेर त्यसैलाई आधार मानी वैज्ञानिकहरू ग्रह पत्ता लगाउँछन् । उनका अनुसार सानो तारा वरिपरि घुम्ने ग्रहहरूको वायुमण्डल अध्ययन गर्न सजिलो हुने भएकाले स्पेकुलसलाई त्यस्ता ग्रहहरूको खोजीमा प्रयोग गरिन्छ । सौर्यमण्डल बाहिरका ग्रह ताराको तुलनामा निकै मधुरा हुन्छन् । तर ती ग्रहको ग्रहण तारामा पर्दा टेलिस्कोपको सहयोगबाट देख्न सकिन्छ । तारामा देखिने ग्रहणलाई आधार मानेरै आफूहरूले नयाँ ग्रहबारे थाहा पाएको उनले बताए । ‘ग्रहहरू जति तारा नजिक हुन्छन्, पत्ता लगाउन त्यति नै सजिलो हुन्छ,’ उनले अनुभव सुनाए ।

उक्त समूहले सन् २०१८ मा पनि सौर्यमण्डल बाहिर रहेका ३ वटा ग्रहहरूको ‘प्लानेटरी सिस्टम’ पत्ता लगाएका थिए । यो अनुसन्धानमा सन् २०१९ मा भौतिक शास्त्रतर्फ नोबल पुरस्कार पाएका क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ता डिडियर कोएलोजले पनि सहयोग गरेका छन् । ग्रहको अनुसन्धान सम्बन्धमा प्रकाशित वैज्ञानिक आलेखमा कोएलोज सह–लेखकका रूपमा छन् । उनले आफूहरूलाई अनुसन्धान गर्न प्रेरित गर्दै ग्रह खोज्ने तरिकाहरू सिकाएको निरौलाले बताए ।

कोएलोज तिनै भौतिकशास्त्री हुन्, जसले पहिलो पटक सन् १९९५ मा सौर्यमण्डल बाहिर ग्रह पत्ता लगाएका थिए । उनले पत्ता लगाएको ग्रहको नाम ५१–पेगासी–बी हो । यही ग्रह पत्ता लगाएको भन्दै उनलाई नोबल पुरस्कार दिइएको थियो । गत वर्ष भौतिकशास्त्रमा उनीसहित जेम्स पेब्लस र माइकल मेयरलाई संयुक्त रूपमा भौतिकशास्त्रतर्फको नोबल पुरस्कार दिइएको थियो । संसारमा हालसम्म ४ हजार वटा ग्रहहरू पत्ता लागेका छन् । तीमध्ये थोरै ग्रहहरूको मात्रै वायुमण्डल अध्ययन भएको छ । वैज्ञानिकहरूले ती ग्रहहरूको अध्ययन र विशेषताहरू बुझ्दै पृथ्वी बाहिर जीवन सम्भव हुने–नहुनेबारे खोज गरिरहेका छन् ।

एमआईटीको एटमोस्फेरिक एन्ड प्लानेटरी साइन्सेस (ईएपीएस) विभागमा कार्यरत निरौलाले नेपालबाट पनि अध्ययन गरेर नयाँ ग्रहहरू पत्ता लगाउन सकिने बताए । उनले नेपालमा खगोल विज्ञानसम्बन्धी अनुसन्धानको राम्रो रहेको समेत दाबी गरे । लगातार बादलले आकाश ढाक्ने भएकाले खगोलसम्बन्धी अध्ययनका लागि नेपालका धेरै ठाउँको मौसम अनुकूल मानिँदैन । मुस्ताङलगायत हिमालपारिका जिल्लाहरूमा अनुसन्धान केन्द्रको स्थापना गरी अध्ययन गर्न सकिने उनको भनाइ छ । ती स्थानहरूमा टेलिस्कोप राखेर अध्ययन गर्न सके खगोल विज्ञानलाई अझ प्रभावकारी बनाउन सकिने उनले बताए । आफ्नो समूहले पत्ता लगाएको ग्रहले वैज्ञानिक खोजको दायरालाई बढाएको उनले बताए । source-ekantipur.com