उपल्लो थलोमा वाली थन्क्याउने चटारो

१० आश्विन २०७७, शनिबार १६:५३ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगका कृषकलाई यतिवेला मुख्यवाली गहुँ, जौ र फापरसमेत खाद्यान्न थन्क्याउने चटारो छ ।
कोरोना कहरका वीच यार्तुङ, तीजि समेतका महत्वपूर्ण बर्खे चाडपर्व मनाएपछि यतिवेला मुस्ताङ्गको उपल्लो थलोका कृषकलाई फापर, उवा, गहुँ, जौ र आलु वाली थन्कयाउन भ्याई नभ्याई छ । एक वाली मात्र खेती हुने मुस्ताङ्गमा अघिल्लो बर्ष असोज/कात्तिकमा रोपेको खेतीवाली वल्न पाकेको हो ।
‘अहिले मुस्ताङको उपल्लोमा कृषकलाई वाली थन्क्याउने चटारो छ । लगत्तै मल हाल्ने, खनजोत गर्ने र कात्तिक महिना भित्र नयाँवाली लगाई सक्नु पर्ने भएकोले सवैलाई टचारो भएको हो’ लोमन्थाङका स्थानिय तथा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले भने, ‘मुस्ताङमा फल्ने हरेक कृषी उपजको सहरमा अति मुल्य छ तर यहाँ कृषीमा आर्कषण घट्दै गएको छ । कृषी कर्ममा मान्छेहरुलाई फर्काउन समस्या भैरहेको छ ।’
मुस्ताङ्गको लोघेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिका क्षेत्रलाई माथिल्लो मुस्ताङ भन्ने गरिन्छ । कात्तिक अन्त्य मंसिरदेखी हिमपात हुने भएकोले मध्य असोजसम्म यहाँको मुख्य खाद्यान्नबाली फापर, उवा, गहुँ, जौ वाली थन्क्याएर कात्तिक महिनासम्म नयाँवाली लगाई सक्नु पर्छ । असोज अन्तिमदेखी कात्तिकसम्म खेतवारीमा छरेको गहुँ, जौ समेतका अन्नवाली चार महिनापछि फागुन महिनामा उम्रन्छ ।
मुस्ताङको मुख्ख खाद्यान्नबाली फापर भौगोलिक अवस्थिती अनुसार मध्य असोजबाट पाक्न शुरु भै कात्तिक अन्तिमसाता सम्म रहन्छ । उपल्लो मुस्ताङमा असोजमा र तल्लो मुस्ताङ्गमा कात्तिकसम्म पनि फापर पाक्ने हुन्छ । मुस्ताङ्गको अन्नवाली माथिबाट पाक्दै क्रमश: तल झर्ने हुन्छ ।
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार मुस्ताङमा सवैभन्दाबढी फापर ५ सय ८२ हेक्टर क्षेत्रफलमा ९ सय ७७ मेट्रिक टन उत्पादन हुन्छ । त्यसैगरी गहु ५ सय ७९ हेक्टरबाट ९ सय १८ मे.टन, उवा ३ सय ७० हेक्टरबाट ७ सय ४० मे.टन, जौ २ सय ७२ हेक्टरमा ५ सय ८ मे.टन उत्पादन हुन्छ । त्यसैगरी ५२ हेक्टरमा सिमी ८१ मे.टन, केराउ ३२ हेक्टरमा ७० मे.टन र तोरी ३२ हेक्टरमा २९ मे.टन उत्पादन हुन्छ ।
‘मुस्ताङमा घट्दो जनसंख्या र सडक संञ्चालको पहुँचबृद्धी भएपछि फस्टाउँदो चामलको भात खाने संस्कृतिले यहाँ उत्पादित ६० प्रतिशत बढी अन्नवाली स्थानीय मदिरा र बाहिर जिल्लामा विक्री हुने गरेको छ’ कृषी ज्ञान केन्द्रका कृषी प्रसार अधिकृत गोविन्द पाण्डेले भने, ‘मुस्ताङलाई स्याउले चिनाएपनि यहाँको अन्नवाली र तरकारी खेतीलाई भने ओझेलमा पारेको छ । तरकारीमा आलु, गाजर र सागसब्जी वाहिर जान्छ ।’
उत्पादनको ६० प्रतिशतबढी अन्नवाली विक्रि हुने गरेपनि ब्यवसायमा सचेत मुस्ताङ्गीले सोझै अन्न भने बेच्दैनन । फापर, जौ, उवालाई प्रसोधन गरी (पिठो) को रुपमा बढी मुल्यमा विक्रि गर्ने गरेका छन । तुलनात्मक रुपमा उपल्लो क्षेत्रमा उत्पादनहुने फापर बढी कृषक आफै उपभोग गर्ने र छुक्साङदेखी तल उत्पादनहुने करिव सवै फापर ब्यापारीले खरिदगरी पीठोको रुपमा विक्रि गर्छन ।