- Loading...
इजरायलले नर्स लैजाने
- पुनहिल डट कम
- ४ साल अघि
- १३२ पटक पढिएको
इजरायलले पहिलोपटक नर्सिङ क्षेत्रका लागि संस्थागत रूपमा पाँच सय नेपाली लैजाने भएको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन् । कूल २५ सय जना श्रमिक लैजाने नीतिअनुरुप इजरायलले पाँच सय नेपालीलाई अवसर दिन लागेको हो । यसका लागि नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने सहमति जुटेको छ ।
यो सहमतिसँगै स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा नेपाली श्रमिक जाने बाटो खुलेको छ । यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो । अब अस्पतालको काममा लैजान लागिएको हो । इजरायलस्थित नेपाली दूतावासका अनुसार यससम्बन्धी सम्झौतामा असोज १४ गते नेपालका तर्फबाट राजदूत अन्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्खेनाजीबीच हस्ताक्षर हुनेछ । शाक्यलाई श्रम सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषद्को बैठकले अख्तियारी दिइसकेको छ ।
इजरायलको श्रमिक भर्ना प्रक्रियामा निजी क्षेत्रलाई सामेल गरिएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले दुवै देशको सरकारी संयन्त्रमार्फत नै श्रमिक पठाउने सहमति भएको बताए । ‘श्रमिक छनोट प्रक्रिया सरकारी संयन्त्रबाटै हुनेछ । यसका लागि इजरायली पक्षले विभागलाई जिम्मेवारी प्रदान गरेको छ,’ सम्झौता प्रक्रियामा सहभागी रहेका दाहालले भने ।
इजरायलले पठाएको मागपत्रका आधारमा विभागले नै रोस्टर (श्रमिकको सूची) तयार गरेर अनुमतिका लागि मात्रै इजरायल पठाउनेछ । ‘छनोटको मापदण्डबमोजिम सूचना प्रकाशन गर्छौं । सर्ट लिस्टमा परेकालाई अन्तर्वार्ता लिई रोस्टर तयार गर्छौं । त्यसरी छनोट भएकाको सूची इजरायल पठाउनेछौं । उनीहरूले अनुमति दिएपछि हामी श्रमस्वीकृति दिनेछौं,’ उनले भने ।
‘तलब मासिक १५ सय डलर प्राप्त हुनेछ । त्यसमा खाना र आवासबापतको ३ सय १० डलर कट्टा हुनेछ,’ उनले भने, ‘तलबलगायत अन्य सेवासुविधा पाउने सुनिश्चित गरिएको छ ।’
केयर गिभरका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा यसअघि म्यानपावर कम्पनीले नै श्रमिक पठाउँदै आएका थिए । श्रमिकसँग ९ लाख रुपैयाँसम्म असुल गरिएको भेटिएपछि सन् २००९ बाट म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउन रोक लगाइएको थियो । सरकारी प्रक्रियामार्फत सन् २०१५ को अगस्टदेखि पाइलट प्रोजेक्टका रूपमा केयर गिभर लैजान थालिएको थियो । संसदीय समितिले श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक नपठाउने निर्णय गरेपछि २०७३ चैत २२ देखि केयर गिभरसमेत पठाउन बन्द गरिएको थियो । त्यसपछि पाइलट प्रोजेक्ट सफल हुन सकेन । हाल इजरायलमा तीन हजार नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । source-ekantipur.com