- Loading...
म्याग्दीमा पानीविजुलीको महसुल घरबाटै तिर्नेको संख्या बढ्दो
- पुनहिल डट कम
- ४ साल अघि
- २३२ पटक पढिएको
बेनी नगरपालिका, ६ छापाकी सरिता बानियाँ केसीले विजुलीको महसुल तिर्न सदरमुकामको काउण्टर धाउन छाडेको एक बर्षवढी भो । सरिताले घरमै बसेर इ सेवा मार्फत मोवाईलबाटै विजुलीको भुक्तानी गर्दै आएकी छिन ।
अन्नपूर्ण गाउँपालिका, ६ पोखरेवगरकी होटल ब्यवसायी विष्णु गर्वुजाले पनि विधुत काउण्टरमा गएर महसुल तिर्न छोडेको धेरै भयो । गाउँपालिका केन्द्र रहेको पोखरे वगरमा विभिन्न बैंकहरुका शाखा खुलेसँगै विजुलीको विल तिरिदिने समेतका धेरै सुविधा लिएर आए । अहिले गर्वुजाले घरबाट बैंकको इबैंकिङ मार्फत विजुली समेत सदरमुकाम र पोखराका साहुहरुलाई सामानको वील भुक्तानी गर्दै आएकी छिन ।
जिल्लाको सवैभन्दाबढी दुर्गम धौलागिरी गाउँपालिका, ७ ताकमका पुस्कर भण्डारीले पनि विजुलीको विल तिर्न काउण्टर जान र मोवाईलको कार्डबाट रिचार्ज गर्न छोडेको धेरै भयो । सुरुमा भण्डारीले सदरमुकाम समेत सहर झर्दा मात्र इवैंकिङ सेवा चलाउँथे, पछिल्लो दुई बर्षदेखी गाउँमै फोरजी प्रविधीको मोवाईल सेवा विस्तार भएपछि घरबाटै मिलेसम्मका विलको विधुतिय भुक्तानी थालेका हुन ।
सरिता, विष्णु र पुस्कर उदाहरण मात्र हुन, पछिल्ला केही बर्षदेखी सहरबजारका उपभोक्ताले मात्र होईन ग्रामिण भेगका उपभोक्ता पनि विधुतिय भुक्तानी तर्फ आर्कषित हुन थालेका छन । छिटो, सरल, सहज र पारदर्शीतकालागी विधुतिय भुक्तानी गर्नेको संख्या म्याग्दीका गाउँगाउँमा बढ्दै गएको हो ।
‘यता घरमा कामको चटारो हुन्छ त्यै समयमा उता विजुलीको त कहिले खानेपानीको विल तिर्ने दिन आउँछ । एक हप्तामा तिरे केही प्रतिशत रेविट छुट पनि पाईन्छ । त्यसैल इ सेवामा आवश्यक पैसा राखिराख्छु’ सरिता बानियाँ केसीले भनिन, ‘मोवाईलबाट विजुली, खानेपानीको विल तिर्न मिल्ने भएपछि चर्कोघाम, झरीमा काउण्टर धाउनु पर्ने झन्झटबाट मुक्त भईएको छ । कहिले काहीं त छिमेकीको विल पनि यहींबाट तिरिदिन्छु ।’
उपभोक्ताको हात–हातमा डिजिटल पेमेन्टका प्लेटफर्महरु बढ्दै गएपछि ग्रामिण भेगमा रहेर पनि विधुतिय भुक्तानी गर्नेको संख्या बढ्दै गएको छ । इ–सेवा, फोनी पे, मोवाईल वैंकिङ्का टप अफ समेतका सुविधा थपिएपछि विधुत, टेलिकम महसुल, बसका टिकट समेत सेवाको वील घरबाट भुक्तानी हुन थालेको छ ।
वस्तु तथा सेवाको वील विधुतिय माध्यमबाट भुक्तानी बढ्दै गएको तथ्याङ नेपाल विधुत प्राधिकरण वेनी वितरण केन्द्रको विधुत महसुल संकलनमा पनि देखिएको छ । प्राधिकरणले आव ०७६/०७७ मा कुल संकलन गरेको ९१ करोड ६० लाख ७० हजारमध्य १ करोड ७३ लाख १३ हजार डिजिटल प्लेट फर्मबाट भएको थियो । यीमध्य सवैभन्दाबढी इसेवा र पेप्वाईन्टबाट भएको देखिएको छ । ग्रामिण भेगबाट विभन्नि बैंकहरुबाट विजुलीको विलको भुक्तानी पनि बढ्दै गएको देखिएको छ ।
‘घरबाट डिजिटल प्लेटफर्म प्रयोग गरी विधुत विल भुक्तानी गर्न सजिलो भएपछि पछिल्लो एक बर्षमा विधुत कार्यालयमा महसुल कार्ड र वील बोकेर भुक्तानी गर्न आउने सेगा्राहीको संख्या घट्दै गएको छ’ विधुत प्राधिकरण बेनी वितरण केन्द्रका सरोज आचार्यले भने, ‘दुर्गम धौलागिरी, अन्नपूर्ण गाउँपालिकाबाट पनि सेवाग्राहीले विधुतिय कारोवारबाट विल भुक्तानी गर्ने गरेका छन ।’
हरेक स्थानीय तहमा कम्तीमा एउटा वैंक पुग्नै पर्नेबाध्यता भएसँगै विभिन्न वित्तिय संस्थाहरु गाउँपालिकाहरुमा सेवा विस्तार गरिरहेका छन । सवै बैंक/वित्तिय संस्थाले आफ्ना सेवामा मोवाईल वैंकिङ दिने देखी विधुत, टेलिफोन, विद्यालय समेत विभिन्न सेवाको वील भुक्तानी गाउँबाट गर्न थालेका छन । वैंक दैलोमै पुगेपछि गाउँका साना ठूला सवै पसल तथा रेष्टुरेन्टमा समेत फोनी पे जस्ता कम्पनीहरुले स्क्यानगरी विल भुक्तानी गर्न मिल्ने डिजिटल प्लेट फर्म पुर्याएपछि मोवाईलबाट वील भुक्तानी गर्ने गृहणीको संख्या पनि बढेको छ ।