कोरोनाले नछोएको ब्यवसाय आरनबाट महिनैमा लाखौं आम्दानी

५ आश्विन २०७७, सोमबार १३:२९ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

सदरमुकाम बेनीको पश्चिम म्याग्दीखोलाको पक्की पुलमुनि एउटा पुरानो शैलीको आरन छ । आरनमा कोही घन ठटाउँदै छन ।
कसैले धातुका पुराना घरायसी सामान र कृषि औजार मर्मत गरिरहेका छन । पुलको सतहसंगै आरनमाथि ट्रष्टले बनाइएको र पुराना जस्तापाताले छाएको टहरोमा सामान विक्रीका लागि राखिएको छ ।
लकडाउनका कारण ब्यापार ब्यवसाय ठप्प भएपछि केही ब्यवसायी पेशाबाट पलायन भएका छन । केही अप्ठेरोमा परेका छन । तर यो आरन भने कहिल्यै बन्द भएन ।  आरनमा सवै सिजन, सवैदिन एकनास कामको भ्याइनभ्याई छ । पुख्र्यौली पेशा नभए पनि त्यसैमा दंग छन, मंगला गाउँपालिका–२ का ४२ वर्षे कुलदीप जुग्जाली मगर ‘कुले’ । बेनी नगरपालिकालाई जग्गाको भाडा तिर्छन । आरनको नाम उनले ‘कृषकको कृषीऔजार कारखाना’ राखेका छन ।


कारखानामा कृषकालागी दैनिक आवश्यक घरेलु कृषी सामाग्री आँसी, बन्चरो, खुकुरी, दावे, बाउसो, कुटो, फाली, काठेफाली, झाङ्गा, ताप्के, तामाका गाग्री लगाएत पञ्चेबाजासमेत बनाउछन ।
कोरोना कहरले लकडाउनमा सहरका धेरै मान्छे गाउँ फर्केर पुन:कृषी पेसालाई निरन्तरता दिए । बाँझिएकाजग्गा खनजोत र खेती सुरु गर्न थाले । कृषीगर्ने बढेपछि कृषीऔजारको पनि माग बढेपछि कोरोना कहरको बेला आरनको ब्यवसाय झन् फस्टाएको हो ।
‘लकडाउनमा पनि सवैको ब्यवसाय वन्द भयो, मेरो झन बढी चल्यो । सहरमा बसेका गाउँ फर्केपछि कृषकलाई नभै नहुने आँसी, बाउसो, कोदालो, गलघनको झनमाग बढेको हो’ मगरले भने भने, ‘एउटा सानो भट्टीबाट शुरु आरनमा अहिले २ करोड बढीको लगानी छ । खासमा सवै कृषकको विश्वास जितेको छु, ब्यवसायीक इमान कायम गरेको छु ।’


नौ बर्षअघि ५० हजारको लगानीमा शुरु आरन फस्टाउँदै कृषीऔजार कारखाना बनेको छ । नपत्याउँदो छाप्रोभित्र २ करोडबढी लगानी छ । कारखानामा ५ मिस्त्रीसहित १८ रोजगारी पाएका छन । लकडाउनमा पनि कामदारलाई दैनिक ३ घन्टा अतिरिक्त समय काम दिइएको थियो । आरनबाट कर्मचारीको तलव तथा अन्य खर्च कटाएर १० लाख बढीको बचत छ । उनका श्रीमती देवी र छोरा गौरव ५ वर्षदेखि कोरियामा छन । छोरी अष्ट्रेलिया । उनीहरुको कमाइ आरनमा लगानी छैन ।
आरनमा एक मिस्त्रीले मासिक ५० हजार रुपैयाँसम्म तलबभत्ता पाउँछन । कोईलातर्फका मदजुरले भने दैनिक ५ सयको दरले पारिश्रमिक पाएका छन । कुलदीप आफै मिस्त्री हुन । वल्डिङ, ग्याँसकटीङ, ग्याँस वल्डिङ र ग्रेण्डरबाट धार हाल्ने काम गर्छन । ‘खानाबस्नसहित मासिक ३० हजार सुरु तलव छ । ओटी सरदर दैनिक ३ घन्टा पर्छ । गाउँघरबाट आरन हराउँदै गएकोले यहाँको आरन फस्टाएको हो’ मुख्यमिस्त्री शेरबहादुर विकले थपे, ‘फलामलाई घनले ठटाएर धार हाल्दा जुन दु:ख छ, महिनाको अन्तीममा तलव बुझ्दा चित्त बुझ्छ ।’ विक भारतिय सेनामा १२ बर्ष खुकुरी बनाउने पेशामा संलग्न भै फर्केका अनुभवी हुन ।


०६१/०६२ मा सदरमुकाममा दोहोरी रेष्टुरेन्ट संञ्चालन गरेका कुलदीप घाटा खाएपछि विदेशको चक्करमा लागे । विदेशको सपना पुरा नभएपछि उनी चितवन नारायणघाटको क्षेत्रपुरमा आरन पेशा शुरु गरे । मोटरसाईकल दुर्घटनामा झण्डै ७ महिना जेल परेपछि उनले नारायणगढको आरन उठाएर बेनी ल्याए ।
उनका वाबु हेमबहादुर घर्तीले विस २०४५ पछि गोरेटो/घोडेटो वाटोलगायत विभिन्न योजनाको ठेक्कापट्टाको काम गर्थे । काम गर्दा गल, छिना तिखार्ने, बनाइरहनु पर्ने तर घर नजिकै आरन थिएन । त्यसैले हेमबहादुरले ०५४ सालमा एक जनाछुट्टै आरने बोलाएर घरमै आरन राखे । त्यहींबाट कुलदीपले सिके । उनले बुटवलबाट काँचो फलाम, तामा समेत कच्चापदार्थ ल्याउँछन । धेरै सामाग्रीजिल्लाकै कवाडी सामान उठाउने गर्छन । कवाडीलाई आरनमा पगाल्छन, गाल्छन अनि नयाँ सामान बनाएर बेच्छन ।

‘जागिर खाने योग्यता थिएन, गतिलो देश जान कर्मले दिएन, बाबुले सिकाएको त्यै आरने काम र फलामको ब्यापारको ज्ञान थियो त्यही ब्यवसाय रोजें’ कुलदीपले सुनाए, ‘फलाम तथा धातुको कारोवार फापेको छ ।’ पर्वत, बाग्लुङका गाउँबाट समेत यहाँ निर्मित कृषीऔजार तथा घरायसी भाँडाकुडा लिन आउँछन ।