- Loading...
असोज २ गतेदेखि ३० गतेसम्म मलमास, के गर्ने ? के नगर्ने ?
- पुनहिल डट कम
- ४ साल अघि
- १७४ पटक पढिएको

यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ ।
महिनामा दुई वटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको परिभाषा दिएका छन् । सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताए । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ ।
क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ ।
अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नहुन्छ । नित्य बसिरहेको व्रत गर्नहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्न नहुने नियम छ ।
मलमासको समयमा महादान, माङ्गलिक कार्यअर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्न हुँदैन । यसैगरी गर्भाधान गर्नहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नहुँदैन ।
वेदको रक्षा गर्न मत्स्यरुपमा भगवान् विष्णु
मत्स्य अवतारका विषयमा प्रचलित किम्बदन्ती यस्तो छ । प्राचीन कालमा सत्यव्रत नाम गरेका राजाले नदीमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् । सानो माछाले आफ्नो रक्षार्थ बिन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका थिए । कमण्डलुमा माछा अटाएन । माछालाई क्रमशः तलाउ अनि समुन्द्रमा राख्दा आकार बढ्दै गएको गयो । राजाले भगवान् विष्णुको अवतार बुझेर मत्स्य अवतारको पूजा गरे ।
पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो डुङ्गामा बीउबिजनसहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा विभिन्न पुराणमा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदलाई चोरेर समुद्रमा लुकाएको थियो । भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदको पनि उदार गरेको विश्वास गरिन्छ ।
यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष शुरु हुने औँसीदेखि नै मलमास लाग्ने भएकाले नेपालीको महान् चाड बडादशैँ एवं तिहार एक महिना ढिला हुने भएको छ । असोज ३० गते मलमास सकिएपछि कात्तिक १ गते घटस्थापना गरी दशैँ शुरु हुनेछ । मलमासका कारण दशँैपछिका सबै चाडबाडा ढिला हुनेछन् ।
यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो । १९ वर्षपछि फेरि असोज महिनामै मलमास परेको छ । असोज महिनामा पर्ने मलमासमा दक्षिणी देशमा सङ्घर्ष हुने ज्योतिषशास्त्रको ग्रन्थ संवत्सर संहितामा उल्लेख गरिएको ज्योतिषी पोखरेलले बताए । मलमासमा विशेष गरी भगवान् पुरुषोत्तमको पूजा आराधना गरी मालपुवा दान गरे पुण्य मिल्ने धार्मिक विश्वास छ ।रासस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
