मुस्ताङको स्याउ पाक्न नपाउँदै बजारमा, गुणस्तर खस्केपनि मुल्य बढ्यो

३० भाद्र २०७७, मंगलवार १५:१७ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

फाईल फोटो ।

पाक्ने र टिप्ने समय परिपक्क नहुँदै मुस्ताङ्गी स्याउ बजारमा आई पुगेको छ । मुस्ताङ्गी स्याउको वास्तविक स्वाद आउने समय कात्तिक हो । असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ ।
कृषी ज्ञान केन्द्र म्याग्दी (मुस्ताङ कार्य क्षेत्र) को आव ०७६/०७७ को अभिलेख अनुसार मुस्ताङमा १ हजार २ सय ४१ हेक्टर क्षेत्रफल स्याउ खेतीमध्य ४ सय ८ हेक्टर उत्पादनशिल क्षेत्रफलबाट ५ हजार ७ सय ९३ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । १४ दशमलव २ मे.टन प्रति हेक्टर उत्पादकत्व रहेको छ ।


दैलोमै गुड्ने गाढीबाट बारीका लटरम्म स्याउ राम्रो मुल्यमा विक्रि गर्ने रंगिन सपना साँचेका मुस्ताङका किसान यस बर्ष देखा परेको स्क्रव (दादे) रोगले स्याउको गुणस्तर र उत्पादन खस्के पछि निराश छन । तर स्याउको गुणस्तर खस्के पनि मुल्य भने अचाक्ली महंगो भएको छ ।
‘स्याउ स्वादले परिपक्क हुने बेला भएको छैन तर बजारको उच्च माग थेग्न नसक्ने अवस्था रहेकोले भदौ तेस्रो सातादेखी राम्रो मुल्यमा स्याउ बजार पठाएका छौंं’ घरपझोङ् गाउँपालिका, २ टुक्चेका स्याउ ब्यापारी शुभास थकालीले भने, ‘अहिले मुस्ताङमा स्याउ उत्पादन कमि छ । कोभिड–१९ को डरले ब्यापारी पनि धेरै नआएकोले प्रतिस्पर्धा कम छ ।’
मार्फ स्थित सरकारी स्याउ बगान शितोष्ण बागवानी विकास केन्दका अनुसार स्याउको वोटमा फुल्ने समयमा भारी हिमपात र पानी परेकोले परागसेचन प्रकृया प्रभावित भएकोले फल कम लागेको छ । प्रतिकुल मौषममा पनि लागेका स्याउका फलमा दादे, टिकटिके भनिने स्क्रव भन्ने रोग देखिएपछि उत्पादकत्व घटेको हो ।
‘स्याउमा फुल लाग्ने वेला हिमपात र वर्षाहुँदा परागसेचन प्रभावित भयो । अनि स्याउको राजधानी मानिने मार्फा, टुक्चे, जोमसोम क्षेत्रमा फलेको स्याउका दानामा रोग देखिएपछि फल जुन आकारमा बढ्ने हो त्यो बृद्धी भएन । फल कम गुणस्तरको सानो भयो’ सितोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख वालकृष्ण अधिकारीले भने, ‘यो बर्ष मुस्ताङ्गी स्याउको गुणस्तर र उत्पादन दुवै घटेको छ । सडकको गुणस्तर र कोभिड–१९ को कारण लागत बृद्धी भै मुल्य भने बढ्ने देखिएको छ ।’


प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन मुस्ताङका अनुसार स्याउको जात र स्वाद अनुसार कृषकको वारीबाट प्रतिकिलो ८०–१०० रुपैयाँमा टिप्न थालेका छन । ठूला ब्यापारीले बगान नै एकमुष्ठ ठेक्का लिने भएकोले खुद्रा मुल्य बढी परेको हो । स्याउ ब्यापारीको संख्या बढे मुल्य घट्ने हुन सक्छ ।
तर मुस्ताङदेखी ७६ किमी तल म्याग्दी सदरमुकाममा सवभन्दा कमसल गुणस्तरको स्याउको मुल्य १ सय ८० रहेको छ । विचौलियाहरुले कमसल गुणस्तरबाट बढी मुनाफा खाने भएकाले पहिलो गुणस्तरको स्याउ नै बजारमा ल्याएका छैनन ।
‘स्याउको वारीमा प्रतिकेजी १ सय रुपैयाँमा खरिद गरेको स्याउ टिप्ने, प्याकिङ गर्ने, ढुवानी गर्ने र मुनाफा जोड्दा पहिलो ग्रेडको स्याउ काठमाण्डौमा मैले प्रति केजी १ सय ८४ रुपैयाँसम्ममा झारें । ग्रेड अनुसार १ सय ५० सम्म झार्न सकिन्छ’ स्याउका थोक ब्यापारी समेत रहेका थकालीले भने, ‘कोभिड–१९ को प्रभाव मुस्ताङ्गी स्याउमा पनि पर्छ ।’ थकालीले थपे, ‘बाहिर जिल्लाबाट टिप्ने मजदुर ल्याएर धेरै ब्यापारी मुस्ताङ आउन सजिलो नभएकोले प्रतिस्पर्धा कम हुन्छ, मुल्य बढ्छ । अर्को भारतिय र चाईचिज स्याउ कम आयात कम भए मुस्ताङको स्याउको भाउ बढ्छ, आयात धेरै भए, मुल्य सस्तै रहन्छ ।’
सितोष्ण बागवानी विकास केन्द्र मार्फाले आफ्नो बगानको स्याउको स्तर अनुसार प्रति केजी ५०, ६० र ७० रुपैयाँ मुल्य तोकेको जनाएको छ । मार्फाको सरकारी स्याउ बगानमा बार्षिक ३० मे.टन स्याउ उत्पादन हुन्छ । केन्द्रको बगानमा उत्पादित स्याउको दाना बाहेक मदिरा पनि उत्पादन गरी विक्रि गर्छ । केन्द्रका अनुसार बागवानी केन्द्रले स्याउको ब्राण्डी २ हजार लिटर, साईडर ३ सय लिटर र आरुवखडाको वाईन ४ सय लिटर उत्पादन गर्दै आएको छ ।
मुस्ताङ्गमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचारेड, रोयल डेलिसियस समेत १३ प्रजातिका स्याउ खेती हुन्छ । मुस्ताङ्गको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ्ग, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ्ग, लुप्रा, ताम्बे, आदी गाउँमा स्याउको राम्रो खेती गरिन्छ । source-ekantipur.com