FLASH NEWS
  • Loading...

पर्वतमा काँग्रेसका नेतामा संक्रमण भएपछि कुस्माका ४ वडामा कडाई

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८३ पटक पढिएको
पर्वतमा काँग्रेसका नेतामा संक्रमण भएपछि कुस्माका ४ वडामा कडाई

कुस्मा नगरपालिकामा समुदायमा कोरोना संक्रमणको पुष्टि भएपछि सतर्कताका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

नेपाली काँग्रेसमा आबद्ध ती नेता जिल्ला बाहिर गएको हिस्ट्री देखिएको छैन । तर जिल्लाभित्र पार्टीका विभिन्न कार्यक्रम र डिसिसीएमसीको बैठकमा समेत सहभागी भएको पाइएको छ । अर्का संक्रमित मजदुर भने कुस्मा बजारको सडक कालोपत्रेका लागि ल्याइएका व्यक्ति हुन् ।

सामुदायिक रूपमा सङ्कलन गरिएको स्वाब परीक्षणको क्रममा जिल्लाको कुस्मा नगरपालिका ३ दुर्लुङ घर भई राजनीतिमा सक्रिय रहेका जिल्ला स्तरीय ६८ वर्षीय नेता तथा वडा नं. ४ कुस्मामा बस्दै आएका २३ वर्षीय मजदुरमा संक्रमणको पुष्टि भएपछि शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकबाट वडा नं. ४, ५, ६ र ७ मा कडाई गर्ने निर्णय भएको केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
‘संक्रमणको पुष्टि भएका एक व्यक्ति राजनैतिक भेटघाट तथा कार्यक्रममा सहभागी भएको भन्ने आएको छ । यो अवस्थामा भित्रभित्रै संक्रमण फैलिएको हुन सक्छ । त्यसैले सदरमुकाम कुस्माका ४ ओटा वडाका लागि केही आदेशहरू जारी गरिएका छन्’ रेग्मीले भने । ती आदेशहरू भदौ २६ गते राती १२ बजेबाट लागू भई असोज ३ गते राती १२ बजेसम्म कायम रहने र आदेशको अवज्ञा गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रजिअ रेग्मीले बताए ।
डिसिसिएमसीको बैठकबाट अन्य जिल्लाबाट पर्वतमा कामदार ल्याउँदा सम्बन्धित आयोजना प्रमुख तथा व्यवसायीले उनीहरुको पिसिआर जाँच गरी नेगेटिभ भएको सामान्यतया ७२ घण्टाभित्र ल्याईसक्नुपर्ने र श्रमिकहरूलाई आयोजनास्थल वा कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गराएर त्यसको जानकारी स्थानीय तह वा प्रशासनमा गराउन भनिएको छ ।
आदेशहरू जारी रहेको अवस्थामा सार्वजनिक सेवाअन्तर्गतका स्थानीय प्रशासन, स्वास्थ्य, सुरक्षा, सञ्चार, बिद्युत्, खानेपानी, इन्धन, आपूर्ति लगायतका कामहरू भने सुरक्षा सतर्कताको साथ सञ्चालन गर्न पाइने छ । त्यस्तै औषधि, खाद्यान्न, तरकारी फलफूल, डेरी, लगायतका अत्यावश्यक बस्तु र सेवाका पसलहरू पनि नियमनका साथ सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
कुस्मामा समुदायमा कोरोना संक्रमणको अवस्था बुझ्न ६८ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये अहिलेसम्म ४७ जनाको रिपोर्ट आएको छ भने थप २१ जनाको रिपोर्ट आउन बाँकी छ । शुक्रबार थपिएका २ जनासँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यसअघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन्भने ९ जनाको पर्वत कोरोना अस्पतालमा उपचार भइरहेको छ ।