आज:  | Fri, 25, Sep, 2020

कोरोनाविरुद्धको रुसी खोप प्रभावकारी प्रमाणित

२० भाद्र २०७७, शनिबार १९:५२ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

रुसी वैज्ञानिकहरुले आफ्नोे कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्टमा उल्लेख भएअनुसार भ्याक्सिनको सुरुवाती परीक्षणहरुले प्रतिरोधात्मकका संकेतहरु देखाएका छन् ।

मेडिकल जर्नल “द ल्यान्सेट”मा प्रकाशित रिपोर्टका अनुसार सुरुवाती परीक्षणमा सहभागी सबैले भाइरससँग लड्नका लागि एन्टीबडीको विकास गरेका छन् र उनीमाथि भ्याक्सिनको कुनै पनि साइड इफेक्ट देखिएको छैन ।

रुसले गत अगस्ट महिनामा नै भ्याक्सिनको स्थानीय  प्रयोगका लागि अनुमति दिएको थियो । भ्याक्सिनको परीक्षणको डेटा सार्वजनिक हुनुअगावै यस्तो गर्ने रुस विश्वकै पहिलो देश हो । यद्यपि विज्ञहरुले भ्याक्सिनको परीक्षणहरु यसको प्रभाविकारीता र सुरक्षा प्रमाणित गर्न धेरै सानो भएको बताएका छन् ।

रुसले भने भ्याक्सिनको परीक्षणको सुरुवाती नतिजाहरुले आलोचकहरुलाई गतिलो जवाफ दिएको बताएको छ । केही पश्चिमी विज्ञहरुले रुसले भ्याक्सिनको परीक्षणको प्रक्रियाहरु कटौति गरेको हुनसक्ने बताउँदै रुसको भ्याक्सिनको विकासको तीव्रतामाथि प्रश्न गरेका छन् ।

गत महिना रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनले सबै आवश्यक जाँच पास गरेको र आफ्नी एक छोरीलाई समेत यो भ्याक्सिन दिइएको बताएका थिए ।

रिपोर्ट के भन्छ ?
ल्यान्सेट पेपरकाअनुसार जुन र जुलाई महिनाको बीचमा स्पुन्तीक भि नाम दिइएको भ्याक्सिनको दुईवटा परीक्षण गरिएको थियो । प्रत्येक परीक्षणमा ३८ जना स्वास्थ्य स्वयम्सेवक सहभागी थिए । जसलाई भ्याक्सिनको डोज दिइएको थियो र तीन सातापछि फेरी बुस्टर भ्याक्सिन दिइएको थियो ।

परीक्षणमा सहभागी १८ देखि ६० वर्ष उमेरका सहभागीहरुलाई ४२ दिनसम्म सुपरीवेक्षण गरिएको थियो र सहभागी सबैले तीन साताभित्र एन्टीबडी विकास गरेका थिए । सहभागीहरुलाई टाउको र जोइन्ट दुख्ने सामान्य साइट इफेक्टहरु देखिएको थियो ।

रिपोर्टका अनुसार अब तेस्रो चरणको परीक्षणमा विभिन्न उमेर र जोखिम समूहका करीब ४० हजार स्वयम् सेवकहरु सहभागी हुनेछन्।

-CNN