कोभिड- १९ को छायाँमा नयाँ शैक्षिक सत्र : अब यसरी चलाऊँ नयाँ कक्षा

८ भाद्र २०७७, सोमबार ११:४४ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

गेहनाथ गौतम निर्देशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र

शैक्षिक सत्र खेर जान नदिने विषय अहिले शैक्षिक बहसको केन्द्रमा छ। यो विषय विद्यालय मात्र होइन विश्व विद्यालयका लागि पनि उत्तिकै चिन्ताको विषय हो । त्यसैले पनि धेरै पक्षबाट दृष्टिकोण वा सुझावहरु सार्वजनिक हुने गरेका छन्।

तर अधिकांश बहस, छलफलहरु कोभिडको संक्रमण सकिएला र विगतकै नियमित दिनचर्यामा निरन्तरता दिऔँला भन्दै पर्खिने कोणबाट भइरहेका देखिन्छन्। यसलाई अझै परिस्थितिको गम्भिरतासम्म पुग्न नसकिएको अवस्थाका रुपमा पनि लिन सकिन्छ।

कोभिड, १९ को विस्तारसँगै हाम्रो जीवन शैली फेरिएको छ। नाक र मुख छोपेरमात्र पर्दामा देखिने चन्द्रकान्ता सिरियलका पात्रजस्ता हामीले अब हिजोको सपनालाई अर्कौ नजरबाट हेर्नु पर्ने आवश्यकता देखिँदैछ। शक्तिसम्पन्न राष्ट्रहरु समेत हायलकायल बनेका छन्।

वैदेशिक रोजगारीका गन्तव्य मुलुक कोभिडको संक्रमणबाट ग्रसित छन्। निजी व्यवसायीहरु आफ्नो व्यवसाय सञ्चालन गर्न असक्त बन्दै छन्। समाज सेवाका नाममा संगठित संस्था तथा व्यक्तिगत फर्म, कम्पनीहरुको नियमितता बाँच्ने दिशामा केन्द्रित बन्दैछ। यसै गरी निजी लगानीका विद्यालयहरु आफ्ना शिक्षक कर्मचारीलाई तलव पनि दिन असमर्थ बन्दैछन्।

शैक्षिक सत्र नै परिवर्तन गरी साउन १ गतेबाट कायम गर्न पनि सकिन्छ। तर यस विषयमा गम्भीर बहस आवश्यक हुन्छ। यदि साउन १ गतेबाट कायम गर्ने हो भने छुटेको समय बैशाखभन्दा ३ महिना कम हुन जान्छ। यसलाई परिपूर्ति हुने गरी व्यवस्थापन गर्न केही विदाहरु कटौती गर्न सकिन्छ।

शिक्षाको कुरा गर्दा पूर्वीय सभ्यतामा एकलव्यजस्ता तीरस्कृत पात्रले पनि स्वजागरणबाट धनुर्विद्या वा शिक्षा हाँसिल गरेको उदाहरण छ। पाश्चात्य शिक्षाविदका डिस्कुलिङ् सोसाइटी, स्कुल इज डेडजस्ता अवधारणालाई पनि यतिवेला सान्दर्भिक मान्न सकिएला। डिप्रोफेसनालिज्म र टेलिप्याथीजस्तै टेलिसिकाइमा अधिक जोड दिन सकिएला।

स्वाध्ययन, खुला तथा वैकल्पिक शिक्षाको परम्परागत परिपाटी गुगल सर्च गरेर विश्वका एक कुनामा भएको गतिविधि अर्काे कुनामा तत्कालै विना झन्झट जानकारी लिन, दिन सक्ने यस्तो सबल युगमा पनि हामी यो वा त्यो नामका माखे साङ्लामा बाधिने, बाधिन चाहने वा बाँध्न खोज्ने प्रवृति कदापि ठीक होइन।

साच्चै भन्ने हो भने नेपालजस्ता विकाशोन्मुख मुलुकका अधिकांश विद्यालयमा गरिने शैक्षिक गतिविधि आफैँमा कति व्यवहारिक, सिर्जनात्मक र मौलिक छन् वा समसामयिक छन् भनेर प्रश्न गर्न सकिन्थ्यो। विश्वले अर्को फड्को मारिसक्दा हामी घोकन्ते शैलीमा थियौँ।

विश्वले सिर्जनात्मकताको कुरा गर्दा हामी पछ्याउँन खोज्दै थियौँ। जिटी मेथडबाट भाषा सिकाउँदै थियौँ। गुरु नै ज्ञान गवेषक, सर्वज्ञाता मान्ने पुरानो मान्यताबाट अघाडि बढ्दैछौँ। गुरुभन्दा चेला जान्ने हुन्छन् भन्ने मान्न अझै कठिन हुने गरे पनि यो मान्यता पुरानो भैसकेको छ। शिक्षकको भूमिका सहजकर्ताका रुपमा रहने गरेको छ।

यस्तो परिवेशमा शैक्षिक सत्र खेर जान नदिने गरी शैक्षिक व्यवस्थापन गर्ने दायित्व हामी सबैको हो। अहिले एसइइ परीक्षा कक्षा १० को नतिजाले केही पक्षमा प्रश्न खडा गरेको छ। शैक्षिक सत्र खेर जान नदिन गरिने प्रयत्न र अभ्यासले पनि भविश्यमा प्रश्न सिर्जना गर्न सक्ला। यसतर्फ सचेत रहनुपर्छ। नेपालमा विद्यालय शिक्षाको शैक्षिक सत्र ५ महिनापछि परिसकेको छ। तर पनि पाठ्यक्रमले तोकेको समयको औसत भार भने नघटाइ निरन्तरता दिन सक्नु पर्दछ।

वास्तवमा विद्यालय कम्पाउण्ड र निर्धारित कक्षा क्रियाकलाप भन्दा बाहिर पनि पाठ्यभारका अंश वहन गर्ने गरी सिकाइ सम्भव छ। तसर्थ यो मान्यता स्वीकार गरी र घरमा सिकेका जीवनोपयोगी सीपलाई पाठ्यभार र क्रेडिट आवरको अंश कायम गर्न आवश्यक छ।

यसरी पाठ्यघण्टा निर्धारण गर्दा विद्यालय सञ्चालन भए प्रतिमहिना करिव ९ प्रतिशत र घरमै सिकेको अवस्थालाई करिव ३ देखि ४ प्रतिशतसम्म गणना गर्न सकिन्छ। विद्यार्थीले घरमा रहँदा सिकाइमा खर्च गरेको समयलाई गणना गर्नु उपयुक्त हुन सक्दछ ।

विश्वव्यापी महामारीका समयमा आफ्नै घरभित्र बस्न सक्नु, समय बिताउन सक्नु, हण्डर भोग्न सक्नु, त्यसबाट जोगिनु वा भोगिनु, भएका साधनको प्रयोग गर्नु, घरेलु काममा देखभाल गर्नु, सन्तुष्टि वा असन्तुष्टि पोख्नु, पढाइप्रति चिन्तित रहनु, पुख्र्यौली पेसाका सिप सिक्नु, जस्ता विषयहरु विद्यालयका चौघेराभन्दा बाहिर रहेर नै भएका समस्या र समाधान केन्द्रित सिकाइ हुन् भन्न सकिन्छ। अर्का पक्षबाट भन्ने हो भने यो सिकेका ज्ञान, सिपलाई वास्तविक जीवनमा प्रयोगात्मक अभ्यास गर्ने अवसरजस्तो बनेको छ, यो परिवेश।

तसर्थ घरमा बिताएकोे समयबाट भएका उपलव्धिलाई पाठ्यक्रमको संरचनाअनुसार मापन र स्तरीकरण गर्ने दायित्व शिक्षकबाट वहन गर्ने प्रवन्ध गर्न आवश्यक छ। यसका लागि पनि हरेक शिक्षक विद्यालयमा उपस्थित हुने र विद्यार्थीसँग सम्पर्कमा रहने अवस्था बन्नु पर्दछ ।

यसैगरी शैक्षिक सत्र नै परिवर्तन गरी साउन १ गतेबाट कायम गर्न पनि सकिन्छ। तर यस विषयमा गम्भीर बहस आवश्यक हुन्छ। यदि साउन १ गतेबाट कायम गर्ने हो भने छुटेको समय बैशाखभन्दा ३ महिना कम हुन जान्छ। यसलाई परिपूर्ति हुने गरी व्यवस्थापन गर्न केही विदाहरु कटौती गर्न सकिन्छ।

जस्तैः दशै विदा १ हप्तामात्र गर्ने र तिहार विदा ३ दिनमात्र गर्न सकिन्छ। ३ पटकका परीक्षा तयारी विदाहरु कटौती गरी १५ दिन बचत गर्न सकिन्छ । अथवा हरेक शुक्रबार पनि थप १ पिरियड शिक्षण गरी १ महिनाको परिपूर्ति गर्न सकिन्छ।

जे भए पनि अहिले धेरैको अपेक्षा चाँडै आवश्यक निर्णय सुन्ने रहेको देखिन्छ। तर पनि यो त्यति सहज भने छैन। अन्तमा यो कठिन अवस्थामा भने सिकारु, व्यवस्थापक, प्रेरक र निणयकर्ता सबै भूमिकामा रहने व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने अवसर बन्न सक्नु पर्दछ।

source-dcnepal.com