- Loading...
कोरोना समुदायतिर लम्किँदै !
- पुनहिल डट कम
- ४ साल अघि
- १८९ पटक पढिएको

शेरबहादुर पुन
बितेका केही सातायता सबैको मनमा एउटै प्रश्न थियो, ‘कोरोना समुदाय स्तरमा पुग्यो कि पुगेन ?’ अधिकांश जनस्वास्थ विज्ञहरु कोरोना भाइरस समुदायस्तरमा पुगेकोमा विश्वास गर्दछन्, तर नेपाल सरकार भने समुदायस्तरमा कोरोना पुगी नसकेको अडान लिँदै आइरहेको छ ।
केही समय अगाडि यो पंक्तिकार एक छलफल कार्यक्रममा सहभागी हुँदा विश्व स्वास्थ संगठनको प्रतिनिधिले कोरोना व्यापक रुपमा समुदायस्तरमा नपुगेको तर ‘लोकल कम्युनिटी ट्रान्समिसन’ अर्थात् ‘स्थानीयस्तरमा समुदायमा देखिएको’ भन्ने जानकारी गराएका थिए । यसको अर्थ ठूलो वा सानो स्तरमा होस्, कोरोना समुदायमा पुगिसकेको छ भन्ने अर्थमा बुझ्न सकिन्छ।
विश्व स्वास्थ संगठनले संक्रमणको स्रोत पत्ता नलाग्नु वा मान्यता प्राप्त प्रयोगशालाहरुमा अकस्मात उच्च संख्यामा कोरोना भाइरस प्रमाणित हुँदै गएको अवस्थामा समुदायस्तरको संक्रमण भनेर व्याख्या गरेको छ । तर कुनै निश्चित संख्या भने तोकिएको छैन र यसले गर्दा व्याख्या पनि आ-आफ्नै तरिकाले गर्ने गरेको पाइन्छ । हाल काठमाडौंमा भेटिएका कोरोना संक्रमितमध्ये धेरैलाई आफू को र कहाँबाट संक्रमित भएको भन्ने यकिन नभएको देखिन्छ। उपत्यकामा फेला परेका अधिकांश संक्रमितहरु आयातित भएको तथ्यांकले देखाएको पनि यहीँ बसोबास गरिरहेकाहरुमा पनि संक्रमण बढ्दै गएको देखिन्छ । नेपालको केही सहरहरु विशेषत: भारतसँग सीमा जोडिएका वीरगन्ज, विराटनगर, नेपालगन्ज, कपिलवस्तु लगायतमा कोरोना संक्रमितको संख्या अत्यधिक बढेको मात्र होइन स्रोत समेत थाहा नहुन गरेको देखिन्छ । अर्थात् विश्व स्वास्थ संगठनको परिभाषा अनुसार त्यहाँ कोरोना समुदायस्तरतर्फ उन्मुख भएको भन्ने बुझिन्छ । त्यहाँ सर्वसाधारण मात्र होइन, स्वयं स्वस्थाकर्मीहरु पनि संक्रमित हुने तर स्रोत थाहा नपाउने गरेका देखिन्छ।
केही समय अगाडि नेपालमा देखिएका कोरोना संक्रमितहरुमा लगभग सबैमा लक्षणविहिन थिए । तथ्यांक हेर्दा करिब उनान्सय प्रतिशतमा नै लक्षण देखिने गरेको थिएन । उनीहरु आइसोलेसन रहँदा योग गर्ने, नाच्ने, गीत गाउने गरेकाे देखिन्थे । तर केही सातायता कोरोना पुष्टि भएका अधिकांशमा लक्षणहरु देखिन थालेको छ । हुनत सबै लक्षण कोभिड-१९ सँग मिल्दोजुल्दो हुँदैमा कोरोना भाइरसको संक्रमण भन्न सकिने अवस्था छैन । यो फ्लू भाइरस सक्रिय हुने मौसम पनि हो । त्यसकारण फ्लूसँग लक्षण मिलेकै कारण गलत उपचार हुने वा उपचार नै नहुने कारणले पनि बिरामीको मृत्यु नहोस् भन्ने हो । अथवा कोभिड-१९ र फ्लूसँगै नहोला पनि भन्न सकिँदैन। वुहान सहरमा पहिलो पटक कोभिड-१९ देखिँदा चिसो महिना थियो र त्यहाँ दुवै भाइरस कोभिड-१९ र फ्लूसँगै देखिएको थियो । यस्तो अवस्थामा संक्रमितमा रोग थप कडा हुने र मृत्यु पनि बढी हुने अनुसन्धानहरुले देखाएका छन् । यस्तो अवस्थामा कोरोना भाइरस समुदायतिर लम्कने सम्भावना अरु तीव्र भएर जानेछ।
लक्षणसहितको कोरोना भाइरस समुदायमा फैलिए स्थिति अकल्पनीय हुने छ । सो अवस्था सिर्जना भए हाल उपलब्ध अस्पताल, शय्या, जनशक्ति र स्रोत साधन अपुग हुने निश्चित प्राय देखिन्छ । लक्षण देखिनु भनेको अस्पताल भर्ना हुनु हो, अस्पताल भर्ना हुनु भनेको आईसीयू पुग्ने सम्भावना बढ्नु हो, आईसीयू पुग्नु भनेको भेन्टिलेटरसम्म पुग्ने सम्भावना बढ्नु हो, र भेन्टिलेटर सम्म पुगेपछि बिरामी सामान्य अवस्थामा फर्कने सम्भावना कम हुनेछ । यसरी हेर्दा लक्षणसहितको कोरोना तिब्र गतिमा फैलिने र धेरैलाई अस्पताल भर्ना गराउँदा मानवीय क्षति बढ्ने जोखिम बढी हुनेछ।
हुनत, यो लेख तयार पार्दासम्म कोरोना समुदायमा पुगे नपुगेको टुंगो लागेको छैन । यसको लागि समुदायमा सेरोलोजिकल टेस्ट गरेर निर्क्यौल गर्ने मनसाय सम्बन्धित निकायले लिएको देखिन्छ । यसले कोरोना भाइरस समुदायमा फैलिसकेको छ वा फैलन बाँकी छ भन्ने आंकडा दिनेछ । फैलिसकेको अवस्था हो भने लक्षणविहिन कोरोनाले संक्रमित गरिसकेको अनुमान गर्न सकिने छ । तर सेरोलोजी टेस्ट हाल स्थगित भएको भएपनि पीसीआरसँगै सुरुआतीको केही समयसम्म हजारौंको संख्यामा गरिएको थियो । नेपाल स्वास्थ अनुसन्धान परिषदले सो किटको संक्रमण पत्ता लगाउने क्षमता कम हुने भनेर देखाएको बताएपनि कति जनालाई (कति हजारलाई) पोजिटिभ देखायो भनेर सार्वजनिक भने गरेन । नतिजा थाहा भएको भए केही हदसम्म समुदायमा कोरोनाको प्रभावको बारेमा आँकडा तय गर्न सकिने थियो ।
तीन महिना अगाडि काठमाडौंको चन्द्रागिरि नगरपालिकाको कर्मचारीमा सो किटबाट(आरडीटी) सेरोलोजी टेस्ट गर्दा ६५ जनामा पोजिटिभ देखाएको थियो । त्यस्तै, सोही महिनातिर काठमाडौं महानगरपालिकाको फोहोर–मैला व्यवस्थापनमा खटिएका ३१ कर्मचारीहरुमा पनि आरडीटी सेरोलोजी टेस्ट पोजिटिभ देखिएको थियो । सोही समयतिर किर्तिपुर नगपालिकाका केहि जनप्रतिनिधि र कर्मचारीमा पनि आरडीटी सेरोलोजी टेस्ट पोजिटिभ देखिएको थियो । तर ती टेस्टहरुको नतिजाको विश्लेषण भने त्योबेला गरिएन । यी सबै आरडीटी सेरोलोजी टेस्टहरुको नतिजाले काठमाडौं खाल्डोमा कतै तीन महिना अगाडि नै कोरोना समुदायस्तरमा पुगिसकेको त थिएन भन्ने प्रश्न खडा गरिदिएको छ । नेपालमा केही समय अगाडि प्रयोग भएका सेरोलोजी टेस्ट (आरडीटी) ले विगतमा कोरोना संक्रमित थियो कि थिएन भनेर देखाउने किट थियो।
एक महिना अगाडि काठमाडौंमा समुदाय स्तरमा पीसीआर परीक्षण गर्दा तीन जनामा पोजिटिभ देखिएको थियो । यो राम्रो संकेत थियो । तर लकडाउन खोल्नु र सार्वजनिक यातयात सुचारु भए पश्चात काठमाडौं बाहिर विशेषत: नेपालको कोरोना हटस्पट भनिएका ठाउँ तथा भारतबाट अत्यधिक मात्रामा मानिसको ओइरो लागेपछि कोरोनाको वास्तविक अवस्था थाहा भएको भने देखिँदैन । हाल काठमाडौंको विभिन्न ठाउँहरुबाट कोरोना संक्रमित पत्ता लाग्ने क्रम जारी छ जुन केही हप्ता अगाडिको भन्दा अस्वाभाविक वृद्धि भएको मान्न सकिन्छ । यीमध्ये धेरैलाई संक्रमणको स्रोत थाहा भएको देखिँदैन । अस्वाभाविक कोरोना संक्रमितको वृद्धि र संक्रमणको स्रोत थाहा नहुँदा विश्व स्वास्थ संगठनको परिभाषा अनुसार समुदायस्तर तिर गएको देखिन्छ।
हालको तथ्यांकहरु केलाएर हेर्ने हो भने संक्रमितहरुको ग्राफ उकालो लाग्दै गरेको देखिन्छ । यसलाई हामीले संक्रमण बिस्तारै समुदायतिर सिफ्ट हुँदै गएको संकेतको रुपमा लिन सक्छौं । योभन्दा अगाडि विशेषत युवा उमेरकाहरु बढी संक्रमित हुने गरेका थिए र अहिले पनि छन् । युवाहरु रोजगारीको कारणले विदेश गएर संक्रमित हुने बढी थिए र तसर्थ केही समय अगाडिको तथ्यांकले नेपालको अधिकांश कोरोना आयातित हुने गरेको भन्ने थियो । वृद्ध-वृद्धाहरु घर बाहिर कम निकल्ने हुँदा संक्रमित हुने सम्भावना कम हुनुपर्ने हुन्छ तर, कोरोना कुनै मध्यमबाट घर घर पुग्नु भनेको समुदायमास्तर तिर गइरहेको भनेर बुझ्न सकिन्छ ।
कोरोना समुदायमा पुगिसकेको थियो, पुग्दैछ अथवा पुगेको छैन भन्ने प्रश्न अहिले सबैभन्दा बहस, चासो र महत्त्वपूर्ण विषय भएको देखिन्छ । किनभने, यी तिनै प्रश्नको सम्पर्क आगामी दिनमा बन्ने योजना/ रणनीति र त्यसको कर्यान्वयनसँग सिधा सम्बन्धित छ । कोरोना यदि समुदाय स्तरसम्म पुगिसकेको थियो भने सायद धेरैको लागि राहत हुन सक्दछ । तर बाँकी दुइ प्रश्नहरुको सम्बोधन नभएसम्म भने सर्वसाधारणहरुबीच त्रासको वातावरणले निरन्तरता पाउनेछ । खोप र प्रभावकारी औषधि हालसम्म उपलब्ध नभएकोले कोरोना समुदायस्तरमा पुगेको भएपनि जनस्वास्थका मापदण्डहरुलाई सुन्ने, पढ्ने र हेर्ने मात्र नगरी व्यवहारमा नै लागु गर्नुपर्ने जरुरी देखिन्छ । अनि मात्र कोरोनाको फैलन क्रमलाई हदैसम्म न्यून गर्न सकिनेछ।
https://ekantipur.com/bibidha/2020/08/21/159800266817374896.html

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
