आज:  | Fri, 25, Sep, 2020

प्राङ्गारिक खेती, अर्गानिक तरकारी

३२ श्रावण २०७७, आईतवार १३:५० मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

बजारसम्म सडकको पहुँच पुगेपछि यहाँका शुरु गरिएको प्राङ्गारिक खेतीले जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । बर्खाको हिलाम्मे सडकमा पनि ग्रामिण वस्तीबाट ट्याक्टरले आलु, बन्दा, जंगली तरकारी ढौढे (निगुरो प्रजाति), खोलेसाग दैनिक ओसार्ने गरेका छन ।
‘सडक खनेपछि बर्खाको हिलाम्मे सडकमा पनि ट्याक्टरमा राखेर भएपनि गाउँको तरकारी बजार पुगेको छ । खोल्साखाल्सीमा खेर गैरहेको डौडे, निगुरो, सिस्नु, खोलेसाग, ढकालाये सवै तरकारीले मुल्य पाएको छ’ अन्नपूर्ण गाउँपालिका, १ दोवाका पृथबहादुर गर्वुजाले भने, ‘लेकको तरकारी बजार पुर्‍याई बजारबाट दैनिक उपभोग्य बस्तु सस्तो मुल्यमा दैलोमा आईपुग्छ ।’
लेकाली बस्तीमा सडक पुगेपछि उत्पादन भएका आलु, बन्दा, काउली, टमाटर समेतका तरकारी विक्रिगरी हात–हातमै पैसा आएको छ । मोटरबाटो दैलोमा पुगेपछि अन्नपूर्ण गाउँपालिकाका दोवा, शिख, खिवाङ्ग, हिस्तान, घराम्दी, राम्चेवासीले बढी लाभ लिएका छन ।
‘गलेश्वरमा बेलिव्रिज बनेपछि साउनमहिनाभरी रोकिएको लेकको आलु बजार आउन थालेको छ’ क्याम्पसचोकका ब्यापारी देव श्रेष्ठले भने, ‘तर यस बर्ष अधिक बर्षाले गर्दा कृषकले समयमै वारीबाट थन्क्याउन पाएनन, बजार ल्याउन पनि दिनै पहिरोले सडक अवरुद्ध बनाउने हुँदा हैरानी भएको छ ।’
अन्नपूर्ण गाउँपालिकामा मात्र होईन जिल्लाका अन्य ग्रामिण भेगमा पनि ब्यवसायीक अर्गानिक तरकारी खेतीले राम्रो प्रतिफल दिन थालेको छ । गाउँका फाँटमा प्लास्टिकका घर बनेका छन । एक प्रकारका प्लाष्टिक गाउँ । ति घरभित्र लटरम्म फलेका छन, टमाटर । बारीमा काउली, बन्दा, खुर्सानी लगाएतका तरकारी फस्टाएको छ ।
‘रैथाने वीउ प्रयोग गरिएकोले तरकारीमा कुनै पनि रासायनिक मल र औषधीहरु प्रयोग गरेका छैनौं । परम्परागत खेती प्रणालीमा थोरै सुधार मात्र गरेका छौं । खुल्ला खेती गथ्र्यौ अहिले बेमौषममा प्लाष्टिक घरभीत्र खेती गर्न सिक्यौं’ हिस्तानका अगुवा कृषक टेकबहादुर गर्वुजाले भने, ‘संस्थागत रुपमा स्थानिय विद्यालय र विदेशमा रहेका आफन्तहरुले समेत गाउँमा तरकारी शुरु गरेका छन ।’
स्थानिय टिकोट माध्यामिक विद्यालयले समेत बर्षौदेखी बाँझो भै खेर गैरहेको जग्गा भाडामा लिएरु आलु खेती गर्‍यो । बेलायतमा रहेका लाहुरेहरु समेत ब्यवसायीक तरकारी खेती गर्न तम्सेका छन ।
यहाँको मुख्य कृषी उत्पादन आलु हो । विषादी रहित तथा स्वादिलो हुने भएकोले बेनी, बाग्लुङ्ग, पोखरा र काठमाण्डौसम्मका शहरमा लेकाली आलुको माग बढेको हो । जिल्लाको नौ सय ८१ हेक्टर क्षेत्रफलमा गरिएको टमाटर खेतीबाट १० हजार तीन सय १२ मेट्रिक टन उत्पादन हुन्छ । भने एक हजार छ सय ५ हेक्टर क्षेत्रफलमा १६ हजार चार सय ५१ मे.टन आलु खेती हुने गरेको छ ।