- Loading...
एकै दिन १० कोरोना संक्रमितको मृत्यु पुष्टि
- पुनहिल डट कम
- ४ साल अघि
- १३७ पटक पढिएको

कोभिड–१९ संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ । आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ८९ पुगेको छ ।
कोभिड–१९ संक्रमणले पाटन अस्पतालमा मृत्यु भएकालाई बुधबार पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाहगृहमा अन्त्येष्टिअघि श्रद्धाञ्जली अर्पण गर्दै नेपाली सेनाका जवान ।
मोरङ, बारा र धनुषाका दुई–दुई जना तथा काठमाडौं, कपिलवस्तु, महोत्तरी र धादिङका एक–एक जनाको मृत्यु भएको हो । तीमध्ये पाँच जना राजधानीका अस्पतालमा उपचाररत थिए । ‘एक दिनमा हालसम्मकै सबैभन्दा बढी मृत्यु पुष्टि बुधबार भयो,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । काठमाडौं उपत्यकामा दिनमा सयभन्दा बढी संक्रमित थपिइरहेका छन् । बुधबार मात्र १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ सय ९, ललितपुरमा २१ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । मुलुकभर भने ४ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । सहप्रवक्ता डा. अधिकारीले गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा जाने क्रम एक सातायता बढेको बताए । ‘हामी क्रिटिकल स्टेजमा छौं,’ उनले भने । उनका अनुसार संक्रमितमध्ये प्रदेश २ मा ४३ जना, वाग्मती प्रदेशमा ३८ जना, प्रदेश ५ मा ५ जना र गण्डकी प्रदेशमा १ जना आईसीयूमा छन् । यस्तै वाग्मतीमा २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
सहप्रवक्ता डा. अधिकारीले जटिल कोभिड–१९ संक्रमितको संख्या वृद्घिले मुलुकको घनाबस्ती भएका ठाउँमा समूहगत संक्रमण व्यापक हुँदै गइरहेको देखाएको बताए । उपत्यकामा संक्रमितको चाप बढ्दै गएपछि अस्पतालमा आइसोलेसन शय्या अभाव हुन थालेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले संक्रमण व्यापक फैलिएकाले आगामी दिनमा मृत्युदर र जटिल बिरामी झन् बढ्ने बताए ।
‘पछिल्लो समय कोरोना संक्रमितहरूको एक्कासि मृत्यु हुने अवस्था देखिनु खतराको संकेत हो,’ उनले भने । सरकारले नयाँ रणनीति बनाएर गम्भीर संक्रमितले सहज उपचार पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार बिहान काठमाडौं महानगरपालिका–१२, टेकु निवासी ७८ वर्षीया एक महिलाको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । झाडापखाला र ज्वरोको समस्या भएकी ती महिलालाई पाटन अस्पतालको फिभर क्लिनिकबाट रेफर गरेर साउन २६ गते किस्टमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप, मधुमेह, हाइपोथाइराडिज्म, सेप्टिक शकसँगै मिर्गौलासम्बन्धी रोगबाट ग्रस्त थिइन् ।
जनकपुर (धनुषा) का पूर्वमेयर ७३ वर्षीय कृष्ण गिरीको कोराना संक्रमणका कारण मंगलबार राति सवा १२ बजेतिर मृत्यु भएको छ । १५ दिनअघि संक्रमण पुष्टि भएपछि उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरीलाई विमान चार्टर गरेर काठमाडौं ल्याइएको थियो ।
यसैगरी साउन १८ मा संक्रमण पुष्टि भएकी जनकपुर–८ की ३८ वर्षीया महिलाको पाटन अस्पतालमा बुधबार उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको किस्ट मेडिकल कलेजमा बुधबार मृत्यु भएको छ । सोमबार भर्ना भएका उनी मिर्गौला र दमका पनि बिरामी थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको पनि बुधबारै कोरोना संक्रमणबाट मृत्यु भएको छ । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि उनी कोसी अस्पताल गएका थिए । त्यहाँबाट साउन २६ गते प्रतिष्ठानमा रेफर गरिएको थियो । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले कोरोना पोजिटिभ देखिएपछि उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डको आईसीयूमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको बताए ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि बुधबार एक संक्रमितको मृत्यु भएको छ । अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार साउन २५ गते भर्ना भएका कपिलवस्तु–२, तौलिहवाका ४२ वर्षीय पुरुषको संक्रमणले मृत्यु भएको हो । बुधबारै मृत्यु भएका कपिलवस्तु–१३, कृष्णनगरका २५ वर्षीय युवकको भने पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । दुवै जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । दुवैमा श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण थिए ।
कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–५ का ५७ वर्षीय पुरुषको पनि बुधबारै मृत्यु भएको छ । उनी नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक थिए । दमका समेत रोगी रहेका उनलाई सोमबार कोरोना पोजिटिभ देखिएको थियो ।
वीरगन्ज महानगरपालिका–१६ नगवाको सामुदायिक प्रहरी चौकी नजिकै मंगलबार दिउँसो मृत फेला परेका बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा बुधबार कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार ती युवकले अत्यधिक मदिरा सेवन गरेको पाइएको छ । शंका लागेर उनको मंगलबार स्वाब संकलन गरिएको थियो ।
ज्वरो आएर राजधानीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ का ३९ वर्षीय युवकमा पनि बुधबार कोरोना पुष्टि भएको छ । निमोनियाका क्रोनिक बिरामी उनी गत आइतबार उच्च ज्वरो आएपछि जिल्ला अस्पताल गएका थिए । धादिङ अस्पतालले भोलिपल्ट काठमाडौं रेफर गरेपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले १ लाख ९० हजारको बिल भुक्तानी नगरेसम्म शव र पोस्टमार्टम रिपोर्ट नदिएको मृतकका आफन्तको आरोप छ । ‘हामीलाई शव पनि हेर्न दिइएन । शव व्यवस्थापनका लागि अस्पतालले नेपाली सेनालाई बोलाएपछि शंका लाग्यो,’ मृतकका आफन्त अक्कलबहादुर तामाङले भने, ‘सरसापटी गरेर रकम तिरेपछि बुधबार दिउँसो २ बजे मात्रै रिपोर्ट दिइयो ।’ होटल व्यवसायी र चालकसमेत रहेका ती युवक लकडाउन खुकुलो भएपछि सदरमुकामदेखि धूवाँकोटसम्म यात्रु बोक्थे ।
यस्तै, उपचारका क्रममा सोमबार राति मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिकाका ६ का ५२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । फोक्सो र मधुमेहका बिरामी उनी आइतबार जनकपुरस्थित रामजानकी अस्पताल भर्ना भएका थिए । भोलिपल्ट मंगलबार शव गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि राति रिपोर्ट पोजेटिभ आएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले मृतकको अन्तिम संस्कारमा सहभागी र अन्यको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिए । ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
