FLASH NEWS
  • Loading...

गाईमा नयाँ भाइरस सङ्क्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१७ पटक पढिएको
गाईमा नयाँ भाइरस सङ्क्रमण

चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ ।

गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् । लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्कने) जस्तै देखिने रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए । सुरुमा राप्ती नगरपालिकामा देखिएको सो रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको बताए ।अहिले खैरहनी र रत्ननगर नगरपालिकाका किसानले पालेका गाईमा पनि यो रोग देखिएको छ ।

यो भाइरसबाट लाग्ने रोग हो । रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईले बताए । उनले  भने , “असारको अन्तिम सातादेखि रोग देखापरेको हो, स्थानीय तहका प्राविधिकसहितको टोलीले किसानको घरदैलो पुगेर रोग नियन्त्रण र रोकथामका उपायबारे छलफल र सल्लाहा प्रदान गरेका छौँ ।”

कार्यालयले रोगबाट सङ्क्रमित घरधुरी र गाईको सङ्ख्यासहित पशु सेवा विभाग र प्रदेश मन्त्रालय तथा प्रदेश निर्देशनालयमा पत्र पठाइसकेको बताए । कृषि मन्त्रालयसमक्ष आवश्यक औषधिको मागसमेत गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश निर्देशनालयले औषधि खरिद गर्न लागेकाले एक÷दुई दिनमै औषधि आपूर्ति हुने कार्यालयले जनाएको छ ।

केही स्थानीय तहले पोटासलगायत रोग नियन्त्रणका लागि औषधि वितरण गरेका छन् । चापागाईंका अनुसार यो नेपालका लागि नयाँ रोग हो । यसको परीक्षण र उपचार विधि नेपालमा छैन ।

रोगका लक्षण

राप्ती नगरपालिका–८ बडराकी किसान हरिमाया अर्यालले पालेको गाईमा शुरुमा समस्या देखिएको थियो । “गाईको शरीरभरि घाउ आएको छ”, उहाँले भन्नुभयो, “राम्रो जातको गाई थियो, अहिले हड्डी र छालामात्र देखिन्छ ।” कातिमा ब्याएको गाईले दैनिक १४÷१५ लिटर दूध घटाएर तीनदेखि चार लिटरमात्र दिन थालेको बताए ।

गाईलाई उठ्न र बस्नसमेत समस्या भएको छ । प्राविधिकले हेरेर शुरुमा केही औषधि खुवाए पनि रोगको निदान नभएको बताए ।

यो रोग लाग्ने गाईमा शुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बिमिरा उठ्ने, रगत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेको छ । प्राविधिकले लक्षणका आधारमा उपचार भइरहेको जनाए ।

पोटासले शरीर धुने, घाउ भएको ठाउँमा बेटालिन दल्ने, मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने र बिरामी गाईलाई अलग्गै राख्न किसानलाई सुझाव दिएको राप्ती नगरपालिकाका पशु शाखाप्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए  । नगरका अधिकांश किसानका गाईको नमूना सङ्कलन गरिएको छ ।

यो रोग धेरै क्षेत्रमा बढ्नसक्ने भन्दै सचेत रहन किसानलाई आग्रह गरिएको बताए । चितवन दुग्ध उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ । रासस