भारतमा कोरोना भयावह बन्दै, २४ घण्टाभित्र ३९ हजार नयाँ थपिए

४ श्रावण २०७७, आईतवार १९:२० मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९ सय २ व्यक्ति कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।
योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १० लाख ७७ हजार ६ सय १८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५ सय ४३ को मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८ सय १६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
भारतमा आइतबारसम्म निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६ लाख ७७ हजार ४ सय २३ पुगेको छ भने अझै ३ लाख ७३ हजार ३ सय ७९ व्यक्ति सङ्क्रमित रहेका छन् ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा आइतबारसम्म ३ लाख ९ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि १ करोड ३४ लाख ३३ हजार ७ सय ४२ नमुना परीक्षण गरिएको छ ।