- Loading...
प्रधानमन्त्री ओलीलाई हटाउने दाहालका १० प्रयास !
- पुनहिल डट कम
- ४ साल अघि
- १९८ पटक पढिएको

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भयो। नयाँ पार्टी बन्यो– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)। पार्टीमा दुई अध्यक्ष तोकिए– प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नै एमाले र माओवादीबीच चुनावी तालमेल भएको थियो। तालमेल गर्दाकै बखत दुई पार्टीलाई छिट्टै एकीकरण गरिने भनिएको थियो र भयो पनि। पार्टी एकीकरण त भयो तर दुई अध्यक्षको मन भने एक भइरहन सकेन। जसको परिणाम नेकपाले भोग्दै आइरहेको छ, जुन अहिले उत्कर्षमा पुगेको छ।
पार्टी एकीकरण भएको दुई वर्ष बितिसकेको छ, यो बीचमा दुई अध्यक्षबीच थुप्रै पटक मनमुटाव भएका छन्। धेरै पटक दुरी बढेको छ। यो अवधिमा अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई सरकार तथा पार्टीको जिम्मेवारीबाट हटाउने थुप्रै प्रयास गरे, तर हालसम्म सफल हुन सकेका छैनन्। अहिले पनि यो लडाइँ जारी छ।
पहिलो प्रयास
दाहालले ओलीलाई कमजोर बनाउने पहिलो प्रयास २०७५ भदौ २० गते गरेका थिए। प्रधानमन्त्री ओली भारत भ्रमणमा रहेका बेला दाहालले केही पत्रकारहरूलाई बोलाई सरकारप्रति अनन्तुष्टि जनाउँदै मन्त्रिपरिषद्को पुनर्गठन गर्ने बताएका थिए।
“मन्त्रीहरूका समबन्धमा केही कदम चाल्नुपर्छ। एउटा पक्षकोलाई छुँदा अर्को पक्षकोलाई नछुने गर्नु हुँदैन। जोसुकै पक्षको भए पनि निकाल्नुपर्छ,” दाहालले त्यतिबेला पत्रकारहरुसँग भनेका थिए।
भारतबाट फर्केपछि ओलीले यसको खण्डन गरे। “मन्त्रीहरु निकालिँदैछन् भन्दैछन्। मन्त्रीहरूले त राम्रो काम गर्नु भएको छ। यहाँ त भदौमा चर्को घाम लाग्यो भन्नेहरू पनि छन्,” दाहालको भनाई ओलीले यसरी खण्डन गरेका थिए।
प्रधानमन्त्री भारत भ्रमणमा रहेकै बेला दाहालले भारतीय मिडिया द प्रिन्टलाई अन्तरवार्ता दिएका थिए। अन्तरवार्तामा उनले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका थिए।
दोस्रो प्रयास
दाहालले २०७५ असोजमा बामदेव गौतमलाई उपनिर्वाचनमा उठाउने र प्रधानमन्त्रीको उम्मेदवारका रुपमा खडा गर्ने योजना बनाए। यसको लागि काठमाडौं निर्वाचन क्षेत्र नं.७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले पार्टीमा राजीनामा पत्र समेत बुझाए। यसको बाहिर व्यापक आलोचना र विरोध भयो। २०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई काठमाडौंबाट उपनिर्वाचनमा उठाउने दाहालको प्रयास सफल हुन सकेन। अन्तत: दाहाल यो योजनाबाट पछि हटे।
तेस्रो प्रयास
दाहालले ओलीलाई कमजोर पार्ने तेस्रो प्रयास २०७५ पुस र माघमा गरे जतिबेला ओली स्वीट्जरल्याण्डको भ्रमणमा थिए। ओली स्वीट्जरल्यान्डको डावोसमा रहँदा ललितपुरको अपार्टमेन्टमा सचिवालयका पाँच जना नेता बसेर गठबन्धन निर्माणको सन्देश दाहालले दिएका थिए।
ओली स्वीट्जरल्याण्डमा रहँदा नै दाहालले २०७५ माघ ११ गते भेनेजुएलाका सम्बन्धमा विवादित वक्तव्य जारी गरे। दाहालले नेकपाको लेटर प्याडमा उक्त विज्ञप्ति निकालेका थिए, जहाँ उनकै हस्ताक्षर समेत थियो। अमेरिकाले भेनेजुयलाको आन्तरिक मामिलामा हस्ताक्षेप गरेको भन्दै दाहालले विज्ञप्तिमा कडा शब्दमा आपत्ति जनाएका थिए। यो विज्ञप्ति निकै आलोचित बन्यो। पछि ओलीले उक्त विज्ञप्तिमा दाहाल ‘चिप्लिएको’ भन्दै मिलाउने प्रयास गरे।
चौथो प्रयास
दाहालले २०७६ जेठ १५ गते पत्रकार ऋषि धमलासँग अन्तरर्वार्ता दिंदै अर्का अध्यक्ष ओली समक्ष आलोपालो सरकार चलाउने सहमतिलाई उठाए। उनले दुई अध्यक्षबीच आलोपालो सरकार चलाउने सहमति भएको फेरी दोहोर्याए। २०७५ जेठ २ गते तत्कालीन एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष दाहालबीच भएको सहमति पत्रको चौथो बुँदामा समानता र समान अवधिका आधारमा नेतृत्व गर्ने उल्लेख थियो। यसैलाई आधार बनाएर दाहालले आलोपालोको कुरा उठाएका थिए।
पाँचौ प्रयास
२०७६ भदौ ९ गते ओली उपचारार्थ सिंगापुरमा रहेका बेला दाहालले सचिवालय बैठक बोलाएर ४ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरे। पार्टी प्रवेश गरेका चार नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली थिए।
छैठौं प्रयास
२०७६ भदौमा दाहाल र माधव नेपालबीच ओलीलाई पूरा कार्यकाल सरकार चलाउन नदिने सहमति भयो। आलोपालोलाई कार्यान्वयन गराउन दुवै सहमत भए। दाहाल र नेपालबीच एक अर्काको निवासका जाने क्रम बढ्यो।
सातौं प्रयास
२०७६ मंसिर २ गते नेपाल र दाहालबीच ४५ मिनेट भेटवार्ता भयो। भेटवार्ता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउने विषयमा केन्द्रित थियो। छलफल खुमलटारस्थित दाहाल निवासमा भएको थियो। ओली र दाहालबीच धेरै तिक्तता बढेपछि २०७६ मंसिर ४ गते सचिवालय बैठकले आलोपालो सहमति खारेज गर्ने निर्णय गर्यो र कार्यकारी अध्यक्षको जिम्मेवारी दाहाललाई दियो। प्रधानमन्त्री ओली सरकारको कामकाजमा केन्द्रित हुने र दाहाल पार्टीमा केन्द्रित हुने लिखित सहमती नै भयो।
आठौं प्रयास
प्रधानमन्त्री ओलीलाई गलाउने आठौं प्रयास दाहालले २०७६ पुस २३ गतेबाट थाले, जहाँबाट भैँसेपाटी गठबन्धनको शुरूआत भयो। उक्त दिन नेकपा सचिवालयका ९ मध्ये बहुमत सदस्य भैसेपाटीस्थित बामदेव गौतमको घरमा जम्मा भएका थिए। सबैको लक्ष्य एउटै थियो– ओलीलाई दुवै पदबाट हटाउने। त्यसपछि यो गठबन्धनले नेकपाका धेरै बैठक र निर्णहरू प्रभावित गरेको छ।
यही गठबन्धनका कारण अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सभामुख छनोट लगायतका मुद्दामा ओलीलाई कमजोर देखाइएको छ। यही गठबन्धनले बामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाउने रणनीति बनायो। तर यसको लागि संविधान सशंधोन गर्नुपर्ने थियो।
संविधान संशोधनको लागि माधव नेपालको संयोजकत्वमा खिमलाल देवकोटा र सुवास नेम्वाङ सदस्य रहेको एक कार्यदल गठन समेत गरियो। यो कुरा बाहिर आएपछि यसको व्यापक आलोचना भयो। नेम्वाङले आफू सदस्य रहेको थाहा नभएको समेत बताए। अन्ततः यो कार्यदल काम शुरू नगर्दै २०७६ फागुन १४ गते विघटन भयो।
नवौं प्रयास
२०७७ वैशाख १५ गते ओलीलाई प्रधानमन्त्रीबाट हटाउन दाहालले हस्ताक्षर अभियान शुरु गरे। यो थाहा पाएपछि ओली पक्षले पनि हस्ताक्षर संकलन सुरु गर्यो। दाहालको समूहबाट नेता हरिबोल गजुरेलले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने भन्दै हस्ताक्षर अभियान चलाएका थिए। २०७७ वैशाख १७ गते स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागियो। वैशाख १८ गते भैसेंपाटीमा दाहालसहित सात नेताहरूको बैठक बस्यो। वैशाख २० गते ओली र दाहालबीच युद्ध विरामको सहमति भयो। दुवै नेता पछि हटे।
दशौं प्रयास
ओलीलाई दुवै पदबाट हटाउने दाहालको दशौं प्रयास अहिले चलिरहेको छ। २०७७ असार १० गते नेकपा स्थायी कमिटीको बैठक शुरू भएको थियो। असार १६ को बैठकमा दाहालले दुवै पदबाट राजीनामा गर्न ओलीलाई भने। त्यसपछि दुई अध्यक्षबीच झन् दुरी बढ्यो।
दाहाल स्थायी कमिटिबाट ओलीलाई दुवै पदबाट हटाउने निर्णय गर्ने तयारीमा लागे। असार १७ गते दाहालले झम्सीखेलमा ३० जना स्थायी सदस्यको भेला गरे।
असार १८ पछि नेकपा स्थायी कमिटि बैठक बस्न सकेको छैन। यो बीचमा संसदको बजेट अधिवेसन अन्त समेत गरियो। अहिले दुवै अध्यक्ष दिनहुँ जस्तो एक्लाएक्लै वार्ता गरिरहेका छन्। तर निस्कर्षमा पुगेका छैनन्। source – www.dekhapadi.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
