FLASH NEWS
  • Loading...

म्याग्दीको अर्मनमा पहिरो रुग्न हेरालु , वस्ती उच्च जोखिममा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३४ पटक पढिएको
म्याग्दीको अर्मनमा पहिरो रुग्न हेरालु , वस्ती उच्च जोखिममा

तस्वीर सौजन्य : किरण कुँवर, डिएसपी, जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।

म्याग्दीखोलाको दक्षिण डाँडामा अवस्थित छ, अर्मन । वस्तीको शिरानमा रहेको किमचौरको भीर धजा परेर फाट्दै खस्न सुरु गरेपछि यहाका ३२ घर परिवारका १ सय ५० जना वर्षायामसँगै त्रासले रात राम्ररी निदाउन पाएका छैनन ।
पहिरो झर्ने त्रासमा रहेका स्थानीयले २४ सै घन्टा पालो लगाएर पहिरो खस्ने स्थानमा हेरालु बस्ने गरेका छन । वस्तीलाई सुरषित स्थानमा स्थानन्त्रण नहुँदा सम्म पहिरो खस्ने लक्षण देखिन थाले हेरालुले माथीबाट सिटी फुक्ने, ड्रम बजाउने समेतका तरिका अपनाईएको छ ।
‘स–साना ढुङ्गा त दैनिक खस्छन । मुख्य जोखिम मानिएको ठूलो ढुङ्गो कहिले खस्ने हो त्यै डर छ । पहिरोको खस्ने लक्षण हेर्न दैनिक ३–३ जनाको पालो लगाएर पहिरो नजिकै सुरक्षित स्थानमा कुरुवा वस्ने गरेका छौं’ पहिरोको जोखिममा रहेकामध्य एक रत्नबहादुर विकले भने, ‘रात भर निद्रा नै लाग्दैन । गोठमा भैसीले किलोमा सिङ बजाउँदा पनि पहिरो खस्यो कि भन्ने त्रास मात्र हुन्छ ।’
तल पाँखु र माथी किमचौर गाउँको विचमा अवस्थित अर्मन वस्ती मंगला गाउँपालिका, ५ मा पर्छ । गाउँका उत्पादन बजार पुर्‍याउन र वजारबाट दैलोमै सामान ढुवानी गर्न अर्मन र किमचौरवासीले गाउँपालिकाको ८ लाख बजेटमा धारा–अर्मन–किमचौर सडक खन्न सुरु गरे ।
सडकको ट्याक अर्मन गाउँदेखी माथी किमचौर वस्तीमुनी पुगेपछि भीरमा पुगेर टुँगियो । सडक अक्करे भीरमा टुङगीयो अनि सुरु भो, पहिरो । पहरोले पहिरो मात्र निम्त्याएन तल अर्मन र माथीको किमचौरवासी विचको सम्बन्धमा पनि पहिरो चलाएको छ । भित्र भित्रै मनमुटाव सुरु भएको छ ।
भीर फोड्न खोज्दा ठुला–ठुला ढुङ्गा निक्लिए । केही ढुङगा तल वस्तीमा खसेपनि । पहराबाट ढुङ्गा खस्न थालेपछि गाउँलेले ब्रेकर र डोजर चलाएर पहरामा झुण्डिएका ढुङ्गा फोड्न खोजे तर समस्या झन वल्झियो । डोजर र ब्रेकरको कम्पनले झन पहरानै खस्न थालेपछि तल अर्मन वस्ती जोखिममा परेको हो ।
‘तल–माथी सवै वस्तीको साझा सहमतिमै सडक खन्न थालिएको हो । सडक पहरोमा टुङ्गीएपछि र ढुङ्गा खस्न थालेपछि पनि दुवै वस्तीको सहमतिमै ब्रेकरले ढुङ्गा फोडिएको हो’ सडक हेर्ने मंगला गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले भने, ‘अहिले भीर चर्किएकोले झर्छ कि भन्ने त्रास हो ।’
वर्खासँगै माथीबाट ढुङ्गा खस्न थालेपछि संभावित खतराबाट जोगाउन स्थानीय गाउँपालिका र जिल्ला विपद ब्यवस्थापन समितिले गाउँलेलाई सुरक्षित स्थानमा अस्थाई रुपमा सार्ने तयारी भएको छ । ४० देखी ६० सेन्टिमीटर सम्म फाटेर बाहिर निक्लेको ३० मिटर लामो भिरको डिल केही धस्केर झुण्डिएको को छ । करिव १ किमी तल भिरालो पाखोमा वस्ती छ ।
‘संभव छिटो वस्ती सुरक्षित स्थानमा नसार्ने हो भने कुनै पनि वेला मानवीय क्षतिको खतरा छ । समुदायले सुरक्षित स्थानको पहिचान गरिसकेका छन । केन्द्र र प्रदेश सरकारबाट पालसमेतका सामाग्री प्राप्त हुँदासाथ वस्ती सार्छौं’ जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘भौगर्भिक अध्ययन विना हचुवाको भरमा गरिने सडक विस्तारले निम्त्याएको मानविय संकटको एउटा नमुना हो, अर्मन पहिरो ।’
अर्मनमा अहिले मात्र होईन ०५८ साउन १३ गते राती यही पाखोबाट झरेको पहिरोले १६ जनाको ज्यान लिएको थियो । त्यो वेलापनि ९० परिवार अर्मनबासी घरवासविहीन भै सुरक्षित डाँडापाखामा पाल राखेर बसेका थिए ।
विस्तारै पहिरोलाई रुखविरुवाले ढाक्दै गयो, गाउँलेले पुरानो घाउ विर्सिए । पुख्यौली थातथलो मै फर्किए । अर्मन गाउँ भीरालो पाखोमा अवस्थित भएपनि उर्वर छ । सवैखाले खेती राम्रो हुन्छ । पाखोकै खेतीले पनि सवैलाई दुई छाक खान पुग्छ । अर्मनमा मात्र होईन कमजोर भूधरातल भएको भिरालो पाखोको फेदीमा अवस्थित सडक निर्माणले भू–वनावट खलवलिएकोले पहिरो जिल्लाका धेरै वस्ती जोखिममा परेका छन । श्रोत :  इकान्तिपर डट कम