FLASH NEWS
  • Loading...

प्रेमिल जंगलमा ‘सेक्सी सुनगाभा’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३९२ पटक पढिएको
प्रेमिल जंगलमा ‘सेक्सी सुनगाभा’

म्याग्दी बेनीबजारको ठिक पारीपट्टी हाँडेभिर छ । भीरको विचमा तेस्रो फैलिएको सानो जंगल छ । भीरको टुप्पोमा शालीन र भद्र शैलीमा मायाँपिरती साट्ने ‘लभ मेकिङस्पट’ पार्क छ । प्रेमिल पार्क पुग्न बेनी–लभर्सहिल पदमार्ग निर्मित छ । पदमार्गको दायाँ–वायाँ जंगल सुनगाभाका रंगिन फुलहरुले ढकमक्क छ । सुनगाभाका प्रस्तुत तस्वीर हालै प्रभातकालिन हिँडाईकाक्रममा मोवाईलबाट खिचेका हुन ।
नेपालीमा सुनगाभा, सुनाखरी र अङ्ग्रेजीमा अर्किड नामले चिनिने सुनाखरी नेपालका सवै क्षेत्रका जंगलमा रुखको बुई चढेर झ्याउसंगै बेरिएर लटरम्म लहरा उम्रने र हावाबाट मलजल गर्ने विभिन्न रङ फुलहरु हुन । रङ्गीविरङ्गी तथा वासनायुक्त सुनगाभाको पुष्पाकृति, रङ, साजसज्जा र फरक आर्कषणले अत्यन्तै सुन्दर देखिन्छन । सुनगाभाको फुलहरु माउ बोटबाट काटेर छुट्टै फुलदानीमा सँजाउँदा समेत लामो समयसम्म ओईलाउँदैन ।

सुनगाभा वा सुनाखरीको बैज्ञानिक नाम भने अर्किडासी हो । स्थान र हावापानी विशेषका आधारमा बैशाख–असारसम्म सुनगाभा रुखका काप र पहराको चेपमा झुण्डीएर उम्रन्छन । अन्य रुखमा हुर्कने र बढ्ने भएपनि सुनगाभा ऐँजेरु जस्तो परजीवी वनस्पति भने होईन । सुनगाभाले हावाबाट आफ्नो खानेकुरा लिन्छन ।

सुनगाभा औषधीजन्य वनस्पती हो । चावनप्रास समेतका जडिबुटीजन्य सामाग्रीमा पनि सुनगाभा मिसाईएको हुन्छ । नेपाली समाजमा ज्वरो, दमखोकी तथा घाँटी दुख्दा केही प्रजातिका सुनगाभा औषधीको रुपमा समेत प्रयोग गर्छन । यो यौनवद्र्धक औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।

संसारभरी पाईने सवैभन्दा बढी प्रजाति भएको वनस्पति सुनगाभा हो । नेपालको तराई, चुरे र महाँभारत पहाडसम्म एक सय ७५ प्रजाति सुनगाभा पाईन्छन । म्याग्दीका सवै जंगलमा सुनगाभा प्रसस्त पाईन्छ । म्याग्दीका जंगलबाट सुनगाभाको तस्करी समेत हुने गरेको छ ।

केही बर्ष अघि म्याग्दीबाट मुस्ताङहुँदै तिब्बत लैजान लागेको सुनगाभा (सुनाखरी) उपल्लो मुस्ताङमा पक्राउ परेको थियो । देशभरबाट अरनिको राजमार्गहुंदै तिब्बत लैजानेगरेको सुनाखरी ब्यापारीले ‘रुट’ परिवर्तन गरी बेनी–जोमसोम सडकहुंदै तिब्बत लैजान थालेका हुन ।

चरो जातिमा भँगेरो जस्तै वनस्पतिमा सुनगाभालाई सवैभन्दा बढी ‘सेक्सी फुल’ मानिन्छ । अध्यताहरुका अनुसार सुनगाभाको फुलले कामुक वास्ना छोडेर सेक्स अपिल गर्छ र वास्नाबाट लठ्ठ भै यौन उत्तेजनामा आएका बारुला, अरिङ्गाल र भमराहरु फुललाई पोथी ठानेर सम्भोग नै गर्छन । त्यसैले सुनगाभालाई अचम्मको सेक्सी बनस्पति मानिन्छ ।


पुष्पखेती ब्यवासयीले विदेशी सुनगाभाको पनि खेति गर्छन । सुनगाभाका पारखीहरुले घरमा पनि फरक शैली र तरिकाले फुलाएका हुन्छन ।


सुनगाभाको नेपालमा पहिलो पटक सन् १८२० मा कलकत्ताका वनस्पति विज्ञ नाथानियल वालिचले काठकाण्डौ नजिकैको शिवपुरी जंगलबाट फेला पारेको इरिडिवाईडिस प्रजातिका सुन्दर फुलहरु पत्ता लगाएका थिए ।


सुनगाभाको महत्व र सौन्दर्यको बारेमा भगवान गौतम बुद्धका समकालिन (१४ वर्ष कान्छा) चिनियाँ दार्शनिक कन्फ्युसियसले चर्चा गरेको बनस्पति विज्ञानमा उल्लेख छ  । काटेर गमलामा रोप्दा समेत रुप नओईलाउने रङ नखुईलिने सुनगाभा हत्तपत्त मर्दैनन ।