FLASH NEWS
  • Loading...

पुर्परोमा हात राखी राहतको आश गर्देछन पहिरो पीडित

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०५ पटक पढिएको
पुर्परोमा हात राखी राहतको आश गर्देछन पहिरो पीडित

अग्लो सल्लेरी भिरीको टुप्पीमा अवस्थित रुखो र भिरालो पाखोमा अवस्थित धौलागिरी गाउँपालिका, ६ मराङ्ग र मालिका गाउँपालिका, ७ विम गाउँ यतिवेला शोकमा डुबेका छन । पहिरोले वस्तीहरु उजाड भएका छन । धेरै माथीबाट सानो पहिरो झरेपनि तल वस्तीमा पुग्दा छरिएर धेरै क्षति पुर्‍याएको छ ।
शुक्रवार विहान २ बजेदेखी पहिरोमा पुरिएका मध्य आईतवार दिउसँसोसम्म मराङमा मात्र १९ जना र विमका ८ जनाको शव भेटिएको छ । चार जना अझै वेपत्ता छन । खोजी जारी छ । मृतक सवैको आईतवार सामाजिक संस्कार अनुसार अन्त्यष्ठी गरिएको छ । आईतवार मराङको राम्चे, रिखा, कल्लेनी, विमको मल्थान समेतका वस्तीबाट मृतकको दाहसंस्कारकालागी  मुर्दा लस्कर निकाल्दाको ह्दयविदारक दृष्य थियो ।


पहिरोले मराङका कम्तीमा ५० र विमका १५ घर पुरै पुरेको/बगाएको छ । ६५ परिवार घरवारविहीन बनेका छन । एक सय ५० बढी घर बस्नै नसक्ने गरी क्षति पुगेका छन । घर रहेकाहरुको पनि खेतीवाली पुरै नष्ट भएको छ । सवै सुकुम्बासी भएका छन ।
धौलागिरी गाउँपालिका, ६ मराङको राम्चे झुरुप्प परेका दलित वस्तीमाथी शुक्रवार विहान ४ बजे पहिरो आउँदा २२ बर्षिया मन्जिता श्रीपाली ६ बर्षको छोरा सफललाई काखमा च्यापेर सुतेकी थिईन ।
पहिरोको एउटा हल्काले उनको घर भत्केर उनको पेटमा बजारियो । ६ महिनाकी गर्भवती श्रीपाली गम्भीर घाईते भईन । छोरा सफललाई चोट लाग्यो । आफन्तले उनलाई पहिरोबाट झिके । झिसमिसेमा छामछम र छुमछुम गर्दै उनीहरु छिमेकीको पिंढीमा पुगे । त्यतिवेलासम्म श्रीपालि परिवार समेत वस्तीका ९ जनालई पहिरोले पुरिसकेको थियो ।
पहिरोले थिचिएर गम्भीर घाईते भएको गर्भवती श्रीपालीलाई तत्काल उपचारकालागी अस्पताल लैजाने कुनै उपाय भएन । शुक्रवार दिन भगवानको प्राथना गर्दै वित्यो । घाईते गर्भवती अलपत्र परेको खवर सुनेपछि बेनीका युवा ब्यवसायीद्धय राजेश शाक्य र नारायण जिसीले निजी खर्चमा हेलिकोप्टरमा श्रीपालीको उद्धार गरी बेनी पुर्‍याए ।
बेनी अस्पतालले ‘घाईते गर्भवती श्रीपालिको ६ महिनाको गर्भको शिशु पाठेघर भित्रै मरिसकेको र गर्भवतीको हिपको हाड भाँचिएको’ भेटेपछि थप उपचारकालागी पोखरा रिफर गऱ्यो । गर्भवतीको आईतवार मणीपाल शिक्षण अस्पताल पोखरामा शल्यक्रिया गरी मृत शिशु झिकिएको छ । घाईतेको उपचार भैरहेको आफान्त शिव श्रीपालीले बताए ।

‘पहिरोमा गर्भवती गम्भीर घाईते भएको खवर शुक्रवार साँझ थाहा पाएँ । शनिवार विहानसम्म उनको उद्धार नभएको जानकारी पाएपछि मित्र नारायणलाई घाईते गर्भवतीको उद्धारगर्न सहयोग मागें, हेलिकोप्टर मगाएर उद्धार जुट्यौं’ बेनीका समाजसेवी युवा ब्यवसायी राजेश शाक्यले भने, ‘गर्भवतीको मात्र उद्धार गरेनौं, घट्नास्थलको कारुणिक अवस्था देखेपछि अन्य घाईतेको उद्धार गर्ने र पीडितहरुरुलाई ५ लाख १९ हजारको खाद्यान्न पुऱ्यौं ।’

पीडितहरुलाई हेम माध्यामिक विद्यालय सिवाङ, जनविकास मावि, दलित सामुदायीक भवन, किसानी मावि विम र केही आफन्तको घरमा आश्रय लिएर बसेका छन । शनिवार साँझ केही दाताले पुर्‍याएको चाउचाउ, विस्कुट र मेसमा खाना खुवाउन थालिएको छ ।


पहिरो पीडितलाई अहिलेको भोकले भन्दा भविष्यको चिन्ताले सताउन थालेको छ । पहिरोग्रस्त ठाउँमा फेरी वस्ती बसाल्ने संभावना देखिँदैन । यहाँ एउटै ठूलो पहिरोले सवै घर पुरेको होईन, मराङ र विममा घर भन्दाबढी पहिरा खसेका छन । एउटा पहिरोले एउटा वा दुई वटा घरमा क्षति पुऱ्याएको छ ।
पहिरो प्रभावीत क्षेत्रमा पुग्ने झोलुङ्गे पुलहरु भत्किएका, खानेपानीका मुहान र वितरण प्रणाली पहिरोले बगाएपछि पहिरोबाट जोगिएका घरहरुमा खानेपानी आपूर्ति अवरुद्ध छ । पशुचौपायालाई चरन क्षेत्रमा पठाउन सकिएको छैन ।
‘दृष्य हृदयविदारक र अवस्था कारुणीक छ । समस्या जटिल छ । तत्काल खाद्यान्न समेत राहत र यथासंभव पुनर्वास नगरे भोकमरी र रोगब्याधीको जोखिम उस्तै छ’ घट्नास्थल पुगेर फर्केका नेकपा सचिव हरीकृष्ण श्रेष्ठले भने, ‘मराङ र विममा तत्काल मानविय मनहरु जुट्न जरुरी छ । तत्काल कसैको सहयोग नपाउँदा पीडितका मन कुँडिएको छ, थप कुँडिन दिनु हुँदैन ।’
पहिरोले धौलागिरी गापा, ६ मराङको वडा कार्यालयको पुरै बगाएपछि ०६० सालयताका सवै अभिलेख नष्ट भएको छ । प्रगतिशिल आमा समुहको भवन पहिरोले बगाउँदा कम्तीमा १० लाखबढीको सामुदायीक सामाग्रीहरु नष्ट भएको छ । पहिरोको जोखिममा परेपछि घर छोडेर हिँडेन पहिरोमा पुरिएकाको खोजी र घाईतेको उद्धार तथा विपतमा परेकालाई सुरक्षित स्थानमा स्थानन्त्रण गर्ने काम नसकिएकोले यकिन विवरण तयार भैनसकेको वडाध्यक्षहरुले बताए ।


बाढी पहिरोले घरवारविहीन भएकालाई सुरक्षित स्थानमा पुनर्वास गर्नु पर्ने स्थानीयले माग गरेका छन । धौलागिरी गापा, ६ का वडाध्यक्ष राजाराम सुवेदीले भन्छन, ‘मर्ने त मरिहाले बाँचेका घरवारविहीनलाई पुनर्वास गर्न स्थानीय सरकारको दायीत्व हो । अझै उद्धार र राहत ब्यवस्थापनमै जुटेका छौं । सुरक्षित पुनर्वासको तयारी भैसकेको छैन ।’
शुक्रवार दिनभर पानी पर्न र बाढीपहिरो झर्न नरोकिएकोले कतैबाट उद्धाकर्ता घट्नास्थल पुग्न सकेनन । पहिरोमा बाँचेका छिमेकीले विपतमा परेकालाई आश्रय दिए । सकेसम्मका घाईतेलाई उद्धार गरे । तातोपानी खुवाएर राखे ।
शनिवार दिउँसो पानी पर्न रोकियो, खोल्साको बाढी घट्यो, पहिरोको दलदल केही ओभाएपछि हिलोमा डुब्दै छिमेकी गाउँबाट मान्छेहरु प्रभावित क्षेत्रमा पुग्न थाले । मध्यान्नबाट हेलिकोप्टरमा सेना, प्रहरी ओर्ले र पहिरोमा पुरिएकाको खोजी तथा उद्धारा जुटे । आफुसँग ल्याएको चाउचाउ, विस्कुट दुई दिनदेखीका भोका पहिरो पीडितलाई दिए ।


पहिरोग्रस्त क्षेत्रमा सेना, प्रहरी मात्र होईन छिमेकी गाउँका युवा क्लवका सदस्यहरु, स्थानीयहरु, सामाजिक कार्यकर्ताहरु बाढीपहिरोले अवरुद्ध बाटो पन्छ्याउँदै र जोखिम मोलेर घट्ना स्थल पुगेपछि वल्न पहिरोमा पुरिएकाको शव झिक्न सकियो । आईतवार साँझ ५ बजेसम्म २८ जनाको जनाको शव फेला परेको छ । ४ जना अझै वेपत्ता छन । आईतवार धौलागिरीको मराङमा एक जना खिम जुग्जालीको शव फेला परेको हो । शनिवारसम्म उनको नाम वेपत्तामा पनि थिएन । एकान्तको गोठमा उनी पुरिएका थिए ।
‘धौलागिरीको कल्लेनी र रिखा दुई वस्तीमा दुई दुई जना अझै वेपत्ता छन । त्यहाँ पहिरो निरन्तर खसिरहेकोले ताकम प्रहरी चौकीले पहिरो रोकिएपछि खोज्नेगरी सवै रेस्क्यु टोलि फिर्ता गरेका छौं’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘अव गाउँपालिका/वडा कार्यालयको सहकार्यमा पशुचौपाय, सम्पत्तिको क्षति र वस्ती सेटलमेन्टको काम सुरु गर्दैछौं ।’

फोटो सौजन्य : हरीकृष्ण श्रेष्ठ, प्रकाश पौडेल, इश्वर सुवेदी र किरण कुवंर (डिएसपी)