सलहसँग अन्तर्वार्ता —

१६ असार २०७७, मंगलवार २१:४० मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

देशमा अहिले सलहको आक्रमण भएको छ । नेपालको राजनीति, सीमासमावेश नयाँनक्सा जारी र सलहको विम्बात्मक रोचक काल्पनिक अन्तर्वार्ता (अज्ञात पत्रकारको मनोवाद)प्रकाशित गरेका छौं । –सम्पादक ।

पत्रकार : तपाईँहरू कहाँबाट आउनुभएको?

सलह : अफ्रिकाबाट।

पत्रकार : कति सङ्ख्यामा आउनुभएको छ?

सलह : त्यस्तै तीन लाख जति आएका छौँ। अनुकूल भयो भने थप अरू पनि आउन सक्छन्।

पत्रकार : नेपाल किन आउनुभयो?

सलह : यहाँको हावापानी राम्रो छ, जीविकोपार्जनको लागि उपयुक्त वातावरण छ र हिमाली वातावरणले शान्ति पाइएला भन्ने ठानेर आएका हौँ।

पत्रकार : सोझै त आउनुभएको होइन होला? बाटामा पर्ने मुलुकमा नबसेर किन नेपाल नै हान्निनुभयो त?

सलह : बाटोमा बास बस्दै आएका हौँ। तर कहिँ पनि हामीले सलह मैत्री भाव पाएनौँ। स्वभावैले शान्तिप्रेमी हामी कसैसँग द्वन्द्व गरेर हिंसा फैलाउन चाहन्नौँ। नेपाली शान्तप्रेमी भन्ने सुनेर आएका हौँ। हाम्रो पुर्खा पनि केही दशक पहिले आएको इतिहास हामीसँग छ।

पत्रकार : के पाउनुभयो त यहाँ आएर?

सहल : सोचेअनुसारको पाइएन। खानेकुराको अभाव देखियो। मान्छेहरू आवश्यकताभन्दा आतङ्कित देखिए। केही चाहिँ थप हिंसक देखिए। सरकारले पनि हाम्रो दर तोकिदियो। एक किलोको बीस रुपिया। हामी त्यति सस्तो छौँ जस्तो लागेको थिएन।

पत्रकार : अब के गर्नुहुन्छ?

सलह : हामीलाई नियन्त्रण गर्ने सरकारी योजना नभएकोले यहाँ राजनीतिक वातावरण चाहिँ अनुकूल नै रहेछ। केही समय हेरौँ।

पत्रकार : तराइतिरै अलमलिनु हुन्छ कि पहाडतिर पनि उक्लिनु हुन्छ?

सलह : हामी पहाड उक्लिन सक्दैनौँ भन्ने सोचाइ रहेछ केही मानिसहरूमा। उनीहरूलाई देखाउन पनि पहाड उक्लिनु छ। फेरि उपयुक्त बासस्थानको खोजी हाम्रो उद्देश्य हो।

पत्रकार : ठाउँ फेला पार्नु भएन भने?

सलह : यताबाट पाकिस्तान जाने बाटो छ भन्ने सुनिएको छ। भारतमा हामीले पाकिस्तानीहरू नेपालको बाटो भएर भारत छिर्छन् भन्ने सुनेका थियौँ। त्यही बाटो पाकिस्तानतिर लाग्छौँ नभए।

पत्रकार : भारत नै फर्कने चाहना छैन?

सलह : भारतमा नागरिकताको प्रावधान पनि रहेनछ। न्यूनतम सात वर्ष त पर्खिनै पर्ने रहेछ। त्यो हामीलाई अप्ठेरो परेको छ। तर केही साथीहरू राजस्थान नै फर्किन तड्पिरहेका पनि छन्। यहाँ नेपालमा फूल पार्ने ठाउँ फेला पर्ला जस्तो छैन। केही नेपालीहरू हामीलाई खान मुख बाएर बसेका रहेछन्।

पत्रकार : अहिले त नेपालमा पनि सात वर्षे प्रावधान आयो नि त!

सलह : हेर्नुस्। भारतले यहाँको सरकार ढाल्न खोजिरहेको छ। यो सरकार ढल्यो भने सात वर्षे प्रावधान पनि ढल्छ भन्ने विश्वास रहेछ सरकारमा। सरकारको त्यो आँकलनको हामीले भर परेका छौँ।

पत्रकार : अनि फुल पार्न भारत नै फर्कनुहुन्छ त?

सलह : अहिलेसम्म केही साथीहरूको चाहना त्यही छ। फुल उता पारे पनि खानपिन चाहिँ यतै गर्ने सोचाइ छ। हिमाली हावापानीले यहाँको खाना स्वस्थ र रोगप्रतरोधी रहेछ।

पत्रकार : अन्तमा केही भन्नु छ नेपाली जनता सरकारलाई?

सलह : सरकारलाई त केही भन्नु छैन किनभने उनीहरूको खासै कार्यक्रम रहेनछ। जनताहरूलाई एउटा अनुरोध गर्छौँ। त्यो के भने हामीलाई विषादि नछर्किनुस्। हामी स्वादिलो भोजन हुन सक्छौँ। विषादि छर्केर मारियो भने त्यो तपाईँहरूलाई पनि स्वस्थकर हुँदैन। हामीलाई आरक्षण गरेर राख्नुस्। नियमित र नियोजित रूपमा हामीलाई शिकार गर्नुहोला। हाम्रो भोजनले रोग प्रतिरोधी क्षमता बढाउँछ। भाइरस, ब्याक्टेरियासँग लड्न हामी उपयुक्त माध्यम हुन सक्छौँ। हाम्रो सङ्कलनबाट केही उद्योग पनि फस्टाउन सक्छ। हामीलाई नमास्नु होला।

पत्रकार : तर तपाईहरू हाम्रो कृषि बाली स्वाहा पार्दिनुहुन्छ नि?

सलह : हाहाहाहा। नेपालमा के कृषि बाली छ र स्वाहा पार्नलाई? खानेकुरामा छिमेकी देशमा निर्भर हुनेको लागि त बरू छिमेकीको बाली पो जोगिनु पर्छ र होइन?

पत्रकार : यहाँ के खाएर बाँच्नु हुन्छ त?

सलह : त्यसैले हावापानीको लागि यो ठाउँ रोजे पनि हामीलाई आफ्नो मातृभूमिको स्नेह छ। बरु राजस्थान नै हामीलाई मन परेको छ। कहिले यता, कहिले उता, आधा यता, आधा उता गरेर बस्ने सोचाइमा छौँ। हेरौँ तपाईँहरूको स्नेह कस्तो रहन्छ।

पत्रकार : आफ्नो अमूल्य समय दिनुभएकोमा यहाँलाई धन्यवाद।

सलह : हाम्रा विचार र योजनालाई जनसमक्ष ल्याउने अवसर प्रदान गर्दिनुभएकोमा तपाईँ मार्फत समग्र पत्रकार जगतलाई किलोका किलो धन्यवाद। उपहारस्वरूप एक किलो जति सलह सङ्कलन गरेर लैजानुहोला।