FLASH NEWS
  • Loading...

रोजगारी गुमाएर फर्केकालाई कुन गाउँपालिकामा कस्तो कार्यक्रम

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१५ पटक पढिएको
रोजगारी गुमाएर फर्केकालाई कुन गाउँपालिकामा कस्तो कार्यक्रम

कोरना भाईरसको विश्व महमारीबाट प्रभावित भै रोजगार गुमाएर घर फर्केका युवाकालागी यहाँका स्थानीय तहले सम्बोधन गरेका छन ।
असार १० गते सार्वजनिक बजेटमा स्थानीय तहले विदेशमा रोजगारी गुमाएर घर फर्केका युवा लक्षित विभिन्न कार्यक्रम घोषणा गरेका छन । जिल्लाको दुर्गम धौलागिरी गाउँपालिकाले युवा स्वरोजगार तथा कृषी ब्यवसाय प्रर्वद्धन कोष मार्फत ब्यवसायीक कृषी, पशुपालन, जडिबुटी खेती, फलफुल खेती र स्थानीय श्रोतमा आधारित लघुउद्यम विदेशबाट फर्केका युवालाई सम्बोधन गरेको छ ।
त्यसकालागी गाउँपालिकाले २० लाख रुपैयाको कोष बनाएको छ । चुरेन, गुर्जा र धौलागिरी हिमश्रृखला अवस्थित धौलागिरी गाउँपालिका प्रशस्त चरन क्षेत्र रहेको छ । अधिक खुल्ला भेडा पालन र जडिबुटीको मुख्य हव पनि हो ।
‘हाम्रो भुगोल धेरै अन्नउत्पादन गर्ने छैन । हामी लेकमा छौं । हाम्रालागी जडिबुटी, फलफुल खेती र पशुपालन नै बढी उपयुक्त हो । अहिले यी रैथाने विधीबाट पाल्ने गरिएको छ, हामी पशुपाल्दा पनि ब्यवसायी बनाउने, जडिबुटीको ठूलो स्केलमा बजार पुर्‍याउने योजनामा छौं’ धौलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले सुनाए ।
त्यसैगरी मालिका गाउँपालिकाले विदेशमा रोजगारी गुमाएर घर फर्केका युवालाई गाउँमै राजगारी उपलब्ध गराउन जोड्न भुमि बैंक तथा खाद्य बैंक को अवधारणा ल्याएको छ । जग्गाको चक्लावन्दी गरी खेती गर्न प्रोत्साहन गर्न र स्थानिय रुपमा उत्पादित खाद्यान्न, तरकारी, फलफुलको संकलन तथा वितरण गर्न (खाद्य बैंक) स्थापना गर्न १० लाख बजेट विनियोजन गरेको छ । मालिका गापाले त्यसकालागी तरकारी, माशुजन्य, प्रविधी, ब्यवसायीकरण, आधुनिकिकरण र बजारीकरण गर्न र विउविजन समेतका अनुदान दिन ९ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
‘गाउँपालिकामा खाली र बाँझो भएका जग्गालाई प्रकृया पुर्‍याएर एकिकृत गर्ने (हामीले भुमि बैंक) योजना छ । जस्तो : निश्चित क्षेत्रको ठूलो क्षेत्रफलमा एकै खालको वालीको सामुहिक खेती गर्ने र उक्त उत्पादनलाई बजार पुर्‍याउन संकलन केन्द्र स्थापना गर्ने (हामीले अन्न वैंक भनेका छौं)’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘थोरै थोरै मात्रामा उत्पादन हुँदा कृषकलाई बढी दुख र बजार पुर्‍याउन कठिन भयो । एउटै क्षेत्रमा धेरै उत्पादन गर्न सके ब्यापारीलाई पनि एकै ठाउँबाट लोड पुर्‍याएर सामान लिन सक्ने भएकोले यो योजना ल्याएका हौं ।’
अर्को रघुगंगा गाउँपालिकाले विदेशमा रोजगारी गुमाएर घर फर्केका युवालाई लागत साझेदारीको आधारमा ब्यवसायीक पशुपालनमा आर्कषित गर्न ६ लाख बजेट विनियोजन गरेको छ । धौलागिरी हिमालय क्षेत्र मुनी प्रशस्त चरन क्षेत्र रहेको रघुगंगा गाउँपालिकाको माथिल्लो क्षेत्रमा परम्परागत फिरन्ते भेडा, बाख्रा गोठ राख्ने गरिन्छ । ब्यवसायीक पशुपालन बृद्धी गर्न बहुबर्षिय घाँस विकास, उपचार, खोप पुर्‍याउन छुट्टै १२ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
अन्नपूर्ण र मंगला गाउँपालिकाले भने विदेशबाट फर्केका युवा लक्षित छुट्टै कार्यक्रम बनाएका छैनन । ति गापाले विदेशबाट रोजगारी गुमाएर फर्केका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सूचिकृत गरी श्रममा आधारित रोजगारीमा संलग्न गराउने गरी ५२–५२ लाख बजेट विनियोजन गरेको छन ।
‘हामीले श्रममा आधारित रोजगारी दिनेगरी विदेशबाट फर्केकालाई वेरोजगारी सूचिकृत गरी विभिन्न योजना/आयोजनामा श्रमिक पठाउने लक्ष्य राखेका छौं’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले भने, ‘पशुपालन, कृषी, फलफुल, नर्सरी समेतका ब्यवसायी कृषी क्षेत्रमा संलग्न हुन चाहने सवैलाई मलविउ, प्रविधी, प्राविधिक समेतका अनुदान त सवैलाई छँदैछ ।’
कोरनाको कारण रोजगार गुमाएर विदेशबाट फर्केका युवाकालागी बेनी नगरपालिकाको कार्यक्रम भने अनुदार देखिएको छ । बेनी नगरपालिकाले असार १० गते सार्वजनिक गरेको बजेटमा रोजगार श्रृजना गर्ने कुनै कार्यक्रम राखेको छैन । नगरपालिकाले आर्थिक, सामाजिक, पूर्वाधार, संस्थागत, विपद र वडागत गरी ५ वटा शिर्षकमा एकमुष्ठ रकम मात्र उल्लेख छ । कार्यक्रमगत बजेट नै बनाएको छैन ।