संसारको गहिरो गल्छीमा पहिरोको जोखिम

११ असार २०७७, बिहीबार ०९:४८ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विचको ६ हजार ९ सय ६७ मीटर गहिरो खोंचलाई संसारकै गहिरो गल्छी मानिन्छ ।
काप्रे क्षेत्रमा कालीगण्डकी लुकेको छ । झट्ट तल नदी देख्न सकिन्न । त्यही ‘अन्धगल्छी’ देखी तल बेनीसम्मको ४४ किलोमिटर खण्ड पहिरोको उच्च जोखिममा छ । यही कालीगण्डकी नदी किनारै किनार ७ मिटर पीच सहित १० मिटर चौडा बेनी–जोमसोम–कोरला सडक विस्तार भैरहेको छ ।
‘मोटरबाटो निर्माण गर्दा ढुङ्गामाटो कालीगण्डकीमा फालिएको/झरेको छ । साँघुरो गल्छीमा पहाड विष्फोटन गरी निक्लेका ढुङ्गा झरेकोले नदीको सतह माथी उठेको छ’ स्थानीय कविन शेरचनले भने, ‘ढुङ्गामाटो नदीमा फाल्दा अन्धगल्छीको सौन्दर्य मात्र नासिएको छैन, तलका तटिय वस्तीमा बाढीको जोखिम थपेको छ ।’
०७६ कात्तिकसम्म योजना सम्पन्न गर्नु पर्ने भएपनि ठेकदारले समयमै काम नगर्दा अहिले सडक अधकल्चो बनेको छ । र अहिले लकडाउनपछि निर्माण रोकिएको छ । उक्त क्षेत्रमा मनसुन सुरु भएसँगै पहिरो खस्न सुरु भएको छ । कतै भित्तो काटेर छोडेको, भत्काएको ढुङ्गामाटो सडकमै छोडेकोले जोखिम बढेको हो ।
रुप्सेछहरा–काप्रेभीर करिव ५ सय मिटर क्षेत्रमा माथीबाट पहिरो झर्ने र तलबाट सडक भासिने गरेको छ । अन्धगल्छीमा मात्र होईन अन्नपूर्ण गाउँपालिकाको गुईठेभीर, भुरुङ्गभीर, टिम्मुरेभीर खण्डमा कालीगण्डकी साँघुरो भागमा बग्छ । यही बारम्बार पहिरो झर्ने गरेको छ । र थप पहिरोको जोखिम उच्च छ ।
‘अक्करे पहाडको च्यापुवामा कालीगण्डकी बेनी–जोमसोम पैदल वा मोटर यात्रा गर्नेले मात्र देखेका छन, यहाँका पहिरो र संकटासन्न जोखिम’ भुरुङ्ग तातोपानीका स्थानीय श्याम रानाले भने, ‘हामीले पटक–पटक कालीगण्डकीको रौद्र ब्यवहार भोगेका छौं । पहिरोले नदी थुन्दा पानीमा डुबेर पनि बाँचेका छौं । तर प्राविधिक यी कुरा सुन्न मान्दैनन, लापरवाही गर्छन, भोग्छौं हामी ।’
सडकको इन्जिनियरिङ्ग डिजाईन गर्दा भौगर्भिक तथा भौगोलिक जोखिमको अध्ययन नगरिएको र सडक पूर्वाधारबाट निर्माण क्रममा क्षतिग्रस्त क्षेत्रको आवश्यक संरक्षण ‘ट्रिटमेन्ट’ पनि नहुँदा बेनी–जोमसोम–कोरला सडकमात्र होईन जिल्लाका प्राय: सवै ग्रामिण सडकहरु पहिरोको जोखिमा छन ।
बेनी–जोमसोम सडकको स्तरउन्नत गराउने काम सुरु भएपनि ढिला सुस्तीले सडक थप जोखिमयुक्त बनेका छन । पहिरोग्रस्त क्षेत्रमा ठेकदारले डोजर चलाएर छोडेरकोहुँदा मनसुन सुरु भएपछि पहिरो खस्न सुरु भएको हो । कतै भित्तो काटेर छोडेको, भत्काएको ढुङ्गामाटो सडकमै छोडेकोले जोखिम भएको हो ।
‘सडकमा मनलाग्दी डोजर चलाएर भित्तो काटिएको तर संरक्षण नभएको र भित्ताको माटो तल कालीगण्डकीमा फालिएकोले नदीले धार परिवर्तन गर्ने गरेको छ’ रघुगंगा गाउँपालिका, २ बैसरीका भीमसेन केसील भने, ‘कालीगण्डकी नदीको भुगोलको अध्ययन विना कम्तीमा ०६२ सालमा सडक खन्न थालेयता माटो नदी किनारामा फाल्ने गरिएकोले बर्खाको बाढीले बगाएर तल वस्ती जोखिममा पारिरहेको छ ।’
०७२ सालको भुकम्प र पराकम्पनले असन्तुलित भीर/पहाड सडक निर्माण गर्न पहाड फोर्न गरिएका हजारौं विष्फोटन, सोही क्षेत्रमा निर्माणाधिन आधा दर्जन जलविधुत आयोजनाको प्रवेश मार्ग, सुरुङ निर्माणमा भैरहेको शक्तिशाली भुमिगत विष्फोटनको कम्पनले कालीगण्डकी करिडोरका पहाडलाई कमजोर बनाई रहेको छ ।
‘भौगर्भिक अध्ययन विना र प्राविधिक डिजाईन विना नै डोजर र विष्फोटक पदार्थको लापरबाही प्रयोगगरी निर्माण गरिएका सडक र निक्लेको माटो ब्यवस्थापन नहुँदा पहिरोको जोखिम बढाएको हो’ भु–तथा जलाधार ब्यवस्थापन फिल्ड कार्यालय बेनीका प्रमुख शम्भु मिश्रले भने, ‘हाम्रा सडक संरचना प्रविधी प्राय: काट्ने र पुर्ने (कट एण्ड फिल) खालका छन । यसरी थुपारिएको ढुङ्गामाटोको भार थेग्न नसक्दा पनि पहिरो गएका छन ।’
अन्धगल्छी र वरपरको क्षेत्रमा अहिले मात्र होईन यस अघि पनि पटक–पटक पहिरो झर्ने र थुनिने गरेका छन । अहिले यी पहाडमा पहिरो झर्न सडक, विधुतका विष्फोटन र कटानले थप सकृय मात्र पारेका हुन । कालीगण्डकी नदी २०१४ सालमा बेगखोलामा ठूलो पहिरोले थुनिएको थियो । ०५५ साल असोज १० गते साविक गोगनपानी भिर खस्दा तातोपानीमा कालीगण्डकी १० घन्टा थुनिएको थियो । पछिल्लो पटक ०७२ जेठ १० गते राम्चे गाविसको काफलडाँडा मुनीको महभीर खस्दा १६ घन्टा कालीगण्डकी थुनिएको हो । ०४४ सालमा हिमालपारीको मुस्ताङ्गको हिमताल फुटेर आएको बाढीले कालीगण्डकी तटिय क्षेत्रमा ब्यापक धनजनको क्षति पुर्‍याएको थियो ।