FLASH NEWS
  • Loading...

पर्यटन क्षेत्र सञ्चालन कोभिड–१९ अपरेसनल गाइडलाइन सार्वजनिक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७६ पटक पढिएको
पर्यटन क्षेत्र सञ्चालन कोभिड–१९ अपरेसनल गाइडलाइन सार्वजनिक

कोरोनाको संक्रमित बढ्दै गरेको बेला पर्यटन क्षेत्रलाई सुरक्षित रुपमा खुला गर्ने सम्बन्धमा ‘कोभिड–१९ अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ सार्वजनिक गरेको छ ।

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला संघ संस्थाहरुसँगको परामर्शमा उक्त गाइडलाइन बनाएको हो । बोर्डका सिइओ डा धनन्जय रेग्मीले तीन महिनादेखि सरोकारवालाहरुसँग मिलेर गाइडलाइन बनाएको बताए ।

सोमबार उक्त गाइडलाइन पर्यटन मन्त्री योगेश भट्टराईले सार्वजनिक गरेका हुन् । यो गाइडलाइनले पर्यटन क्षेत्रलाई खोल्दा के कस्ता स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु अपनाउने भन्ने बिस्तृतमा उल्लेख गरेको छ ।

गाइडलाइन अनुसार होटलहरुमा प्रवेश गर्ने बेलामा सुरक्षित कपडा लगाएका व्यक्तिले पाहुना, कर्मचारी तथा जो सुकैको ज्वरो नाप्ने, ठूला होटलहरुले पाहुना, कर्मचारी तथा लगेजका लागि स्यानिटाइजर टनेल बनाउनु पर्ने, मास्क अनिवार्य रुपमा लगाउनु पर्ने, पाहुनाको ३० दिनको यात्रा इतिहास र अर्को गन्तव्यको बारेमा जानकारी लिनु पर्नेछ ।

त्यसैगरी किस गर्ने, अंगालो मार्ने तथा हात मिलाउने कार्य पाहुनासँग र कर्मचारीहरु आफैबीच पनि गर्न पाउने छैनन् । खाना खाना जाँदा रेष्टुरेन्ट पस्ने ठाउँमै हातलाई डिस्इन्फेक्ट गर्नुपर्ने छ । बफेट खानाकाे व्यवस्था हुने छैन ।

त्यसैगरी खाना बस्दा दश स्क्वेर मिटरको क्षेत्रमा सकेसम्म चार जना मात्र बस्ने व्यवस्था मिलाउनु पर्नेछ ।  एक कुर्चीबाट अर्को कुर्चीको दुरी कम्तीमा एक मिटरको हुनुपर्नेछ ।टेवलपोस र बस्ने स्थानमा पुछ्न सजिलो हुने खालको लेदर तथा प्लाष्टिक राख्नुपर्नेछ  ।

क्यासिनो, स्पा, जीम र प्लेरुमहरु भने बन्द नै रहनेछन् । सररसफाईमा विशेष ध्यान दिनुपर्नेछ । सकेसम्म छुने ठाउँहरु कम बनाउने, चेक इन र चेक आउटलाई डिजिटल बनाउने, रुम सर्भिसलाई तत्कालका लागि खुला नगर्ने, डिजिटल पेमेन्टलाई प्रोत्साहित गर्ने, हेल्थक्लव र जीम बन्द राख्ने पनि गाइडलाइनमा उल्लेख छ ।

पाहुन चेक आउट भएपछि डीप क्लिनिंग गर्ने र २४ घण्टा कोठा बन्द राख्ने । होटलले केही कोठालाई आइसोलेसन रुमको रुपमा राख्नु पर्ने र आशंकित संक्रमितलाई गएपछि पुरै स्यानिटाइज गरेपछि ७५ घण्टासम्म खाली राख्नु पर्ने पनि उल्लेख छ ।

त्यसैगरी रेष्टुरन्टहरुमा आउने पाहुनाको पनि नाम ठेगाना लेखाउन पर्ने, पाहुना, कर्मचारी र सप्लायर्सले ज्वरो नापेको रेकर्ड राख्नु पर्ने, खोकी लागेको, चिसो लागेको, ज्वरो आएको वा छिटोछिटो स्वास फेरिरहेको व्यक्तिलाई प्रवेश नदिने, स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसारको मेडिकल सामाग्री र चलाउन जन्ने व्यक्ति हुनुपर्नेलगायतका गाइडलाइन्स रेष्टुरन्टहरुका लागि रहेको छ ।

साथै रेष्टुरन्टहरुले सामाजिक दुरी सम्बन्धी स्थापित मापदण्डहरुलाई अवलम्बन गर्नुपर्ने छ ।

पर्यटन कार्यालयहरुमा सकेसम्म थोरै कर्मचारीले काम चलाउने, कोरोनाको महामारी कम भएपछि गर्न मिल्ने कामहरु पछि सार्ने, खाना घरबाटै ल्याउन उत्प्रेरित गर्ने, घरबाटै काम गर्न प्रेरित गर्नेलगायतका विषयहरु पनि गाइडलाइनमा छन् ।

पर्यटकीय सवारी साधनका हकमा पनि गाइडलाइन जारी गरिएको छ ।

पर्यटकीय सवारी साधनमा पुरा क्षमताको आधा मात्र यात्रु राखेर सञ्चालन गर्ने, सफाईमा ध्यान दिने र डिस्इन्फेक्सन गर्नु पर्ने लगायतका प्राबधान छन् ।

त्यसैगरी र्याफ्टिंग, कायकिंग, क्यानोनिंग, बन्जी जम्प, प्याराग्लाइडिंग जस्ता सहासिक खेलकुदमा एउटै समुह, संगै यात्रा गरिरहेकाहरु वा एकै परिवारलाई मात्र एक पटकमा सहभागी गराउने व्यवस्था गर्नु पर्नेछ ।

पदयात्रामा रहेकाहरुले गाउँघरमा बालबच्चाहरुलाई चकलेट या अन्य चिजहरु दिन नपाइने, अन्य पदयात्रा समुह वा स्थानीयहरुबाट टाढा रहनु पर्ने पनि गाइडलाइनमा उल्लेख छ ।