भित्रियो मनसुन

३० जेष्ठ २०७७, शुक्रबार १९:४८ मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता

सामान्यतया १० जुनमा भित्रिने मनसुन यो वर्ष दुई दिन ढिलो गरी शुक्रबार मुलुकको पूर्वी भागमा प्रवेश गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनमै पूर्वी भागबाट पश्चिमतिर फैलिने र मनसुनी गतिविधि देखिने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।
कस्तो होला मनसुन ?
नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुनमा सरदर वर्षा (नर्मल) हुने विज्ञहरुले आँकलन गरेका छन् । दक्षिण एसियाली मुलुकहरुको आगामी मनसुन प्रक्षेपण गर्न एक महिना अघि एको भर्चुअल छलफलमार्फत् विज्ञहरुले विश्वभर प्रयोगमा ल्याइएका मौसम विज्ञानसम्वन्धि मोडलहरुको विश्लेषण गर्दै त्यस्तो निष्कर्ष निकालेका हुन् ।
नेपालमा सरदर वर्षा आँकलन गरिए पनि पूर्वी नेपाल र पश्चिम नेपालको उत्तरी भेगमा सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको बताइन् । तराई क्षेत्रमा अलि कम वर्षा हुने आँकलन गरिएको छ । नेपालको आगामी मनसुनबारे विभागले आउँदो साता बुलेटिन निकाल्ने तयारी गरिरहेको छ । विभागले अहिले छलफलबाट प्राप्त तथ्यहरुलाई विश्लेषण गरिरहेको छ । सामान्यतया जेठ २७, २८ (जुन १०) देखि नेपालमा मनसुन सुरु हुन्छ । नेपालमा असोज पहिलो सातासम्म (सेप्टेम्बर २३) मनसुनी गतिविधि जारी हुन्छ ।
पृथ्वीमा ६ प्रकारका मनसुन सकृय छन । अफ्रिकी मनसुन, उत्तर अमेरिकी मनसुन, उत्तरपूर्व भारतिय मनसुन, दक्षिण एसियाली मनसुन र युरोपेली मनसुन । नेपालको मनसुन दुई खाले हावाबाट प्रभावित हुन्छ । दक्षिण–पश्चिम मनसुन र उत्तर–पूर्वी मनसुन ।
हिन्द महासागरबाट बंगालको खाडीहुँदै दक्षिणपूर्वी दिशाबाट बर्खा याममा आउने (गृष्मकालिन बर्षा) दक्षिण एसियाली मनसुन हो । हिँदमा अरवसागरबाट चिसो हावाले ल्याउने मनसुन (शितकालिन बर्षा) उत्तरपूर्वी भारतीय मनसुन हो । सूर्यलाई परिक्रममा गर्ने क्रममा पृथ्वी तथा पानी तात्ने र सेलाउने प्रकृयासँगै आकासमा बग्ने हावाको गति र बाटोको आधारमा मनसुन प्रभावित हुन्छ ।
हामी पृथ्वीले उत्तरी गोलार्धमा बस्छौं । पृथ्वी कक्षमा फरिक्रमा गर्ने त्रममा सूर्य उत्तरायण भै कर्कटरेखा पुग्दा पृथ्वीको जमिन बेस्सरी तात्ने गर्छ । तर जमिनको तुलनामा पानी ढिलो तात्ने हुँदा हिन्द महासागर, बंगालको खाडी र अरव सागर तातेका हुँदैनन । जमिन सूर्यको तापले तातेपछि हावा हलुका भै माथीमाथी उठ्छ । जमिनको हावा माथी उडेपछि रिक्त स्थानमा समुद्रको चिसो हावा जमिन तिर बग्न थाल्छ ।
पृथ्वी पश्चिमबाट पूर्वतिर फन्को मार्दै घुमिरहने हुनाले दक्षिणमा अवस्थित हिन्द महासागर र बंगालको खाडीबाट उठ्ने जलवाष्पयुक्त हावालाई उत्तरी क्षेत्रमा फैलिएको हिमालय पहाड श्रृखलाले छेक्ने हुँदा भारतको पश्चिमी तटबाट भित्र घुसेर नेपालको पूर्व मेचिहुँदै हिमालको फेदै फेद पश्चिम तर्फ बग्छ ।  समुद्रबाट आएको पानीबोकेको हावालाई हिमालमा ठोकिएर चिसिएपछि पानी भै बर्षा हुन्छ । त्यसैले नेपाल पस्ने मनसुनलाई दक्षिण–पूर्व मनसुन भन्ने गरिन्छ ।
मनसुनले मेघालय (भारतको) चेरापुन्जीमा अधिक बर्षा गराउँछ । नेपालमा भने गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाका सीमावर्ती अन्नपूर्ण गाउँपालिका (अन्नपूर्ण हिमालमा दुवैको दावी रहेकोले  आ–आफ्ना नाम अन्नपूर्ण राखेका छन) मा हुन्छ ।