‘शासकहरू जहिल्यै म र मेरोको घेरामा रहे’

२५ जेष्ठ २०७७, आईतवार १२:२१ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

त्रिखण्डी शिक्षा (१०० मा ३३ नम्बर ल्याएर पास हुने) पद्धतिका विरुद्ध शतप्रतिशत पढ्ने, बुझ्ने र प्रयोग गर्ने गुरुकुलीय पाठशालाले जन्माएका थोरै विद्यार्थीमध्येका एक हुन्– डा. महेशराज पन्त । जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट ‘संस्कृत लेक्सिकोग्राफी’ मा विद्यावारिधि गरेका पन्तको नेपालको इतिहास सच्याउने र अभिलेखीकरणमा अग्रणी भूमिका छ ।

इतिहासविद् नयराज पन्तले २००९ सालमा २१ सदस्य लिएर सुरु गरेको इतिहास संशोधन–मण्डलमा अहिले महेशराज र उनका भाइ प्राध्यापक दिनेशराज मात्रै सक्रिय छन् । संशोधन मण्डलले २०२१ सालदेखि प्रकाशन गर्न थालेको अनुसन्धानमूलक पत्रिका ‘पूर्णिमा’ १४४ अंक निस्किएपछि दुई वर्षयता बन्द छ । इतिहासमा भइरहेको लहडबाजी, संशोधन र सच्चिन नसकेको संस्कारका बारे ७५ वर्षीय पन्तसँग कान्तिपुरका देवेन्द्र भट्टराई र बिनु सुवेदीले गरेको कुराकानी :
राजनीतिक र सामाजिक परिवर्तनका हिसाबले छोटो समयमा नेपालले लामो फड्को मारेको देखिन्छ । तर ऐतिहासिक दस्ताबेज खोज्दा भेटिँदैन । हामी नेपाली जाति आफ्नो विगत छिट्टै बिर्सिनेमा पर्छाैं कि के हो ?
यो म नजन्मँदैको कुरा हो । जुद्धशमशेरका पालामा हाम्रा एक जना आफन्त थिए– रामजी तिवारी । कुनै सरकारी अड्डामा काम गर्ने रामजीलाई हनुमानढोकामा भएका काम नलाग्ने जति कागजात धुल्याउनका लागि खटाइएको रहेछ । छान्दै जाँदा त्यहाँ त बोराका बोरा इतिहासका लागि उपयोगी कागज भेटिएछ । सय थान जति फाल्न नहुने कागजात बटुलेर ल्याएर उनकै जीवनकालमा केही प्रकाशमा पनि आए । पछि रामजीको देहान्तपछि कतिपय कागजात हामीले ‘पूर्णिमा’ मा पनि छपाइदियौं ।

त्यही बेलाको पत्राचारको सामग्रीलाई अंग्रेजहरूले ‘पेपर्स रेस्पेक्टिङ द नेपाउल वार’ नामले सन् १८२४ मा छापे । हो, अंग्रेजले भने इतिहासको रक्षा यसरी पनि गरेका छन् । हामीकहाँ भने न इतिहासको जगेर्ना छ, न सोधखोज ।
इतिहास अभिलेखीकरणमा अहिले पनि हामी लापर्बाह नै छौं ?
धेरै अघिका कुरा नगरौं । दुुई वर्षअघि मात्रै यस्तै घटनाका बारे सुनेको थिएँ । २०७२ सालको भूकम्पमा डिल्लीबाजार मालपोत कार्यालय भत्किएको थियो, स्थिति सम्हालिनसक्नु बनेको थियो । त्यहाँका ऐतिहासिक महत्त्वका कागजात संग्रह गर्न, संकलनमा राख्न नसकेको अवस्थामा त्यहीं खनेर ती कागजातको डंगुर गाडिएको रहेछ, यो सुनेर म अचम्ममा परेको थिएँ ।

ज्ञानेन्द्रको छाप अहिले कहाँ छ त ? ज्ञानेन्द्रले लालमोहर लगाउने छाप कहाँ छ त ? हो, जुहारत भएको हुनाले सबैको आँखा श्रीपेचमा गयो, अरू कागजातमा कसको के ध्याउन्न रहन्थ्यो र ?

अर्को उदाहरण मेरै परिवारमा छ । संवत् १८४८ मा भएको कुमाउ–गोर्खाको सन्धिमा मेरा हजुरआमाका पुर्खाका तर्फबाट सन्धि गर्न गएका थिए । उनले सन्धि गरेर आएपछि त्यो सन्धिपत्र आफ्नै घरमा राखिदिए । अन्त भए त्यो फालिन्थ्यो होला, हामीकहाँ भएकाले रहिरह्यो । त्यो कागजात प्रकाशनमा आइसकेको छ ।
अहिले मसँग जुम्ला राज्यको एउटा नक्सा छ, अंग्रेज युद्धपछि र जंगबहादुर काल अगाडिको । त्यो नक्सा हातैले लेखिएको छ र त्यो हाम्रै पद्धतिबाट बनेको नक्सा हो । अहिले हामीलाई के भ्रम पारिएको छ भने नक्साजति सबै अंग्रेजले ल्याएका हुन् । त्यसो होइन, नक्सा हामी आफैंले बनाउँथ्यौं । त्यसबेला जुम्लाको नक्सा बनेको थियो भने दार्चुलाको पनि बनेकै थियो होला । अहिले नयाँ नक्सा र लिम्पियाधुरासम्मको बहस–विवाद चलेका बेला यस्ता ऐतिहासिक सोधखोज बाहिर आउन सक्नुपर्‍यो नि ।
हामीकहाँ पनि राष्ट्रिय अभिलेखालय, पुरातत्त्व विभागहरू छन् नि ?
छन् नि । केही वर्ष अगाडि अभिलेखालयका स्टाफहरूलाई दक्षिण कोरियाले भ्रमण गराउन लगेछ । घुमेर आएपछि उनीहरूले ‘हामी यति थोरै मान्छेले यसरी अभिलेखालय चलाएका रहेछौं, दक्षिण कोरियाको अभिलेखालय काममा ६ सय जना कर्मचारी रैछन्’ भनेर गफ दिएको सुनियो । हो, दक्षिण कोरियाली अन्वेषणकर्ताले ठूला–ठूला किताब छापेका छन् । शोध–अनुसन्धानका प्रशस्त काम गरेका छन् । मैले एकपटक हाम्रो अभिलेखालयका कर्मचारीलाई सोधेको थिएँ– तिमीहरूले के–के काम गरेका छौ ? जवाफ थिएन । एउटा पत्रिका आउँछ, ‘अभिलेख’ नाममा । त्यो पनि ‘आउटसोर्सिङ’ मा चलेको छ । हाम्रा अर्काइभको जनशक्ति इतिहास–संस्कृतिका कुराहरू रेडिमेड किताबमा पढ्छन् । उनीहरूलाई लिपि पढ्न भनिएको छ, तर लिपि के हो, थाहा छैन ।
लुम्बिनीको अशोक स्तम्भबारे लेख भन्यो भने रेडिमेड किताबकै पाठ सार्छन् । त्यस्तै अर्को अभिलेख उही प्राचीन भाषामा लेख भन्यो भने पसिना निकाल्छन् । अहिले लिपुलेक–लिम्पियाधुराबारे आएका कागजात लगेर पढ्न दिनुस् त, उनीहरू हाट्टहुट्ट गर्लान् तर राम्रोसँग पढ्न सक्दैनन् । हाम्रो अभिलेखालयमा बस्नेमध्ये भारतबाट अभिलेखालय विज्ञान पढेर आएका एक जनाले भनेका थिए– ‘हामी त ‘अर्काइभ’ गर्न जान्दछौं, अभिलेखको सुरक्षा गर्ने काम हाम्रो हो । लिपि पढ्ने वा बुझ्ने काम हाम्रो होइन ।’
हामी ब्रिटिस लाइब्रेरीको कुरा गर्छाैं । भारतकै नेहरू पुस्तकालयको कुरा गर्छाैं तर आफूमा ‘इन्स्टिच्युसनल मेमोरी’ राख्ने विषयलाई किन कहिल्यै जरुरी ठानेनौं ?
यो एउटा व्यक्तिले गर्ने कुरा होइन । केही व्यक्तिको समूह मिलेर चलाएको ‘संशोधन मण्डल’ ले त इतिहास शुद्धाशुद्धिमा केही काम गर्न सकेको छ, राज्यले र तपाईंले भनेजस्तो ‘इन्स्टिच्युसनल मेमोरी’ पद्धति भइदिएको भए देखिने गरीको काम हुन्थ्यो होला । अब हाम्रो परराष्ट्रकै कुरा गरौं न । परराष्ट्रका सामग्रीहरू, जैसीकोठादेखिका कागजातहरू अभिलेखालयमा जिम्मा लगाइएको १० वर्षभन्दा बढी भइसक्यो । अहिले सीमा समस्यासहितका विषयमा बहस चर्किएका बेला ती ऐतिहासिक सामग्रीको उत्खनन, अध्ययन–मनन हुन सके धेरै कुरा पाइन्थ्यो कि ?

त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा प्राचीन इतिहास पढाउन थालेको ६० वर्ष भइसक्यो, अहिलेसम्म एउटै पनि अभिलेख पढ्ने वा प्रतिमाको व्याख्या गर्ने अब्बल विद्यार्थी निस्केका छैनन् ।

मलाई नै चार/पाँच जनाको जनशक्ति दिएर त्यहाँ खटाउने हो भने म त्यसलाई विषयको छ्यान गर्न सक्ने थिएँ, सामग्री सूचीकृत हुन सक्थ्यो । तर उनीहरू आफू पनि गर्दैनन्, अरूलाई पनि गर्न दिन्नन् । त्यतिखेर राजदरबारमा हुने कागजात र दस्तावेजको भण्डारण स्थल ‘लाल बाकस’ आज कहाँ छ ? यसबारे कसैलाई थाहा छैन । त्यही बाकसमा राजाको छाप हुन्थ्यो । ल टाढा किन जाने ? ज्ञानेन्द्रको छाप अहिले कहाँ छ त ? ज्ञानेन्द्रले लालमोहर लगाउने छाप कहाँ छ त ? हो, जुहारत भएको हुनाले सबैको आँखा श्रीपेचमा गयो, अरू कागजातमा कसको के ध्याउन्न रहन्थ्यो र ?
‘इतिहास जित्नेको मात्रै लेखिन्छ’ भनिन्छ नि । तर हामीकहाँ न जित्ने न हार्नेकै सच्चा इतिहास लेखिएको छ । तपाईंलाई के लाग्छ ?
इतिहास भनेको त अब जसले प्रचार गर्छ, उसैको न आउने हो– लिखित रूपमा । नेपालमा भने पीडितहरूको इतिहास जहिले पनि हामीले कोट्याएरै खोज्नुपर्ने हो । किनभने उनीहरू त उत्पीडित थिए । नेपालको हकमा राजा–महाराजा, उच्च पदस्थ र कुलीनहरूले इतिहास लेखे । रैतीका कुरा छोपिएरै रहे । यहाँ न जितको सही इतिहास छ, न हारकै ।
मानौं, इतिहास आजैबाट सुरु हुन्छ जस्तो गरेर कहिले सहिदगेटका सालिक भत्काइन्छ, कहिले बीच सडकको भानुभक्तको अर्धकद हटाइन्छ । इतिहास आजैबाट सुरु हुँदैन भनेर किन कसैको चेत आएन ?
मलाई एउटा गजब लागेको कुरा भन्छु है । तपाईंलाई त थाहै होला– चित्तधर हृदय नामका कविका बारे । उनी नेवारी भाषाका कवि हुन् । १२/१३ सालमा राजा महेन्द्रले उनलाई कविकेशरीको उपाधि दिएर महिनाको २ सय रुपैयाँ भत्तासमेत दिन थाले । चित्तधरले त्यो कुरा कहिल्यै सोचेका होलान् त, जहाँ कालीमाटीमा महेन्द्रको सालिक ढालेर त्यही ठाउँमा उनको सालिक राखिएला भनेर ? अब यिनै चित्तधरको सालिक पनि कुनै दिन फालिँदैन भन्ने के ग्यारेन्टी छ र ?

शासकहरू जहिल्यै ‘म र मेरो’ घेरामा रुमलिइरहे, अहिले अप्ठ्यारो परेका बेलामा एकाएक पलाएको राष्ट्रियताको भावनाले मात्रै के गर्न सक्छ र ?

अब अहिले हेर्नुस् न, जहाँ पनि गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीका नाममा हस्पिटल बनाइएको छ । के नेपालको सामाजिक–राजनीतिक इतिहासमा यी मात्रै शिलालेखमा उभिनुपर्ने नामहरू हुन् र ? बरु पञ्चायतकालमा कान्ति ईश्वरी विद्यालय त उनीहरूले आफ्नै खर्चमा बनाएका हुन्, त्रिभुवन विश्वविद्यालय पनि स्थापना गर्दाताका सरकारको खर्च लागेको थिएन । अहिले भने हाम्रा शासकले जानीजानी सरकारकै खर्चमा पजनी गर्ने काम गरिरहेकै छन् ।
‘म र मेरो’ को घेरा अहिले डरलाग्दो बनेको छ । बरु पञ्चायतकालकै एउटा घटना म सम्झन्छु । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट सूर्यविक्रम ज्ञवालीको ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ पुस्तक छापिएको थियो । हामी संशोधन मण्डलका तर्फबाट उक्त पुस्तकमा भएको त्रुटि देखाउँदै धूवाँदार खण्डन गर्‍यौं । पछि राजदरबारमा भएको एउटा पत्रकार सम्मेलनमा राजा महेन्द्रलाई सोधिएको रहेछ– तपाईं कुलपति रहेकै प्रज्ञा प्रतिष्ठानले छापेको पुस्तकमा भएको गल्तीबारे बाहिर चर्चा छ, के भन्नुहुन्छ ?
राजाले जवाफमा भनेका रहेछन्– ‘जे जहाँबाट भए पनि सत्य कुरा बाहिर आउनुपर्छ ।’ हो, त्यसबेला यतिसम्म पारदर्शिता र सत्य कुराको सुनुवाइ भएको स्थिति थियो । अहिले शासन, सत्ता र शक्ति भएपछि ‘म र मेरो’ घेराबाट कोही पनि अघिपछि गर्नै नचाहेको स्थिति छ ।
नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्साको बहस चलिरहेका बेला दसी प्रमाणका रूपमा हामीलाई चाहिने ऐतिहासिक दस्तावेजहरू कहाँ–कहाँ छन् होला ? यसमा कसरी संयोजनकारी भूमिका खेल्न सकिएला ?
परराष्ट्रमातहतका सामग्रीहरू त अभिलेखालयमा आइसकेको छ । यसमा ‘क्लासिफाइड’ गर्दै भनेर छुट्याइएको छ रे । यसमा त हाम्रो पहुँच हुने कुरा पनि भएन । केही दस्तावेज दरबारमै अड्किएका छन् कि ? मालपोतमा पनि हुन्छन् पुराना डकुमेन्टहरू । पहिले तेजारथ अड्डा भन्ने पनि थियो । यस्ता अड्डाहरूमा खोजीनिती गर्‍यो भने फेला पार्न सकिन्छ । तर कसले कसलाई के भन्ने ? यस्ता सामग्री खोजीनिती गर्न बनाइएका समितिहरूमा हामीले ठाउँ पाउँदैनौं ।
काठमाडौंको गुठी संस्थानमा को ‘विज्ञ’ बसेको छ ? गुठीमा हुन सक्ने कागजातका बारे को–कति जानकार छ ? कलकत्ता युनिभर्सिटीमा हिन्दुवादी आशुतोष मुखर्जी उपकुलपति भएर आएपछि उनले त्यहाँका समाजवादी र हिन्दु धर्मका विरोधीहरूलाई पनि छानीछानी लगेर विश्वविद्यालयमा जागिर दिएका थिए रे । काम निकाल्ने, काम देखाउने त यसरी हो नि । तर हामीकहाँ न अध्ययन, न अनुसन्धानको थिति देखियो ।
‘फर्गेट यस्टर्डे’ भन्ने नेपाली स्वभाव र मानसिकताका कारण पनि इतिहासका कुरा जोगाउनुपर्छ भन्नेतिर मन नगएको हो कि ?
यसै त भन्ने होला । आज देशको सिमाना र भू–स्वामित्वको कुरा गर्दा आखिरमा आफ्नो (व्यक्तिगत) एक इन्च जमिन पनि घटेको हैन । किन लडिरहने भन्ने मानसिकता व्याप्त देखिन्छ । म आफैं डल्लुको मेरो यो घरनक्सामा एक इन्ची कोही हडप्न, पेल्न आयो भने म चुप लागेर बस्छु र ? अस्ति एउटाले चिया पसलमा टीभी हेरेर भन्दैथ्यो– के झगडा गरिराको होला ? लिम्पियाधुरा–लिपुलेकमा आखिर केही फल्ने हैन, एउटा रूखसुख पनि नउम्रिने माटो रैछ । छाडिदिए भैगो नि ।
यसरी मेरो देश, मेरो भूगोल, मेरो माटो भन्ने सोचाइ नै हामीकहाँ हुर्कनै सकेन । यो भावना आफैं हुर्कनेभन्दा पनि यहाँका शासक र राज्य पद्धतिले अपनत्वको भावना जनतामाझ हुर्काउनै नसकेको हो । शासकहरू जहिल्यै ‘म र मेरो’ घेरामा रुमलिइरहे, अहिले अप्ठ्यारो परेका बेलामा एकाएक पलाएको राष्ट्रियताको भावनाले मात्रै के गर्न सक्छ र ?
इतिहासमा ‘ओरिजिनालिटी’ को अर्थ र स्थान विशिष्ट हुन्छ । हामीकहाँ भने तथ्य–प्रमाणका आधारमा भन्दा पनि जो पनि इतिहासकार, जो पनि विज्ञ र व्याख्याता भन्ने होड देखिन्छ नि ?
फोटोकपी भनेपछि अलिअलि खुइलिएकै हुन्छ, फिक्काजस्तो । हामी भारत, भारतीय पद्धतिका ‘फोटोकपी’ मात्रै भयौं । भारतीयहरू अझैसम्म अंग्रेजको जुत्तामा आफ्नो खुट्टा छिराएर हिँडिरहेका छन् भनिन्छ । हामी भने तिनै भारतीयको सिकोमा हुन्छौं । यहाँ प्रशासनिक स्टाफ, अरू कर्मचारीहरू भारतमा तालिम लिन गइरहेका भेटिन्छन् । जहाँ ‘ओरिजिनालिटी’ छैन, त्यहाँबाट के सिक्ने ? त्यो भनेको फोटोकपीको फोटोकपी मात्रै हो । यसो भएपछि सबै जना विज्ञ र सबै व्याख्याता निस्कन्छन् नै । यही कारण यहाँ भगवान् बुद्धदेखि आदिकवि भानुभक्तसम्मका आ–आफ्नै किस्सा जन्माइएको छ ।
मैले सधैं भन्दै आएको छु– त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा प्राचीन इतिहास पढाउन थालेको ६० वर्ष भइसक्यो, अहिलेसम्म एउटै पनि अभिलेख पढ्ने वा प्रतिमाको व्याख्या गर्ने अब्बल विद्यार्थी निस्केका छैनन् । सबै ‘रेडिमेड’ प्रश्नका बनिबनाउ उत्तरजस्ता मात्रै छन् । यो कटु यथार्थ हो । आफ्नै कुरा गरेजस्तो हुन्छ तर यथार्थमा हाम्रो समयको पढाइ र संशोधन मण्डलको उपलब्धि भने स्पष्टै देखिन्छ । संशोधन मण्डलको पढाइ पद्धति सफल भइदिएको भए आज त्रिभुवन विश्वविद्यालयका मानविकी, संस्कृत, इतिहास संकाय वा सिनास वा यस्तै अनुसन्धानकारी निकाय चाहिँदैनथे होला । तर भइदियो के भने हाम्रै टोलीका हामीहरू सबैजसो नै भनौं न– ‘अर्थ संग्रह शास्त्री’ बन्न थाल्यौं । भनौं न, जानी–नजानी पैसाको पछि लाग्यौं ।
साँच्चै भन्ने हो भने हाम्रो समग्र पद्धति त्रिखण्डीबाट माथि उठ्न सकेको छैन । सिंगो मुलुकको पद्धति त्रिखण्डी बनेको छ । आज फोटोकपी गरिएको निवेदन बोकेर हिँडेका छन्, एमए पढेकाहरू । आज पढाइलाई दिमाग होइन, पेटसँग जोडिदिएको अवस्था छ । यस कारण सम्पूर्ण ज्ञानमा १०० होइन, ३३ मात्रै पढेर पनि ‘प्रा.डा.’ लेख्न र कहलिन सकिने समय आएको छ ।
राज्यलाई, समाजलाई आइपरेका बेला र सही उत्खननको यो घडीमा तपाईँजस्ता विज्ञहरू आफैं अग्रसर भएर खोजबिन तथा प्रमाण जुटाउने काममा लागिपर्दा हुँदैन र ?
त्यसो होइन, हाम्रो आवश्यकता नै कहिल्यै महसुस गरिएन जस्तो लाग्छ । राज्य पद्धति वा संस्थागत रूपमा कतैबाट ‘अफर’ नआई हामीले आफैं अग्रसर भएर केही काम गर्दाको आधिकारिकता के रहन सक्ला ? उसो त, विगतमा संशोधन मण्डलले बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रूपरेखा’, भैरवबहादुर प्रधानको ‘मध्यकालीन नेपाल’ र सूर्यविक्रम ज्ञवालीको ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ जस्ता स्थापित कृतिमाथिको संशोधन प्रस्ताव र अडान (२०२०) ले पाठ्यक्रमको स्वरूप फेर्नैमा मद्दत गरेको दृष्टान्त छँदै छ ।
यस्तै, लेखक ड्यानियल राइटको ‘हिस्ट्री अफ नेपाल’ पुस्तकमा नेपालको इतिहास छद्म रूपले लेखिएको प्रमाण पेस गरेपछि विश्वविद्यालय पाठ्यक्रमबाटै हटाइएको थियो । अहिले पनि नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साका बारेमा प्रमाण संकलन भइरहेका बेलामा मैले पाएको मध्ये एउटा जुम्लाको पत्र पनि समेटिएको रहेछ । अहिलेको मुद्दामा बिनाअर्थमा यो पत्र किन समेटिएको हो ? मैले बुझ्न सकेको छैन । सायद नेपाली पुरानो मानक भाषा पढ्न र बुझ्न नसकेर हो कि ?
अर्कोचाहिँ, भर्खरै नेपाली सैनिक मुख्यालयले ‘युनिटी’ नामको एउटा जर्नल छापेको रहेछ जहाँ छापिएका लेखलाई २ लाख रुपैयाँसम्म दिइएको पत्रपत्रिकाबाट थाहा भयो । मैले रक्षा मन्त्रालयका एक चिनारुलाई भेटेर पत्रिका मगाएर हेरेको थिएँ । न शोध छ, न अध्ययन । न कसैले पढेर आलोचना गर्छ, न कसैले समर्थन । हाम्रै जंगी अड्डाले ‘सैनिक इतिहास’ को पुस्तक ११ वर्षअघि छापेको थियो, अहिले फेरि छाप्दै छ रे । यसमा न माओवादी इतिहास छ, न सेनाका आलोचनात्मक कुराहरू । इतिहासका कुरामा यसरी ‘मनलाग्दी’ भएर कसरी हुन्छ र ?
यो अहिले मुलुकको राजनीतिक र प्रशासनिक नक्सा फेरिएको इतिहासकै ठूलो घटनामध्ये एक होइन र ?
पक्कै हो । तर यो पनि अलिकति राजनीतिक विषय भयो कि भन्ने लागेको छ मलाई । राजनीतिक स्लोगन, भाषण, चर्का कुराभन्दा पनि प्रमाणपुर्जाका साथमा हामीले वार्तामा बस्नैपर्छ । यसका लागि वार्ताको माहोल बनाउनै पर्छ । नयाँ नक्सा छाप्ने अनि हामी यसलाई लिएर ‘द हेगमा जाने हो’ भने यो शतप्रतिशत गलत कामकुरा हो । राजनीतिक नक्सा परिवर्तन भएको घटना एउटा साहस हो । जनता ज्यादै कराएपछि र अनेक दबाबले नक्सा फेर्नुपर्ने बाध्यता आएको हो । तर यत्तिकै भरमा इतिहासको यो ठूलो घटनालाई पुष्टि गराएर छाडिनेछ भन्ने भ्रम भने पाल्नु हुन्न । जानुपर्ने, गर्नुपर्ने र हिँड्नुपर्ने बाटो लामो छ ।
जन्मँदा के–कसरी र कुन हैसियतमा जन्म भयो, मतलब हुन्न । तर मर्दाखेरि भने धनीको बाबु भएर मर्ने मोहले सम्पूर्ण संस्कार प्रेरित भएको देखिन्छ । यो भौतिकवादी संस्कार हामीकहाँ मात्रै किन बढ्यो ?
पहिला विद्वान्‌हरुको आदर्श गरिबी थियो, अहिले स्थिति अलग छ । यतिखेर एउटा धनाढ्य व्यापारीको सन्तान र मजस्ता मध्यम वर्गीय परिवारको सन्तानको लवाइखवाइ वा जीवनशैलीबीचमा खासै अन्तर छैन । यो म धनी भएर होइन कि यो औसत जिन्दगीको कुरा हो । अरू सबै आदर्शहरूभन्दा ‘पैसाको कुरा’ सबैको प्राथमिकतामा पर्न थालेको स्थिति अहिले छ ।
https://ekantipur.com/Interview/2020/06/07/1591504016352462.html

देवन्द्र भट्टराई र विनु सुवेदीले लिएको डा.महेशराज पन्तको अर्न्तवार्ता हामीले कान्तिपुर दैनिकको अनलाईनबाट साभार गरी प्रस्तुत गरेका हौं । –सम्पादक