- Loading...
भारतबाट फर्केका जिल्ला आउन थाले, कोरना संक्रमणको त्रास बढ्यो
- पुनहिल डट कम
- ४ साल अघि
- ११० पटक पढिएको
भारतका विभिन्न सहरबाट फर्कनेक्रमा सीमा क्षेत्रमा अलपत्र जिल्लाबासीको उद्धार सुरु गरिएको छ । कोरना संक्रमणको उच्च जोखिममा रहेका उनीहरुलाई सदरमुकाम बेनीमा तोकिएको क्वारिन्टीनमा १४ दिन राख्ने र पिसिआर टेष्टगरेर मात्र घर पठाईने छ ।
रुपन्देहीको सुनौली नाकाबाट उद्धार गरी ल्याएका ११ जनालाई बेनीको न्यू वेष्ट पोईन्ट स्थिती क्वारिन्टीनमा राखिएको जिल्ला कोरना संकट ब्यवस्थापन केन्द्रले जनाएको छ । शुक्रवार विहान बेनी आईपुगेकामा बेनी नगरपालिकाका ६ जना, मालिका गापाका ४ जना र अन्नपूर्ण गापाका १ जना छन । थप ४९ जना भारतको विभिन्न नाकामा अलपत्र छन । उनीहरुलाई शुक्रवार रातीसम्म उद्धार गरी शनिवार बेनी ल्याउने तयारी भएको छ ।
‘भारतबाट फर्केका सवै कोरना संक्रमणको उच्च जोखिममा रहेका छन । कम्तीमा एक हप्ता क्वारिन्टीनमा राखेर सवैको पिसिआर टेष्ट गराउने योजना बनाएका छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सदरमुकामबाट गाउँपालिकामा लैजाँदा थप गाडी, श्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी परिचालन हुनु पर्नेहुँदा धेरैमा संक्रमण जोखिम हुने भएकोले सवैलाई सदरमुकाममा राख्ने र खर्च गाउँपालिकाले ब्यहोर्ने नीति बनाएका छौं ।’
कोरना संकट ब्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार कैलाली जिल्लाको गौरीफन्टा नाकामा २९ जना, महेन्द्रनगरको गड्डाचौकी नाकामा १० जना, काकटभिट्टा नाकामा ८ जना र रुपन्देहीको सुनौली नाकामा ५ जना अलपत्र रहेका छन । सीमा क्षेत्रमा अन्य धेरै जना अझै अलपत्र हुन सक्ने भएकोले खोजी भैरहेको छ ।
कोरना उच्च जोखिम रहेका मान्छेहरु ठूलो संख्यामा भित्रेसँगै संञ्चालनमा रहेको २० बेडका न्यू वेष्टपोईन्ट स्थित क्वारिन्टीनले नथेग्ने भएपछि म्याग्दी बहुमुखी क्याम्पसमा ६० बेडको क्वारिन्टीन बनाईएको छ । भारतबाट फर्केकामध्य कम्तीमा ५० जनालाई क्याम्पसको क्वारिन्टीनमा राखिने भएको छ ।
शुक्रवार थप गरिएको म्याग्दी क्याम्पसको ५० बेड क्वारिन्टीनबाहेक कोरोना संक्रमण रोक्ने उद्देश्यले जिल्लामा सवै ६ वटै स्थानीय तहमागरी १ सय ७३ बेड क्षमताको क्वारिन्टीन निर्माण भए । यी क्वारिन्टीन स्थापना तथा संञ्चालन खर्च विधी र विवरण भने सार्वजनिक गरिएका छैनन ।
यी क्वारिन्टीनमा विदेशबाट फर्केका मात्र होईन सहरबाट पुख्यौली थलो फर्केका समेत ३ सय ६७ जनालाई क्वारिन्टीनमा बसेर घर फर्केका थिए । कोरना रोकथाम तथा नियन्त्रण गर्न सुरु गरिएको लकडाउन र तत्काल थालिएका क्वारिन्टीन, आईसोलेसन कक्ष निर्माण समेत सम्बन्धीत गतिविधीको खर्च कार्यविधी र खर्चका विवरण सार्वजनिक गर्न ढिला गर्नु हुँदैन ।
चैत ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै हतारमा विना पूर्वाधार सुरु गरिएको क्वारिन्टीनमा अन्धाधुन्दा लगानी गरेका स्थानीय तहले कुन कुन शिर्षकमा कति रुपैयाँ खर्च भएको विवरण तयार पार्न सकेका छैनन । लकडाउनको महिनादिन पछि सहरबाट गाउँ फर्कनेको लर्को लागेपछि क्वारिन्टीन खर्च ब्यवस्थापनमा टुङ्गो नभएको स्थानीय तहले बताएका छन ।
कोभिड–१९ प्रकोप कन्ट्रोल कमाण्ड पोष्टको संयोजक रहेको जिल्ला प्रशासन कार्यालयले वैशाख २३ गते गृह मन्त्रालयलाई गरेको रिपोर्ट अनुसार जिल्लामा सवैभन्दाबढी धौलागिरी गाउँपालिकाले १ सय ४ जनालाई क्वारिन्टीनमा राखेको छ । यी सवै सहरमा लकडाउनले मुस्किल भएपछि काठमाण्डौ समेत सहरबाट गाउँ फर्केका हुन ।
दुर्गम धौलागिरी गाउँपालिकाले ४० बेड, मालिका गापामा ८ बेड, मंगला गापामा १० बेड, अन्नपूर्ण गापामा १५ बेड, रघुगंगा गापामा १५ र बेनी नगरपालिकामा २० बेड क्षमताका क्वारिन्टीन निर्माण गरिएको थियो ।