बाँझो फोड्दै गाउँले, अनुदान आशा बाँड्दै स्थानीय सरकार

८ जेष्ठ २०७७, बिहीबार १४:१४ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

विप्रेषणले आयस्ता बढेसँगै सहर बसाँई झरेपछि बाँझिएका गाउँका खेतियोग्य जमिन वर्षौपछि फोड्न थालिएको छ ।

कोरना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको लकडाउनले सहरमा चुहृो बाल्न मुस्किल भएपछि  गाउँ फर्केकाहरु धमाधम पुख्यौली बाँझो खेतवारीमा उम्रेका झाडी फाँडेर खनजोत गर्न थालेका हुन । सहरबाट गाउँमा फर्केपछि फुर्सदमा रहेकाहरु फुर्सदको सदुपयोग पनी हुने र संभावित खाद्य संकटको सामना पनि गर्न सकिने आंकलन गरी बाँझो खेतमा खनजोत थालेको बताएका छन ।

जाँगरिला कृषकले बाँझो खेतवारी खनजोत गरेको देखेपछि उत्साही भएका स्थानीय सरकारले लकडाउनमा गाउँ फर्केकालाई कृषीमा आर्कषित गर्न अनुदान घोषणा गरेका छन । लकडाउने निम्ल्याउने संभावित खाद्य संकट टार्न बाँझो खेतवारीमा उन्नत खेतीमा कृषकलाई आकर्षित गर्न अनुदान दिने नीति लिएको गाउँपालिकाले जनाएका छन । तर अनुदान कसरी वितरण गरिने हो प्रष्ट कार्यविधी भने बनाएका छैनन । अहिले सम्म मौखिक अनुदान बाँडेका छन ।

‘बाँझो जग्गामा अन्नवाली, तरकारी, फलफुल र जडिबुटी खेती सुरु गर्ने कृषकलाई औजारमा, विउ/विरुवा खरिद/ढुवानी र उत्पादनमा अनुदान दिने गाउँपालिकाले निर्णय गरेको छ’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘लकडाउनका वेला सहरबाट फर्केर आएका गाउँको बाँझो रहेको पुख्यौली खेतवारीमा ब्यवसायीक कृषी ब्यवसाय गर्न चाहनेलाई प्रोत्साहन गर्न गाउँपालिकाले आर्थिक तथा प्राविधिक अनुदान दिने कार्यविधी निर्माण गरिरहेका छौं ।’

मालिकाको दुखु, धौलागिरीको गुर्जा समेतका वस्तीमा बाँझो खेतमा ब्यवसायीक तरकारी, फलफुल र जडिबुटीको सामुहिक खेती गर्न थालेका छन । मालिका गाउँपालिका, ६ दुखुलेकका ६० घरपरिवारले बर्षौंदेखी बाँझो भएको २ सय ८० रोपनी जग्गाको झाडी फाँडेर सामुहिक फलफुल (किविी खेती, तरकारीमा लेकाली सीमी खेती र मसलाजन्यमा टिमुर खेती थालेका छन । कृषकले दैलोमै अनुदान पाउन थालेपछि सामुहिक कृषी तथा जडिबुटी खेती आकर्षित छन ।

‘यहाँको वडामा एक घर एक उत्पादन खेती अभियान अर्न्तगत वस्तीका सवै घर मिलेर लेकको बाँझो वारीमा ब्यवसायीक फलफुल, तरकारी र मसलाजन्य खेती गत थालेका हौं’ मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘सवै घरधुरी समेटेर कृषी सहकारी गठन गरी सामुहिक खेती थालेका छौं । गतबर्षदेखी सुरु भएको सामुहिक खेतीमा यस वर्ष सहरबाट गाउँ फर्केका परिवार समेत जोडिनु भएको छ । उत्पादिन खाद्यान्न तथा फलफुल विक्रिको सुनिश्चित गरिएकोले समस्या छैन ।’

बाँझो जमिनको अधिकतम उपयोग गर्न कृषकलाई प्रोत्साहनगर्न गाउँपालिकाहरुले उपकरण र उत्पादनमा अनुदानको नीति लिएका छन । जिल्लाको दुर्गम धौलागिरी र मालिका गाउँपालिकाले खाद्यबालीको साथै उच्च बजार मुल्य भएका दलहन (सिमी, केराउ), फलफुल, जडीबुटी खेती तथा माशुजन्य पशुपंक्षी पाल्ने कृषीलाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी कोरना भाईरस र लक डाउनले निम्ताउन सक्ने संभावित खाद्य संकट/भोकमरी रोक्न यहाँका स्थानीय तहले वस्ती तहमा खाद्य बैंक सरु गरेका छन । खाद्य वैंकमा स्थानीय तहमा उत्पादन भएका/हुने धान, मकै, कोदो, जौ/गहुँ समेतका खाद्यान्न संकलन भैरहेको छ । गाउँपालिकाको आर्थिक लगानीमा स्थापना भएका खाद्य बैंकबाट खाद्यान्न संकटका बेला भोकमरीको जोखिममा परेकाले सुपथ मुल्यमा खरिद गर्न सक्नेछन । आवश्यकता अनुसार खाद्यान्न अनुदान दिन पनि सकिने छ ।

‘गाउँपालिका भित्रका सवै  वडामा कम्तीमा १० मुरीभन्दाबढी बढी गहुँ, जौ, मकै लगाएत स्थानीय उत्पादन संकलन गरी खाद्य वैंक सुरु गरेका छौं । वैंक संञ्चालन कार्यविधी निर्माण चरणमै छ तर भर्खरै अन्न संकलन नगरे जाँड बनाउनेमा सकिन्छ’ गापा अध्यक्ष पुनले थपिन्, ‘माथिल्लो क्षेत्रमा मुख्यवाली गहुँ, जौ खेतीमा हिउँले र पाक्ने समयमा असिनाले ब्यापक क्षती पुर्‍याएको छ । लकडाउन लम्बिने र खाद्यान्न ढुवानी रोकिए जनता भोकै मर्छन । त्यसैले गाउँपालिकाको बजेटबाट खन्न किन्न थालेका हौं ।’

साविक जिल्ला विकास समितिले आव २०७०/०७१ मा प्रकाशित गरेको जिल्ला प्रोफाईलमा राखेको कृषी तथ्याङ्ढ अनुसार जिल्लाको कुल ३० हजार ८ सय ५६ हेक्टर खेतियोग्य जमिनमध्य १५ हजार ४ सय ९४ हेक्टर जमिनमा खेति हुन्छ । बाँकी जमिन बाँझो भएका छन । खेतियोग्य जमिन मध्य बेनी नगरपालिका र मंगला गाउँपालिकामा बाहेक अन्य स्थानीय तहमा बाँझो जमिन धेरै छ ।

वीउ, क्षति र पशु आहारामा प्रयोग भएबाहेक ७ हजार चार सय ८४ मे.टन धान, पाँच हजार ६९ टन गहुँ, दुई हजार पाँच य ८२ मे.टन मकै मात्र खान योग्य उत्पादन हो । मदिराको अधिक उत्पादनले खाद्य सुरक्षा समस्या भएको हो ।

‘जिल्लाका ८० प्रतिशतबढीले चामल, दाल र माशु किनेरै खान्छन । स्थानिय उत्पादनका कोदो, गहुँ र मकै मदिराजन्य पदार्थ उत्पादनमै खर्च गर्ने गरेका छन’ खाद्यान्नका मुख्य विक्रेता समेत रहेका उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बेलबहादुर कटुवालले भने, ‘घरमा फल्ने गौरिया धानको चामल, सिमी समेतका आफ्नो स्वादिष्ट उत्पादनलाई बेचेर आफुले बजारिया चामल किनेर खाने चलन छ ।’