- Loading...
कहिले बन्छ म्याग्दीमा आईसोलेसन ?
- पुनहिल डट कम
- ४ साल अघि
- ९९ पटक पढिएको
|covid-19 face tayari
कोरना भाईरस रोकथाम तथा नियन्त्रण गर्न लकडाउन सुरु भएको डेढ महिना पुगेपनि जिल्लामा अझै कोरना संक्रमण लक्षण देखिएका विरामी राख्न आईसोलेसन कक्ष निर्माणमा अलमल छ ।
सदरमुकाम बेनीमा स्थापना गर्ने भनेको २० बेड क्षमताको आईसोलेसनमा राख्ने सामाग्री खरिद गर्ने र कहाँ राख्ने भन्ने विषयमा सिडिओ अध्यक्ष रहेको कोभिड–१९ जिल्ला कमाण्ड कन्ट्रोल पोष्टका सदस्य संस्थाहरु विचको द्वन्द्वले अलपत्र परेको ब्यापक चर्चा छ । आईसोलेसन बनाउने स्थल सरेको सर्यै गर्नु र उपकरण खरिद अझै नहुनुले पनि आशंकालाई थप मलजल गरेको छ ।
लकडाउन सुरु हुने वित्तिकै बेनी अस्पतालमा तयार पारिएको अस्थाई आईसोलेसन स्थलमा पनि पुराना ६ वेड राखिएको भएपनि आईसियु र भेन्टीलेटर समेतका पूर्वाधार छैन । कोभिड–१९ जिल्ला कमाण्ड कन्ट्रोल पोष्टले अस्पताल बाहिर २० बेड क्षमताका पूर्वाधार सहितको आईसोलेसन बनाउने निर्णय गरेपनि अझै कार्यान्वयन हुन सकेको छैन ।
‘हामीले भेन्टीलेटर समेत आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न सहजीकरण गरेका छौं । टेण्डर खोलेका छौं । भुक्तानी दिने निकायले कमिटमेन्ट गरे सप्लायर्सले शनिवार नै ढुवानी गर्न सक्छन’ बेनी अस्पताल विकास संञ्चालक समितिका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘स्थानीय तहले खरिद गरेपछि बाँकी रहेका अक्सीजन सिलिण्डर, मेडिसिन आदी त अस्पतालले ब्यहोर्ने हो । हामी तयार छौं ।’
आईसोलेसनमा राख्ने बेड, भेन्टीलेटर समेतका श्वास्थ्य उपकरण कस्ले, कसरी खरिद गर्ने, भुक्तानी कसरी गर्ने समेतका विषयमा कमाण्ड कन्ट्रोल पोष्टमा रहेका सुरक्षा अधिकारीहरु, बेनी अस्पताल र बजेट ब्यवस्थापन गर्ने बेनी नगरपालिका समेत स्थानीय तह विच मत बाझिएपछि कोरना संक्रमित तथा लक्षण देखिएका विरामी राख्न आईसोलेसन निर्माण हुन नसकेको हो । आईसोलेसनमा राख्ने श्वास्थ्य सामाग्री खरिद हुन नसकेको मात्र होईन, कहाँ राख्ने समेको स्थानको पनि टुङ्गो लागेको छैन ।
‘आईसोलेसन कक्षमा छुट्टै १० बेड राख्न लाग्ने सवै खर्च नगरपालिकाले एक्लै ब्यहोर्ने निर्णय छ । एक मुष्ट कोषमा रकम राख्दा भविस्यमा वील, भरपाई र लेखा परिक्षणमा समस्या आउने भएकोले आफैले खरिद गर्न खोजेका हौं’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘आकस्मिक कोषबाट जथाभावी खर्च हुने छैन । पारदर्शी र खर्च ब्यवस्थापन गर्न कोष खर्च कार्यविधी पनि बनाएका छौं ।’
आईसोलेसन निर्माण गर्न बेनी नगरपालिकाले १० बेडमा लाग्ने सवै खर्च र बाँकी १० बेडकालागी ५ वटा स्थानीय तहले २ लाख ५० हजारको दरले खर्च ब्यहोर्ने सहमति अनुसार गरी बेनी अस्पतालले अस्पतालले ३२ लाख लागत अनुमानमा टेण्डर खोलेको छ । आईसोलेसनकालागी जोहो गरिएका बेड, ब्लान्केट, तन्ना समेतका सामाग्रीलाई भने अहिले वेष्ट पोईन्टमा रहेको क्वारिन्टीनमा प्रयोग गरिएको छ । अस्पतालमा बनाईएको आइसोलेसनमा अस्पतालकै पुराना सामाग्री प्रयोग गरिएको हो ।
आईसोलेसन कक्ष राख्ने स्थान छनौटको श्रृखला पनि रोचक छ । सुरुमा बेनीको माउण्ट एभरेष्ट आवसिय माविको पुरानो प्रयोगहीन भवनमा आईसोलेसन राख्ने नियर्ण अुनसार बेड राखियो । ‘आईसोलेसन कक्ष’ लेखेको ब्यानर राखियो । ब्यापक प्रचार–प्रसार गरियो तर हप्ता दिन नपुग्दै डाक्टर पुग्न, विरामी लैजन/ल्याउन समस्या हुने भन्ने तर्कसहित आईसोलेसन कक्ष जिल्ला अस्पतालमा स्थानन्त्रण गरियो । अस्पतालमा पनि प्रयाप्त भौतिक पूर्वाधार नभएकोले अन्य सुत्केरी, शल्यक्रिया गरिएका र इमजेन्सीका गम्भीर विरामी र कोरना संक्रमण भएका विरामी एकै स्थानमा राख्न नहुने गुनासा आएपछि आईसोलेसनलाई फेरी न्यू वेष्टपोईन्ट माविमा राख्ने भनियो । अहिले वेष्ट पाईन्टले विद्यालयमा आईसोलेसन राख्न अभिभावकको दवाव आएको भन्दै हटाउन भने पछि फेरी अर्को ठाउँ खोजी भएको छ, बेनी खुल्ला मञ्च छेउको शैक्षिक तालिम केन्द्रको भवन ।
‘कोरना भाईरस संक्रमणको जोखिम नहटेकोले आईसोलेसन कक्ष बनाउने विषयमा कुनै अलमल छैन । शैक्षिक तालिम केन्द्रमा नै आईसोलेन कक्ष राख्ने टुङ्गोमा पुग्यौं तर त्यहाँ रहेका धेरै सामाग्री सुरक्षित स्थानमा स्थानन्त्रण थालेका छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘आईसोलेसन कक्ष राख्ने स्थानको टुङ्गो भएकोले अव अन्य कुनै बाहना बनाएर उपकरण ल्याउन रोकिदैन । विपदमा धेरै बाहनाले काम गर्दैन ।’