वैशाख महिनामा पनि चिसो किन भयो ? यस्ता छन, कारण

२४ बैशाख २०७७, बुधबार ०९:५३ मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता

अघिल्ला वर्षहरूमा निकै गर्मी भइसक्ने समयमा पनि यसपालि भने  खासै गर्मी अनुभव गरिएको छैन।

मौसम विज्ञान विभागका अनुसार यसपालि चैत-वैशाखमा नै धेरै वर्षा पनि भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारसम्म मौसमको यस्तै अवस्था रहनसक्ने सम्भावना छ।

औसतभन्दा बढी वर्षा भएकोले तापक्रम पनि अरू वर्षको भन्दा कम देखिएको छ। विभागले विगतका ३० वर्षको मौसमको तुलना गरेर यस्तो वार्षिक औसत निकाल्ने गर्छ।
मौसमविद्हरूका अनुसार यसपालि पश्चिमी वायुको प्रभाव ढिलोसम्म कायम रहँदा नेपालमा गर्मी हुने बेलामा पनि चिसो कायम रहेको हो।
पश्चिमी वायुको प्रभाव कम नभएकैले चैत–बैशाख महिनामा पनि नियमित वर्षा भइरहेको हो ।  हाल नेपालमा चारथरी वायुको प्रभाव कायम छ।
विभागले हाल पश्चिमी वायुको प्रभाव बाँकी रहेको जनाएको छ। त्यस्तै स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यूनचापिय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।
महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार नेपालमा जाडो महिनामा पश्चिमी वायु सक्रिय हुन्छ भने मनसुन सुरु भएपछि पूर्वीय वायु सक्रिय बन्छ। त्यसबाहेक यो समयमा स्थानीय वायु पनि सक्रिय हुने गरेको छ।