अमेरिकी स्वार्थनिम्ति रणभूमि बन्दै विश्व स्वास्थ्य संगठन

२३ बैशाख २०७७, मंगलवार १७:१४ मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता

२६ अप्रिलमा बर्लिनमा बनाइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङको भित्ते चित्र। तस्वीरः माजा हित्जी/गेट्टी इमेज

सिंगो विश्व कोभिड-१९ को महामारीसँग जुध्दै गर्दा अमेरिकाले भने आफ्ना पक्ष राष्ट्रहरूसँग विश्व स्वास्थ्य संगठनमा ताइवानको पर्यवेक्षकको भूमिका पुनः स्थापना गर्न समर्थन खोजिरहेको विभिन्न कुटनीतिक स्रोत र संगठनका बैठकमा गरिएका टिपोटहरूले जनाएका छन्। चीनसँगको नयाँ संघर्षमा बलियो हुन अमेरिकाले त्यस्तो प्रयत्न गरेको जनाइएको छ।
विश्व स्वास्थ्य संगठनले बेइजिङलाई चिढ्याएर ताइवानलाई सहभागी गराउने सम्भावना निकै कम छ किनभने उसले ताइवानलाई ‘गद्दार प्रान्त’ ठान्छ। कथंकदाचित टेड्रोस वा अरू देशका सरकारले ताइवानलाई सहभागी गराउने पहल गरे चीन त्यसविरुद्ध उभिने सम्भावना अधिक छ।
तर ट्रम्प प्रशासनका अभिव्यक्तिहरूले ऊ चीनको आलोचना बढाउनका लागि उसको सबैभन्दा ठूलो भूराजनीतिक विरोधीको उपयोग गरिरहेछ। जबकि यो समयमा दुई महाशक्ति र अरू सरकारहरू मिलेर कोभिड-१९ महामारी फैलिनबाट रोक्ने उपायहरू खोज्नुपर्ने थियो।
२ करोड ४० लाख जनसंख्या भएको र महामारीलाई प्रभावकारी ढंगले सामना गरिरहेको ताइवानलाई विश्व स्वास्थ्य संगठनका छलफलमा सहभागी गराउन वासिंगटन र अरू विदेशी राजधानीहरूको समर्थन छ।
तर वासिंगटनका मुख्य मित्रहरू ताइवानलाई समर्थन गर्दा चीनले प्रतिशोध लिने डरमा छन्। आलोचकहरूले भने ह्वाइट हाउसको यो प्रयत्नलाई चीनलाई असफल बनाउन र विश्व स्वास्थ्य संगठनलाई आफ्नै कमजोरीबाट ध्यान तान्न गरिएको कुटनीतिक अभियानको रुपमा लिएका छन्।
“यो ध्वंसात्मक कुटनीति हो र यसले अनुहारविहिन कर्मचारीतन्त्रलाई मात्र हानि पुर्‍याउँदैन”, जर्मन राजनीतिशास्त्री इलोना किकबुस भन्छिन्। इलोना जेनेभाको ‘ग्य्राजुएट इन्स्टिच्युट अफ् इन्टरनेसनल एन्ड डेभलपमेन्ट स्टडीज’का सह-प्राध्यापक हुन्। उनले यसअघि विश्व स्वास्थ्य संगठनका लागि काम गरेकी थिइन्। स्वास्थ्य संस्थामा अमेरिकाको आक्रमणले उसका मित्रदेशहरूलाई अप्ठ्यारोमा पारेको उनको मत छ। “यो त अति भयो, अमेरिकाले आफ्नो नेतृत्वकारी भूमिका गुमाइसकेको छ र जनताले उसलाई विश्वास गर्न छाडेका छन्”, उनी भन्छिन्।
अमेरिकाको लागि भने यो प्रयत्नले टेड्रोस र आफ्ना मित्र राष्ट्रहरूको चीन विरुद्ध उभिने ईच्छाशक्तिको परीक्षा पनि हुनेछ। भाइरस, यसको उद्गम र संक्रमणबारेको सूचना लुकाएको, यसबारे बोल्न तयार डाक्टर र अनुसन्धानकर्मीहरूलाई सेन्सर लगाएको र नागरिकहरूलाई संसारमै कहीँ नगरिएको यात्रा प्रतिबन्ध लगाएको जस्ता आरोप अमेरिकाले चीनलाई लगाउँदै आइरहेको छ। यसको ठ्याक्कै विपरीत टेड्रोस र विश्व स्वास्थ्य संगठनका अरू अधिकारीहरूले बारम्बार चीनको प्रशंसा गरिरहेका छन्। उनीहरूले स्वेच्छाचारी शासन भए तापनि बेइजिङले अपनाएको उपाय संसारका लागि नमूना बन्न सक्ने दोहोर्‍याउँदै आएका छन्। “धेरै तरिकाले चीनले महामारी नियन्त्रणबारे नयाँ उचाइँ कायम गरेको छ। यो कुनै अतिशयोक्ति होइन”, ३० जनवरीमा टेड्रोसले भनेका थिए, “महामारी पत्ता लगाउने, भाइरस चिन्ने र यसको आनुवंशिक संरचना तयार पार्ने र यी सबैबारे विश्व स्वास्थ्य संगठन र बाँकी विश्वलाई बताउने चीनको गति निकै प्रभावकारी छ।”
महामारी शुरु भएदेखि नै जेनेभा, न्युयोर्क र वासिंगटनका अमेरिकी कुटनीतिज्ञहरूले भने चीनबाटै नयाँ कोरोनाभाइरस शुरु भएको प्रचार गर्न र संयुक्त राष्ट्र संघको स्वास्थ्य संगठन (विश्व स्वास्थ्य संगठन)ले चीन सरकारको अनावश्यक प्रचार गरेको भन्दै उसको आलोचना गर्न आफ्नो राजनीतिक पूँजी खर्च गरिरहेका छन्।
अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले महामारीबारे विश्व स्वास्थ्य संगठनको प्रतिक्रियाको समीक्षा गर्ने अमेरिकी योजना दोहोर्‍याएका छन्। त्यही आधारमा नै उसले गर्दै आएको वित्तीय सहयोग निरन्तर गर्ने, नगर्ने टुंगो लाग्ने पनि उनले बताएका छन्। “विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै योगदान हामीले गर्छौँ”, २९ अप्रिलमा उनले भने, “ऊ आफ्नो उद्धेश्यमा असफल भएको छ। त्यसैले अमेरिकी करदाताको पैसा कसरी वास्तविक नतिजाको लागि उपयोग गर्ने भन्नेबारे हामीले पुनर्मूल्यांकन गर्दैछौँ।”
तर अमेरिकाले अहिले विश्व स्वास्थ्य संगठनले महामारीमा खेलेको भूमिकाबारे शुरुआती मूल्यांकन गर्न राखेको प्रस्तावको पक्षमा समर्थन जुटाउन संघर्ष गरिरहेछ। चीनले महामारीको शुरुआती हप्तामा गम्भिरता नदेखाएको र त्यसलाई स्वास्थ्य संगठनले अनावश्यक प्रशंसा गरेको आरोप अमेरिकाले लगाइरहेको छ।
‘फरेन पोलिसी’लाई प्राप्त एक गोप्य रिपोर्ट अनुसार २९ अप्रिलमा अमेरिकाले ‘विश्व स्वास्थ्य संगठनले कोभिड-१९ सँग जुध्न खेलेको भूमिकाबारे सदस्य राष्ट्रहरूको सहयोगमा स्वतन्त्र विज्ञहरूको समीक्षा शुरु गर्न’ प्रस्ताव राखेको छ। उक्त मूल्यांकनले ‘विश्व स्वास्थ्य संगठन र सदस्य राष्ट्रहरूको पर्याप्तताबारे’ विचार गर्ने उसको आशा छ।
अमेरिकाका धेरै मित्रराष्ट्रहरू विश्व स्वास्थ्य संगठनले चीनको अत्यन्तै पक्ष लिएको ठान्छन्। तर अन्तर्राष्ट्रिय प्रयत्न संयोजन गर्न, टेस्ट किट्स उत्पादन गर्न र विभिन्न देशलाई महामारी रोक्न चाहिने सल्लाह दिन संगठनले महत्वपूर्ण भूमिका खेलेको उनीहरू स्वीकार्छन्। संगठनलाई अमेरिकाले दिँदै आएको अनुदान कटौती एकदमै हानीकारक हुने र यसले महामारीको बीचमा विश्वको नेतृत्वकारी स्वास्थ्य संगठनलाई कमजोर बनाउने साथै पोलियो, एचआइभी/एड्स र अरू संक्रामक रोगविरुद्धको सिंगो कार्यक्रम छिन्नभिन्न पारिदिने उनीहरूको मत छ।
अफ्रिका, एशिया र युरोपका धेरै सरकारका प्रतिनिधीहरू टेड्रोसको पक्षमा उभिएका छन्। उनीहरूले शताब्दीकै सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको यो संयुक्त राष्ट्र संघको स्वास्थ्य संगठनलाई अन्तर्राष्ट्रिय समुदायको आड चाहिएको धारणा राखिरहेका छन्।
१६ अप्रिलमा सम्पन्न टेड्रोसको ब्रिफिङमा संयुक्त राष्ट्र संघका लागि जेनेभामा अमेरिकी राजदूत एन्ड्रयु ब्रमबर्गले आफैलाई रक्षात्मक अवस्थामा पाए। क्यानडा, स्वीडेन र नामिबिया लगायतका अफ्रिका र युरोपेली देशका प्रतिनिधीहरूले टेड्रोसको समर्थन गरेपछि उनी आत्मरक्षामा उभिनुपरेको थियो। युरोपेली युनियनले महामारीसँग जुध्न विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाको प्रशंसा गर्‍यो। त्यहीबेलामा फ्रान्सले अमेरिकाले गरेको अनुदान कटौतीप्रति असन्तुष्टि जनायो।
महामारीसँग जुध्न अमेरिका प्रतिबद्ध भइरहँदा यसबारे ‘समयमा, सम्पूर्ण, पारदर्शी र सही तरिकाले’ सूचना नदिने अरू देशप्रति अमेरिकाको गम्भीर चासो रहेको ब्रमबर्गले बताए। उनले त्यसो भनेर चीनलाई संकेत गरिरहेका थिए।
विश्व स्वास्थ्य संगठनलाई दिएको अनुदान कटौती गर्ने अमेरिकाको निर्णय पनि व्यक्तिगत आक्रमण नभएको र अमेरिका संगठनले खेलको भूमिकाबारे जानकार भएको ब्रमबर्गले दावी गरे। तर संगठनको नेतृत्व आफ्नो स्वतन्त्र छवि देखाउन अक्षम वा अनिच्छुक भएको वासिंगटनले विश्वास गर्ने समेत उनले बताए।
वासिंगटनले राख्दै आएको विश्व स्वास्थ्य संगठनको भूमिकाको स्वतन्त्र छानबिनको आवश्यकताबारे भने ब्रमबर्ग मौन रहे। तर कुटनीतिज्ञहरू उनले महामारीविरुद्ध अन्तर्राष्ट्रिय प्रयास नबिथोलिकनै छानबिन गर्ने प्रस्ताव पारित गर्न प्रयास गरिरहेको बताउँछन्।
परम्परागत रुपमा विश्व स्वास्थ्य संगठनले महामारी विरुद्ध अन्तर्राष्ट्रिय प्रतिक्रियाको समीक्षा गर्ने गरेको छ। उसले सन् २०१४ को इबोला महामारीको बेलामा पनि यस्तो समीक्षा गरेको थियो। र टेड्रोसले यो महामारी सकिएपछि अहिले गरिएको अभ्यासको समीक्षा गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन्।
“विश्व स्वास्थ्य संगठनमा सधै गरिने काम नै हामीले गर्नेछौं। मसिनोसँग कुन दिन के भएको थियो भनेर जाँच हुनेछ। कसलाई के थाहा थियो, कसले कसलाई के भनेको थियो सबै मूल्यांकन गरिनेछ”, कोभिड-१९ का लागि विश्व स्वास्थ्य संगठनका विशेष दूत डेभिड नबारोले बीबीसीसँग भनेका छन्, “अहिले हामी निकै ठूलो विश्वव्यापी संकटमा छौं। तत्कालका लागि हामी सबै त्यसैमा केन्द्रित हुनुपर्छ। अहिले सबैजना भाइरससँग जुधिरहेको बेला छानबिन गरिनु अनुपयुक्त हुनेछ।”
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरस महामारीबारे अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियाबारे जाँचबुझ गर्न स्वतन्त्र टोली गठन गर्नुपर्ने र विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले स्वास्थ्य निरीक्षकहरूलाई छानबिन गर्न दिनेबारेको सहमतिमा हस्ताक्षर गर्नुपर्ने धारणा राखे। उनले संक्रामक रोगको महामारीबारे छानबिन गर्न संयुक्त राष्ट्र संघले आणविक हतियारको निरिक्षण गर्न बनाएजस्तै संयन्त्र बनाउनुपर्ने प्रस्ताव राखे।
अष्ट्रेलियाको प्रस्तावलाई अमेरिकाले समर्थन गर्छ कि गर्दैन भन्ने स्पष्ट छैन। किनभने त्यस्तो छानबिनले महामारीसँग जुध्न अमेरिकाले खेलेको भूमिका पनि पर्दाफास गरिदिन सक्छ। अमेरिकामा दिनप्रतिदिन कोरोना भाइरसबाट संक्रमित हुने र निधन हुने संख्या बढ्दो छ।
चीनले भने आफ्नो देशमा अस्ट्रेलियाको उत्पादन बहिस्कार हुने जोखिम हुनसक्ने चेतावनी अस्ट्रेलियाली सरकारलाई दिँदै त्यस्तो छानबिन नस्वीकार्ने स्पष्ट संकेत दिएको छ।
यही बीचमा युरोपेली युनियनले भने एउटा सन्तुलित खालको प्रस्ताव गरेको छ। उसले महामारी रोक्ने तयारी र अभ्यासबीचको अन्तरबाट पाठ सिक्न कोभिड-१९ महामारीको ‘शुरुआती अवस्थामा’ गरिएको अन्तर्राष्ट्रिय अभ्यासको मूल्यांकन गर्न अनुरोध गरेको छ। कुटनीतिज्ञहरू भन्छन्, यस्तो मूल्यांकन महामारी अन्त्य नहुँदासम्म हुँदैन र यसले भाइरसको उत्पत्ति भन्दा पनि महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायले गरेको प्रयत्नको मूल्यांकन गर्नेछ।
“छानबिनका लागि गरिएका आह्वान अभ्यासहरूमात्र हुन्, यिनले खासै ठूलो ठाउँ पाउने छैनन्”, एक वरिष्ठ कुटनीतिज्ञ भन्छन्, “अमेरिकाले खासै सहमति पाउनेछैन। अमेरिकाबाहेक कसैले पनि आगो लागिरहेको बेलामा आगलागी नियन्त्रकहरूलाई बोलाउने कदम उचित मान्ने छैनन्।” उनका अनुसार महामारीको अन्त्यपछि साधारण खालको समीक्षा हुनेछ। “तर त्यो अमेरिकाले चाहेजस्तो विश्व स्वास्थ्य संगठन र चीनलाई हिलो छ्याप्ने खालको हुनेछैन।”
अमेरिकाका संसद् सदस्यहरूले भने चीनलाई नै आरोप लगाइरहेका छन्। सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका अध्यक्ष जीम रिस्क र रिपब्लीकन पार्टीका अरू संसद् सदस्य (सिनेटर)हले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसलाई कोभिड-१९ सँग जुध्न विश्व स्वास्थ्य संगठनले गरेको प्रयत्नको समीक्षाका लागि विज्ञहरूको समिति बनाउन अनुरोध गरेका छन्। उनीहरूले लेखेका छन्, “विश्व स्वास्थ्य संगठनले आफूलाई चिनियाँ सरकार भन्दा तात्विक रुपमा फक देखाउनुपर्थ्यो।”
रिपब्लिकन पार्टीका रणनीतिकार ब्रेट ओ’डोन्नेले ५७ पृष्ठ लामो मेमो तयार पारेर आफ्ना उम्मेदवारहरूलाई ‘कोरोना भाइरस संक्रमण लुकाएकोमा चीनलाई आरोप लगाउन’ आह्वान गरेका छन्। सन् २०२० को निर्वाचनमा रिपब्लिकनको मुख्य मुद्दा नै यही बनाउन उनले भनेका छन्। ‘पोलिटिको’ले प्रकाशत गरेको यो मेमो नेसनल रिपब्लिकन सिनेटरियल कमिटीले वितरण गरेको थियो। यसले ‘विश्व स्वास्थ्य संगठनलाई प्रहार गर’ शीर्षकमा संयुक्त राष्ट्र संघको प्रमुख स्वास्थ्य संगठनलाई पनि आक्रमण गरेको छ।
‘चीनको ‘हान र भाग’को नीति र शुरुमा तथ्य लुकाउने अभ्यासलाई विश्व स्वास्थ्य संगठनले साथ दियो र उक्सायो। संगठनले चिनियाँ कम्युनिष्ट पार्टीको नोकरको भूमिका खेल्यो’ – यो नै मेमोमा भएको रिपब्लिकन उम्मेदवारको लागि बनाइएको मुख्य अवधारणा हो।
तर रिपब्लिकनभित्रै महामारीको बीचमा विश्व स्वास्थ्य संगठनलाई अनुदान कटौती गर्ने निर्णय मन नपराउनेहरू पनि छन्। १६ अप्रिलमा मिसौरीका सिनेटर रोय ब्ल्न्टले ट्रम्पले अनुदान कटौती गर्ने धम्की पूरा गर्ने आशा गरेको बताएका छन्। “कोरोना भाइरसले हामीलाई केही सिकाएको छ भने त्यो हो हामी संसारबाट अलग छैनौं”, उनले भनेका थिए।

(कोलुम लिन्चले तयार पारेको २९ अप्रिल २०२० मा ‘फरेन पोलिसी’ मा प्रकाशित रिपोर्टको लक्ष्मण श्रेष्ठले गरेको अनुवाद। ) हामीले देखापढी डट कमबाट साभार गरेका हौं ।–सम्पादक