कोभिड-१९ विरूद्ध अग्रपंक्तिमा काम गर्ने विश्वका पाँच महिलामा नेपालकी रुना झा

२० बैशाख २०७७, शनिबार १८:३६ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

कोभिड-१९ को संकट अगाडि आएसँगै सबै ठाउँमा महिला र छोरीहरूको जीवन बदलिइरहेको छ। व्यक्तिगत र व्यावसायिक जीवनका विविध क्षेत्रहरू रोकिएका छन्। र, थुप्रै तनाव र चुनौतीहरू थपिएका छन्। दुनियाभरका लाखौँ महिलाहरू कोभिड-१९ सँगको लडाईंमा  अग्रपङ्तिमा छन्।

कोरोना भाइरस प्रशिक्षणकी अगुवा डा. रूना झा

डा. रुना झा नेपालको कोभिड-१९ परीक्षण गर्ने एकमात्र राष्ट्रिय प्रयोगशालाकी निर्देशक हुन्। उनी र उनको समूहले एकदिनमा लगभग ७० नमूना परीक्षण गर्छन्। परीक्षणकै लागि उनीहरू खटिन्छन्, कहिलेकाहीँ चौबिसै घण्टा पनि उनीहरू परीक्षणमा खटिएका हुन्छन्।

“प्रयोगशालामा धेरैसमय काम गर्नु सामान्य भइसक्यो । प्रविधिको मात्रै नभई अरु पनि प्रबन्ध मिलाउनुपर्छ”, उनले भनिन्।

आफ्ना टीमका अन्य व्यक्तिको सुरक्षामा ध्यानदिनु पनि उनको उच्च प्राथमिकतामा पर्छ। फेब्रुअरीको मध्यमा चीनबाट १७५ जना विद्यार्थीहरू नेपाल फर्काइएदेखि यो शृङ्खला शुरू भएको हो। “मेरो टोलीका साथीहरूले रातभर काम गरेर नमूना संकलन गरे। त्यसपछि हामीले तुरून्तै १७५ जनाको रिपोर्ट तयार पार्‍यौं” उनी सम्झिन्छिन्।

महामारीमा महिनौँ गहन काम जारी छ। झा आफ्ना कर्मचारीको मनोबल बढाउन पूरै कोशिस गर्छिन्। भन्छिन्, “यो हाम्रो लागि धेरै कठिन समय हो। र, मैले उनीहरूलाई प्रेरित गरिराख्नुपर्छ। जब मलाई लाग्छ, उनीहरू हतास भएका छन्, म उनीहरूसँग कुरा गर्छु। उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउँछु।”

झाका लागि यो काम कम चुनौतीपूर्ण छैन। कोभिड-१९ को संक्रमण सर्नसक्ने जोखिमका कारण उनी छोरी र पतिसँग बस्दिनन्। एक्लै बस्छिन्। उनी आफ्ना बा-आमालाई समेत भेट्न सक्दिनन्। उनीहरूलाई अरुबेला हप्तामा तीनपटक भेट्थिन्। झा भन्छिन्, “म मेरो छोरीलाई अंगालोमा राख्न चाहन्छु र मेरा बाआमाको हेरचाह गर्न चाहन्छु। तर, उनीहरू र बाँकी अरुलाई सुरक्षित राख्न यति त्याग गर्नुपरेको छ।”

जोर्डनमा प्रविधिको माध्यमबाट महिलाहरुलाई सुरक्षित राखिएको छ

अमाल अल महाय्राह र हदिल दबिबे संकटमा कसरी जिम्मेवारी पूरा गर्ने भन्ने जान्दछन्। जोर्डनमा युएन वुमनको फिल्ड असिस्टेन्टको रुपमा उनीहरुले जोर्डनका कमजोर महिला र सिरियाली शरणार्थीहरुको लागि प्रत्येक दिन अत्यावश्यक एवं जीवन बचाउने सेवाहरु प्रदान गर्छन्। समुदायका मानिसहरुलाई मोबाइलमार्फत् कोरोना भाइरसको बारेमा जानकारी दिइँदै छ।

अमालले आफ्नो टेबुलमै बसेर जोर्डनको दक्षिण भाग आइन अलबायदामा बस्ने ५४ वर्षिया महिला सिहम अलकातामीनलाई बोलाउँछिन्। फोनबाटै अमाल कोभिडको रोकथाम र सेवाबारे परामर्श र मनोसामाजिक सहायता दिन्छिन्।

सिहम ८०० भन्दा बढि लाभार्थीहरु मध्ये एक हुन्। युएन वुमल फिल्ड स्टाफहरु प्रकोप सुरु भएदेखि नै दैनिक रुपमा सक्रिय छन्। उनीहरूले मोबाइल फोन मार्फत् सेवा र स्रोतहरु प्रदान गर्छन्।

प्रकोपको दौरानमा जोर्डनमा कमजोर महिला र शरणार्थीहरुको लागि सेवा दिइराख्न डिजिटल प्रविधि उपयोगी भएको छ। लैंगीक हिंसाको सामना गर्ने महिलाहरुको लागि २४ सै घण्टा हटलाइन पनि उपलब्ध छ। र युएन वुमन सिरियाली शरणार्थीहरुलाई कोष प्रदान गर्ने (डेलिभरीङ फन्ड) कार्य जारी राख्न नयाँ ब्लकचेन नगद वितरण प्रणाली प्रयोग गरिरहेका छन्।

प्रत्येक शरणार्थीको खाता ब्लकचेनसँग जोडिएको छ। जुन विश्व खाद्य कार्यक्रमद्वारा सञ्चालित सुपरमार्केटमा आइरिस स्क्यानिङ प्रणालीसँग जोडिएको छ। जसले गर्दा शरणार्थीले सजिलै पैसा पाउन सकछन्। र लकडाउनमा खाना र आवश्यक आपूर्तिहरु सुरक्षित रुपमा खरिद गर्न सक्छन् ।

ग्रामीण चीनमा सार्वजनिक सेवाका लागि कदम चाल्दै 

यान शेंग्लियान चीनको उत्तरपश्चिमी सांघाइ प्रान्तमा उनको ग्रामीण जियरुओयाओको चेकप्वाइन्टमा गर्वसाथ उभिरहेकी छन्। गाउँ प्रवेश गर्ने या गाउँबाट निस्केका मानिसहरुको उनी शरीरको तापक्रम मापन गर्छिन्। साथै उनीहरुको सवारी रेकर्ड पनि राख्छिन्।

उनको कामले कोरोना भाइरसको प्रसार कम गर्न सहयोग गर्छ  तर यी कार्यक्रहरु उनको लागि नयाँ हुन् । मेडिकल पृष्ठभूमिबिना नै यस्ता काम गर्ने धेरै महिलाहरुमध्ये यान एक हुन्।

यान पेशाले किसान हुन्। सुँगुर पाल्छिन्। पहिले सार्वजनिक मामिलामा सहभागी हुनु पुरुषको काम हो भन्ने सोचिन्थ्यो। महिलाहरु यसरी अग्रसर हुन थालेको धेरै भएको छैन। सन् २०१९ मा सीपमूलक प्रशिक्षणमा भाग लिएपछि उनको दृष्टिकोण बदलिएको थियो ।

युएन वुमनको सहयोगमा गरिएको कार्यक्रममा यानले सुँगुर पाल्न सिकेकी हुन्। अनि आफ्नो पशुलाई अनलाईनमार्फत् कसरी बेच्ने र नेतृत्व कसरी गर्ने भन्ने पनि उनले सिकेकी थिइन्। “केही पुरुषहरु यसलाई स्वीकार गर्न चाहँदैनन् । तै पनि तिनीहरु हाम्रा तरिका अनुशरण गर्दैछन्,” उनी भन्छिन्, “अब मेरो क्षमतामाथि कसैले प्रश्न उठाउँदैन। गाउँमा महिलाको नेतृत्वलाई स्वीकार्न थालिएको छ।”

किसान र सामुदायिक स्वयंमसेवकको रुपमा यानले आफ्नो समुदायका लागि महत्वपूर्ण योगदान दिइरहेकी छन् ।

काजाकिस्तानमा महिलालाई न्याय दिलाउन लागेकी दीना

क्वारेन्टाइन भन्दा पहिले, काजाकिस्तानको नेमोल्ची (चुप नबस) आन्दोलनले सञ्चालन गरेको हेल्पलाइनमा यौन हिंसाबाट पीडितहरुको फोन आउने गर्थ्यो। अहिले दिनको १० देखि १५ पटक फोन आउने गर्छ । र प्राय सबै फोन घरेलु हिंसाबाट पीडितहरुको हुन्छ ।

“महिलाहरु पुरुषविरुद्ध रिपोर्ट गर्न तयार छैनन्, किनकी उनीहरु पतिको घरमा ठूलो परिवारमा आइसोलेसनमा छन्,” नेमाल्ची आन्दोलनकी नेता दीना स्माइलोवाले भनिन्, “क्वारेन्टाइनको बेलामा अदालत खुल्दैनन् । दुर्व्यवहार गर्नेलाई अलग राखिँदैन। र महिलाहरु आफुमाथि दमन गर्नेसँगै बस्न बाध्य छन् । कोभिडको संकटका बेलामा थप चुनौती थपिएको छ, जुन चिन्ताजनक छ ।”

दुई वर्षमा नेमोल्चीले १२० महिलाहरुलाई कानुनी सहायता दिएको छ। विकट परिस्थितीमा पनि दीना न्यायका लागि अगाडि बढिरहेकी छन् । महिलाहरुलाई सुरक्षा दिइरहेकी छन् ।

क्यारिबियन समुदायको आशा 

र्‍यान्सिया हेनरी क्यालिफोर्नियाको होलटलमा हाउसकिपिङ निर्देशकको रुपमा काम गर्थिन् । तर कोभिडको संक्रमण बढ्दै गएसँगै उनीहरुले काम गर्ने होटल बन्द भयो ।

उनकी आमाले एन्टीगुवामा बोलाइन् । तर अन्तराष्ट्रिय उडान  रोकिएकाले उनी जान पाइनन् । उनी एक्लै परिन् । अहिले लाखौँ कामदारहरु कामबिहिन छन् । उनी अहिले आफुजस्तै प्रवासी कामदारहरुलाई आर्थिक सहयोग गर्छिन् ।

यूएन वुमन डट ओआरजी हामीले देखापढीबाट लिएका हौं ।