नयाँ भेन्टिलेटर सिस्टम परीक्षण गर्दै महावीर पुन

२९ चैत्र २०७६, शनिबार १९:११ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय पश्चिमपट्टिको शिव मन्दिर नजिकै एउटा टहरो छ। टहरो प्रवेशद्वारमै लेखिएको छ, ‘राष्ट्रिय आविष्कार केन्द्र।’ बोर्डभित्र प्रवेश गर्दा देखिन्छ, दुई—चार जना काम गरिरहको दृश्य। कोही ल्यापटपमा घोरिइरहेका, कोही अरु नै काममा दत्तचित्त।
‘अहिले हामी अस्पतालका भेन्टिलेटर मर्मत र नयाँ भेन्टिलेटरजस्तै उपकरण निर्माणको काम गरिहेछौं’, केन्द्रका अध्यक्ष महावीर पुन भन्छन्।
कोरोना भाइरस (कोभिड—१९) संक्रमित देखिन थालेपछि सरकारले चैत १२ देखि लकडाउनको निर्णय गर्यो। योसँगै कोरोना शंकास्पद एवं संक्रमितको उपचारमा संलग्न चिकित्सको सुरक्षाका लागि पीपीईको आवश्यकता झनै खट्कियो।
पीपीई नहुँदा एम्बुलेन्स चालकले बिरामी बोक्न समेत छोडे। त्यही बेला महावीर पुनले फेसबुक वालमा लेखे, ‘पीपीई लगाएर जानुहोस्, बिरामी बोक्नुहोस्ः लाइसेन्ससहित एम्बुलेन्स नै लिएर आविष्कार केन्द्र आउनुहोला। हामी पीपीई उपलब्ध गराउँछौं।’ अहिलेसम्म केन्द्रले आफैँले बनाएका पीपीई १८५ एम्बुलेन्स चालकलाई उपलब्ध गराएको छ।
१४५ सरकारी तथा निजी अस्पताल एवं क्वारेन्टिनलाई पीपीई दिइएको महावीर पुन बताउँछन्। भन्छन्, ‘ठूला अस्पताललाई २५ सम्म र हेल्थपोस्टलाई ५ वटासम्म पीपीई उपलब्ध गराएका छौं। अनुरोध आएकाले इर्मजेन्सी रेस्क्युमा काम गर्ने सुरक्षाकर्मीहरुका लागि पनि उपलब्ध गराउँदैछौं।’
केन्द्रले यतिबेला १६ जिल्लामा कोरोनाका शंकास्पद बिरामीलाई जाँच्ने बुथ पनि निर्माण गरिरहेको छ। शंकास्पद बिरामी संक्रमित भएको भए चिकित्सकलाई सर्ने जोखिम रहन्छ। जाँचमा संलग्न चिकित्सकलाई हुनसक्ने जखिम हटाउने यो प्रविधि दक्षिण कोरियाले चिकित्सकलाई सुरक्षित बनाउन अपनाएको विधि हो।
‘कोरियाको विधिलाई नमुना मानेर बुथ निर्माण गरिरहेका हौं’, महावीर पुन भन्छन्, ‘काठमाडौं उपत्यकाका टिचिङ, वीर, सैनिक हस्पताल, भक्तपुर अस्पताल बाग्लुङ अस्पताल, महेन्द्रनगर अस्पताल, इटहरी अस्पतालमा बुथ राख्ने काम सकेर सञ्चालन भइसकेका छन्।’
पीपीई र बुथहरु केन्द्रले निःशुल्क प्रदान गरिरहेको हो।
वीर, टिचिङ अस्पतालका भेन्टिलेटर मर्मत
कोरोना महामारीकै सन्दर्भमा राष्ट्रिय आविष्कार केन्द्रले देशका मुख्य अस्पतालहरुका भेन्टिलेटर मर्मत गरेको छ। केही अस्पतालका मर्मत कार्य जारी छन्। मेडिकल प्रविधि एवं इन्जिनियरिङ आवश्यक पर्ने यो कार्यमा केन्द्रले बायोमेडिकल एशोसिएशन र बायोमेडिकल इन्जिनियर समूहको सहयोग लिइरहेको छ।
‘ट्रमा सेन्टरका ८, वीर अस्पतालका ३ वटा भेन्टिलेटर मर्मत भएका छन्’, महावीर पुन भन्छन्, ‘टिचिङका ६ वटासहित गंगालाल र कान्तिबाल अस्पतालका भेन्टिलेटर मर्मत गरिरहेका छौं।’
कोरोना भाइरसले संक्रमणपछि अधिकांश बिरामीलाई श्वासप्रश्वासजन्य समस्या उत्पन्न गराउँछ। यस्ता बिरामीको उपचारका लागि इन्टेन्सिभ केयर युनिट (आइसीयु) र भेन्टिलेटर सबैभन्दा महत्वपूर्ण हुनेगर्छ। यही पक्षलाई ध्यानमा राखेर यतिबेला मुख्य अस्पतालहरुले भेन्टिलेटरको अवस्था चेकजाँच गरिरहेछन्। बिग्रिएका भेन्टिलेटर मर्मत गर्ने ठाउँ बनेको छ, राष्ट्रिय आविष्कार केन्द्र।
नयाँ भेन्टिलेटर सिस्टम परीक्षण
पुराना भेन्टिलेटर मर्मतसँगै राष्ट्रिय आविष्कार केन्द्रले यतिबेला नयाँ भेन्टिलेटर सिस्टम पनि विकास गरेर परीक्षण गर्ने काम गरिरहेको छ। ‘हामीले यो भेन्टिलेटर सिस्टम श्वास लिन गाह्रो भएका बिरामीलाई एम्बुलेन्समै समेत भेन्टिलेटर सुविधा दिन सकिन्छ भनेर विकास गर्न खोजेका हौं’, महावीर पुन भन्छन्, ‘बिरामीको मुखमा यो सिस्टम जोड्दा त्यसले अक्सिजन पम्प गर्दिन्छ।’
उनका अनुसार इन्जिनियरिङका लागि ख्याती कमाएको अमेरिकी विश्वविद्यालय एमआइटीका विद्यार्थीले अनुसन्धान गरेर विकास गरेको प्रणालीअनुसार नयाँ भेन्टिलेटर सिस्टम बनाउन लागिएको हो। ‘एमआईटीका विद्यार्थीले विकास गरेको ओपनसोर्सबाट भेन्टिलेटरजस्तो यो सिस्टम विकास गरेका छौं। त्यसको परीक्षण कार्य भइरहेको छ’, महावीर पुन भन्छन्, ‘स्वास्थ्यसँग सम्बन्धित कामको लागि बायोमेडिकल इन्जिनियरहरुले सहयोग गरिरहनु भएको छ। सबै हिसाबले परीक्षण सफल भइसकेपछि मात्र हामी यसलाई सार्वजनिक रुपमा परिचय गराउने छौं।’
‘आइसोलेसनमा रहेका मानिसहरुलाई खाना पुर्याउन रोबटको विकास गर्ने काम पनि गरिरहेका छौं’, पुन भन्छन्, ‘एक पटक प्रयोग भइसकेको मास्क र पीपीई गाउनलाई किटाणुरहित बनाएर फेरि प्रयोग गर्नका लागि युभी टिर्टमेन्ट सिस्टम बनाउन प्रयास गरिरहेका छौं।’ यो बाहेक कोरोनाले सिकिस्त भइसकेका बिरामीलाई राखेर जाँच्ने इन्क्युबेसन बाकास समेत केन्द्रले विकास गर्दैछ।
अनुसन्धान र आविष्कारमा विश्वविद्यालयहरुको भूमिका शून्य रहेको नेपालमा आविष्कार केन्द्रले त्यो खाडल पुर्ने प्रयास गरिरहेको हो। ‘अहिले कोरोनाका कारण हामी सबै त्यसमै केन्द्रित भएका छौं तर केही समयपछि फेरि नियमित अनुसन्धान र आविष्कारका काममा फर्किनेछौं’, महावीर पुन भन्छन्।
कोरोना भाइरसको महामारीपछिका काम राष्ट्रिय अनुसन्धान केन्द्रले दाता र सापटीका भरमा चलाइरहेको छ। पुनका अनुसार पीपीईको लागि २० लाख ८० हजार रुपैयाँ खर्च भएको छ। बुथ निर्माणको लागि ७ लाख अनि अनुसन्धानमा २ लाख रुपैयाँ सकिएको छ। ‘अहिलेसम्मको हाम्रो काम देखेर केही व्यक्ति खुशी भएर स्वेच्छाले १७ लाख ८० हजार आर्थिक दान दिनुभएको छ’, महावीर पुन भन्छन्, ‘समयमै बैंकबाट पैसा झिक्न नपाउँदा १० लाख रुपैयाँ सापटी लिएर काम चलाइरहेका छौं।’

 नेपालखबर