आज:  | Tue, 05, Jul, 2022

कोभिड-१९ को परीक्षण किन सुस्त ?

२५ चैत्र २०७६, मंगलवार १५:०९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
कोभिड-१९ को पहिलो बिरामी भेटिएको ९ माघ यताका ७५ दिनमा जम्मा एक हजार ८९० जनामा कोभिड-१९ परीक्षण गरिएको छ। विश्वभर महामारी घोषित भइसकेको यो रोगको परीक्षण नेपालमा कछुवाको गतिमा किन ?
कोभिड-१९ को पहिलो बिरामी १५ पुसमा चीनको वुहानमा भेटिएका थिए। त्यसको एक महीना पनि नपुग्दै नेपालमा ९ माघमा कोभिड-१९ का बिरामी भेटिए। चीनको वुहानबाटै आएका उनको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। डब्लूएचओले आफ्नो स्थिति प्रतिवेदनमा २५ जनवरीमा मात्र नेपालको ‘केस’ रिपोर्ट गरेको छ। प्रारम्भिक अवस्थामै नेपालमा देखिएको कोभिड-१९ को परीक्षण यति सुस्त गतिमा गरिएको छ कि त्यसयताका ७५ दिनमा जम्मा एक हजार ८९० जनाको मात्र परीक्षण गरिएको छ। यो परीक्षण औषतमा दैनिक २५ जनाको मात्र हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ माघदेखि दैनिक नेपालको ‘स्थिति प्रतिवेदन’ जारी गर्दै आएको छ। पहिलो प्रतिवेदनमा १२ माघको परीक्षण विवरण राखिएको थियो, जतिबेला मात्र चार जनाको परीक्षण भएको थियो। जसमध्ये दुई जनामा संक्रमण देखिएको थिएन, एक जना संक्रमित भेटिएका थिए भने अर्को एक जनाको रिपोर्ट आउन बाँकी थियो। यसको अर्थ पहिलो संक्रमित भेटिएको चार दिनसम्म पनि संक्रमितसहित जम्मा चार जनाको मात्र परीक्षण भएको थियो। परीक्षणको यो गति दुई थप दुई महिनासम्म पनि उस्तै थियो। ९ चैतमा दोस्रो व्यक्ति संक्रमित भेटिँदा ५७२ जनाको मात्र परीक्षण भएको थियो। जुन पछिल्लो दुई महीनामा औषत दैनिक १० जनाको दरले भएको परीक्षण हो।  ९ चैतदखि २४ चैत दिउँसोसम्मको १५ दिनमा एक हजार ३७८ जनाको परीक्षण भएको छ। देश नै लकडाउन गरिएको, अन्तर्राष्ट्रिय उडान र सीमा बन्द गरिएको अवधिमा पनि दैनिक करीब ८८ जनाको दरले मात्रै परीक्षण भएको देखिन्छ।
देशभरका १० प्रयोगशालाबाट परीक्षण थालिँदा पनि ठूलो संख्यामा परीक्षण हुन सकेको छैन। २३ चैत दिउँसोसम्ममा एक हजार ६४२ जनाको परीक्षण भएकोमा २४ चैत दिउँसोसम्ममा एक हजार ८९० जनाको मात्र परीक्षण हुनसक्यो, जसले १० स्थानबाटै परीक्षण गर्दा पनि एक दिनमा २४८ जनाको मात्र परीक्षण भएको देखाउँछ। 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. रूना झा प्रयोगशालामा आएका सबै नमूनाको परीक्षण गरिएको बताउँछिन्। “हामीकहाँ ल्याइपुर्‍याइएका सबै नमूनाको परीक्षण गर्न सक्छौं, गरिरहेका छौं”, उनले भनिन्, “प्रयोगशालामा ल्याइपुर्‍याइएका नमूना मात्र परीक्षण गर्ने हो,  हामी आफैं नमूना खोज्न जाने होइन।” राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक ५००/१००० वा त्यो भन्दा पनि बढीको परीक्षण गर्नसक्ने बताउँदै उनले कम परीक्षण हुनुमा प्रयोगशालाको क्षमता कम भएर वा प्रयोगशालासँग सम्बन्धित अन्य कुनै कारण नभएको बताइन्। “हामीकहाँ नमूना नै कम आएको भएर कम परीक्षण भएको हो, नमूना बढ्नेबित्तिकै परीक्षण बढिहाल्छ”, उनले भनिन्। इपिडिमियोलोजी तथा तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे शुरूमा विदेशबाट फर्किएका व्यक्तिमध्ये कोभिड-१९ को लक्षण देखिएकोमा मात्र परीक्षण गर्ने गरिएका कारण थोरैको परीक्षण भएको बताउँछन्। “पहिले कोभिड-१९ प्रभावित ठाउँबाट आएका व्यक्तिमा लक्षण देखिएमा मात्र परीक्षण गरिएको थियो”, उनले भने, “अब दायरा बढाएका छौं, अब न्यूमोनिया भएका, विदेशबाट आएका, उनीहरूको सम्पर्कमा पुगेका, क्वारेन्टाइन र आइसोलेसनमा बसेका, लक्षण देखिएका सबैको परीक्षण गर्छौं।” प्रधानमन्त्री केपी शर्मा ओलीले आज, २५ चैतमा राष्ट्रका नाममा सम्बोधन गर्दै सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरू गरिएको बताएका छन्। सम्बोधनमा उनले भनेका छन्, ‘सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा द्रूत परीक्षण विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २४ चैतको ‘स्थिति प्रतिवेदन’अनुसार प्रदेश १ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा १६ चैतदेखि तथा प्रदेश २ को जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधाममा २१ चैतदेखि परीक्षण थालिएको छ। त्यस्तै बागमती प्रदेशमा किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा २१ चैतदेखि, काठमाडौं विश्वविद्यालय धुलीखेल अस्पतालमा र भरतपुर कोभिड-१९ डायग्नोस्टिक प्रयोगशाला चितवनमा २३ चैतदेखि परीक्षण थालिएको छ। प्रदेश ५ मा राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवामा २३ चैतदेखि र गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाला पोखरामा १८ चैतदेखि परीक्षण थालिएको छ। कर्णाली प्रदेशमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढीमा २० चैतदेखि परीक्षण थालिएको छ। काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित देशभरका १० प्रयोगशालाबाट परीक्षण थालिँदा पनि ठूलो संख्यामा परीक्षण हुन सकेको छैन। २३ चैत दिउँसोसम्ममा एक हजार ६४२ जनाको परीक्षण भएकोमा २४ चैत दिउँसोसम्ममा एक हजार ८९० जनाको मात्र परीक्षण हुनसक्यो, जसले १० स्थानबाटै परीक्षण गर्दा पनि एक दिनमा २४८ जनाको मात्र परीक्षण भएको देखाउँछ।

देखापढीबाट