आज:  | Sat, 02, Jul, 2022

‘हाइप्रोफाइल’ व्यवसायीको कालोबजारी ! अग्रवाललाई पाँचवर्षसम्म जेल सजाय हुन सक्छ

२५ चैत्र २०७६, मंगलवार २१:११ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
मुलुक कुनै न कुनै अप्ठेरो परेका बेला कालोबजारी पनि त्यसैगरी मौलाउने गरेको छ । यस्ता परिस्थितिमा कालोबजारी गरेर मोटाउने प्रवृति उद्योगी व्यवसायीमा हुँदा उद्योगी व्यवसायीप्रति नै सर्वसाधारणको आक्रोश हुनु अस्वाभाविक पनि मान्न सकिन्न । हाल कोरोना भाइरसविरुद्ध देश र जनता लडिरहेका बेला ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा उद्योगी सुलभ अग्रवाल पक्राउ परेका छन्। अग्रवाल नेपालको ठूलो व्यवसायिक घरानामध्येमा पर्ने शंकर समूह र जगदम्बा स्टिल कम्पनीका सञ्चालक हुन्। चीनबाट ल्याएको मेडिकल सामग्रीमा कालोबजारी गरिरहेको सूचनाको आधारमा प्रहरीले उनीमाथि अनुसन्धान शुरू गरेको थियो।   २० चैतमा चार्टर्ड जहाजमार्फत् अग्रवाललगायतको समूहले चीनबाट मेडिकल सामग्री ल्याएको थियो। प्ल्यास फ्रेट लजिस्टिकले चार्टर्ड गरेर २० चैतमा चीन पठाएको जहाजमा सामान ल्याएर अग्रवालले बिक्री गरिरहेका थिए। २० टन सामान लिन गएको जहाज ७.५ टन मात्रै सामान लिएर फर्किएको प्ल्यास फ्रेट लजिस्टिकका प्रमुख कार्यकारी अधिकृत अरुणा सिग्देलले बताइन्। अग्रवाललगायत १९ जना व्यवसायीले त्यसबेला चीनबाट मेडिकल इक्यूपमेन्ट ल्याएका थिए। सूचना पाएलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले ग्राहक बनेर सामान किन्ने योजना बनाएर अग्रवालसँग बार्गेनिङ शुरू गरेको थियो। “हाम्रो टोली ग्राहक बनेर खरिद गर्न सम्झौता गर्दा पनि उनले १५ हजारभन्दा अझ बढी नै मूल्यमा थर्मल गन बेच्न खोजिरहेका थिए”, महानगरीय अपराध महाशाखाका प्रवक्ता, एसपी मुकेश सिंहले भने, “पछि हामीले भनेकै दररेटमा कुरा मिलेपछि हामी १० लाख पाँच हजार रूपैयाँ लिएर ६७ थान थर्मल गन किन्न पुगेका थियौँ।” अग्रवाल पनि प्रहरीले भनेकै ठाउँमा सामान लिएर गएका थिए। त्यतिबेलासम्म आफ्ना ग्राहक प्रहरी हुन् भन्ने पत्तो पाएका थिएनन्। अग्रवाल निलो प्लेटको गाडीमा सामान लिएर गएका थिए। प्रहरीले दुई/तीन दिनअघि नै पक्राउ गर्ने योजना बनाएको भएपनि सामान किन्न भनिएअनुसारको रकम जुटाउन नसक्दा ढिलाई भएको प्रहरीले बतायो। “हामीले अझ बढी रकम जुटाउन सकेको भए उनले ६७ थानभन्दा पनि बढी सामान दिन सक्ने रहेछन्,” सिंहले भने। उनीहरूले ल्याएको सामानको बारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। नक्सालस्थित उनको जगदम्बा स्टिल कम्पनी र अग्रवालको घरमा समेत प्रहरीले निगरानी शुरू गरेको छ। अपराध महाशाखाको हिरासतमा रहेका अग्रवालविरुद्ध कालोबजारी ऐन अन्तर्गत अनुसन्धान अघि बढाउन प्रहरीले आवश्यक प्रमाण जुटाउन थालेको छ। हाइप्रोफाइल व्यवसायीको कालो धन्दा थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका उद्योगी अग्रवाल गत १ मंसिरमा कर दिवसको अवसरमा सरकारबाट सम्मानित पनि भएका थिए। सबैभन्दा बढी कर तिर्ने १५ उद्योगी/व्यवसायीका रूपमा सरकारले उनलाई सम्मान गरेको थियो। नेपाल उद्योग परिसंघको उपाध्यक्ष रहेका अग्रवाल कीर्गिस्तानका अवैतानिक वाणिज्य दूत समेत हुन्। अग्रवाललाई नजिकबाट चिन्ने एक उद्योगीले भने, “उनीहरू पैसा नभएका मान्छे होइनन्। र, पैसाका लागि जेसुकै गर्न पछि नपर्ने उद्योगीमध्येमा पनि पर्छन्।” जगदम्बा स्टिलको गुणस्तरमा लापरवाही गरेको आरोपमा उनीहरू जहिल्यै विवादमा आउने गरेका थिए।

देखापढीबाट