आज:  | Tue, 05, Jul, 2022

कोभिड – १९ संक्रमणका चार चरण : नेपाल अहिले कुन स्टेजमा ?

२२ चैत्र २०७६, शनिबार २०:२४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
गत डिसेम्बर अन्तिममा चीनको हुवेइ प्रान्तको वुहानबाट आउटब्रेक भएको कोभिड-१९ को संक्रमणबाट विश्व प्रभावित भइसको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसा हालसम्म २ सय ३ देश/क्षेत्र/भुगोलमा कोभिड-१९ को संक्रमण फेला परेको छ। कोभिड-१९ को ट्रान्समिसनका चरण विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को संक्रमण ट्रान्समिसनका चारवटा चरणलाई उल्लेख गरेको छ। संक्रमणको ट्रान्समिसन प्याटर्नलाई हरेर सोही अनुरुप राष्ट्रिय तथा स्थानीयस्तरमा तयारी गर्न विश्व स्वास्थ्य संगठनले भनेको छ। यी हुन चार चरण १ ‘नो केस’ यस चरणमा देश वा क्षेत्रमा कुनै पनि केस पुष्टि नभएको अवस्थालाई जनाउँछ। २ स्पोराडिक केस ‘छिटपुट घटना’- यो चरणमा एक वा एक भन्दा बढी केसहरु जुन ‘इम्पोर्टेड’ वा स्थानीय स्तरमा पत्ता लागेका हुन्छ। विशेष गरी संक्रमित क्षेत्रबाट फर्किएका व्यक्तिहरुमा पुष्टि भएसँगै त्यस्तो क्षेत्रलाई विश्व स्वास्थ्य संगठनले स्पोराडिक केसमा वर्गीकरण गरेको छ। ३. क्लस्टर केस (समूहगत घटना): त्यस्ता देश तथा क्षेत्र जहाँ केसहरु समूहगत रुपमा देखिँदै छन् र भुगोलमा एकसाथ एकै प्रकारले देखिँदै छ भने त्यस्तो क्षेत्रलाई डब्लुएचओले क्लस्टर केसमा राखेको छ। ४. कम्युनिटी ट्रान्समिसन : यस्तो अवस्था महामारीको रुप हो। यस्तो क्षेत्रमा अधिकमात्रामा संक्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जानु हो। संक्रमणको ट्रान्समिसन चेन पनि जोडिएका हुँदैन। त्यस्तै, ल्याव परीक्षणबाटै मात्र संक्रमित पुष्टि हुन सक्छ, लागेको शंका पनि हुँदैन। असम्बन्धित समूहगत केसहरु विभिन्न क्षेत्रमा फैलिन्छन्। नेपाल कुन चरणमा त? स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ९ सय १७ जनाको नमुना परीक्षण गरिएको छ अहिलेसम्म। जसमध्ये ९ सय १२ नेगेटिभ केस भेटिए। पाँच जनामा पोजेटिभ टेस्ट भएको छ। जसमध्ये एक जना निको भएर फर्किएका छन्। चीनको वुहानबाट नेपाल आएका एक जना गत माघमा नै कोभिड-१९ को पहिलो संक्रमण देखिएको थियो। त्यसपछिको चैतमा आएर चारवटा कोभिड-१९ का संक्रमण देखिए। फ्रान्सबाट फर्किएकी एक किशोरीमा दोस्रो केस देखियो। त्यस्तै खाडी मुलुकबाट फर्किएका दुई युवामा पनि कोभिड-१९ संक्रमण फेला पर्‍यो। त्यस्तै, दोस्रो केस देखिएको युवतीसँग एउटै विमानमा फर्किएकी बाग्लुङकी एक किशोरीमा पनि कोभिड-१९ को संक्रमण देखियो। उनी बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्युआर ६५२ मा नेपाल आइपुगेकी थिइन्। यस आधारमा नेपाल ट्रान्समिसनको दोस्रो चरण ‘स्पोराडिक केस’मा छ।  विश्व स्वास्थ्य संगठनले कोभिड-१९ रोकथामका लागि स्ट्राटेजिक प्रिपियर्डनेस एण्ड रेस्पोन्स प्लान तयार पारेको छ। संक्रमण पहिचान र नियन्त्रणलाई विश्व स्वास्थ्य संगठनले प्राथमिकतामा राखेको छ। संक्रमण सर्भिलेन्सका लागि केसहरुलाई विश्वस्वास्थ्य संगठनले परिभाषित गरेको छ। चार वर्गमा विभाजन गरेर डब्लएचओले केसहरुलाई परिभाषित गरेको छ। शंकास्पद केस: विश्व स्वास्थ्य संगठनले शंकास्पद केसलाई पनि तीन वर्गमा विभाजन गरेकोछ। पहिलो शंका श्वासप्रस्वास सम्बन्धी समस्यालाई राखेको छ। रुघा खोकी र ट्राभल हिस्ट्री अथवा कोभिड-१९ प्रभावित क्षेत्रमा पछिल्लो १४ दिनमा गए नगएको हेरेर शंकास्पद केसलाई पहिलो चरणमा राखिएको छ। त्यस्तै, शंकास्पद केसको दोस्रो भनेको स्वासप्रस्वास सम्बन्धी गम्भीर रोग देखिएमा र कोभिड-१९ को संक्रमण कन्फर्म भएका विरामीसँग सम्पर्कमा गएका व्यक्तिलाई यो चरणमा राखिएको छ। त्यस्तै, तेस्रो वर्ग हो श्वास प्रस्वास सम्बन्धी समस्या भएका र स्वास्थ्य परीक्षण भइ रोग पत्ता नलागेका व्यक्तिलाई यो समूहमा राखिएको छ। सम्भावित केस: कोभिड-१९ को परीक्षण शंकास्पद देखिएका वा यसको परीक्षण कुनै कारणले परीक्षण गर्न नसकिएका केसलाई सम्भावित केसका रुपमा राखिएका छन्। उदाहरणका लागि नेपालमा अहिले लकडाउन गरिएको छ। उपत्यका बाहिर रहेका केसहरुको स्वास्थ्य परीक्षण गर्न समस्या हुँदै आएको छ। यस्तो अवस्थामा ती केसहरु सम्भावित केसहरु हुन्। पुष्टि भएका केस: प्रयोगशालाबाट कोभिड-१९ को संक्रमण पुष्टि भएकाहरु यस केसमा पर्छन्। सम्पर्क: यस्तो केसमा कुनै पनि व्यक्ति सम्भावित संक्रमित वा पुष्टि भएका संक्रमितहरुसँग सम्पर्कमा रहेका व्यक्ति पर्छन्। उनीहरु प्रत्यक्ष रुपमा एक मिटर भन्दा कम को दुरीमा १५ मिनेट भन्दा बढी निकट रहेका थिए भने त्यस्तोम उनीहरु यस वर्गमा पर्छन्। उनीहरुलाई लक्षण नदेखिए पनि यस समूहमा राखेर अध्ययन गर्न आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनले केसका आधार र ट्रान्समिसनका चरणका आधारमा परीक्षण गर्दै रणनीति तयार गरेर नियन्त्रण रोकथामको काम गर्न भनेको छ। कसरी नियन्त्रण गर्ने? विश्व स्वास्थ्य संगठनले कोभिड-१९ रोकथामका लागि भनेको छ- ‘परीक्षण, परीक्षण र परीक्षण’। हाल युरोप र अमेरिकाका अधिकांश मुलुकहरुमा ट्रान्समिसनको अन्तिम चरण छन्। हामी दोस्रो चरणमा छौं। भारतमा पनि तेस्रो चरणमा पुगेको छ। संख्याका आधारमा जापान र दक्षिण कोरिया पनि तेस्रो चरणमा छन्। युरोपेली मुलुकहरु र अमेरिकामा भन्दा पहिला दक्षिण कोरिया र जापान दोस्रो र तेस्रो चरणमा अगाडि पुगेका हुन्। उनीहरुले यसलाई नियन्त्रण गरे। क्लस्टर चरणमा पुगेको ट्रान्समिसनलाई दक्षिण कोरियाले ट्रेसिङ र ट्र्याकिङ गर्दै सामाजिक दुरीको नीति सहित परीक्षणलाई तीब्र रुपमा अगाडि बढायो। सोमवारसम्म दक्षिण कोरियमा नयाँ केसहरु कम भए पनि क्लस्टर र इम्पोर्टेड केसहरु देखिएका छन्। आइतवार दक्षिण कोरियामा ७६ केस देखा परे जुन अघिल्लो दिन १ सय ५ थियो। यससँगै दक्षिण कोरियामा नौ हजार ६ सय ६६ पुगेको छ। यो लगातार १८ औं दिन हो यहाँ नयाँ संक्रमण एक सयको आसपास छ। दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले कोभिड-१९ विरुद्ध ‘असहिषुण’ नीतिका साथ अगाडि नियन्त्रण अभियानलाई अगाडि बढाएका छन्। दुई सातासम्मको सेल्फ आइसोलेसनलाई बाध्यकारी बनाइएको छ। उल्लंघन गर्नेलाई कारवाही गरिएको छ। इम्पोर्टेड केसहरु बढ्दै जाँदा कोरियाले सरकारले तोकेको स्थानमा कोरिया प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राखेको छ। यहाँ पाँच हजार दुई सय २८ संक्रमितको उपचार पछि निको भएका छन्। अझै चार हजार दुई सय ७५ जना उपचारकै क्रममा छन्। दक्षिण कोरियामा गत जनवरी ३ बाट तीन लाख ९५ हजार एक सय ९४ जनाको परीक्षण भएको छ। दक्षिण कोरियामा पहिलो पटक जनवरी २० मा संक्रमण देखिएको थियो। उस्तै समयमा नेपालमा पनि कोभिड-१९ को पहिलो केस देखा परेको हो। तर, नेपालले यसबीच परीक्षणलाई हजारमा पुर्‍याउन सकिरहेको छैन। न त कोरियाले जस्तै नियन्त्रणको अभियानलाई अगाडि बढाउन सक्यो। ‘स्पोराडिक केस’ (इम्पोर्टेड केस)हरु देखिँदै गर्दा नेपालले सम्भावित संक्रमितहरुलाई अनिवार्य आइसोलेसनमा राख्नुपर्ने हो। तर, पनि सम्भावित केसहरुलाई ट्रेसिङ गर्नमा नै नेपालले विलम्व गरिरहेको छ। संक्रमितहरु नेपाल प्रवेश गर्दा प्रयोग गरेका विमानका यात्रुहरुको ट्रेसिङ गर्दै आइसोलेसनमा राख्नुपर्नेमा त्यस्तो गरिएको छैन। यसले नेपाललाई ट्रान्समिसनको तेस्रो चरण क्लस्टर चरणमा पुर्‍याउँदै छ। यस्तै भारतमा पनि भएको हो। पछिल्लो पटक इम्पोर्टेड केससँग सम्बन्ध नभएका सम्पर्कमा नगएकामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै क्लस्टर ट्रान्समिसनको चरणमा प्रवेश गर्दै गएको बताइएको छ। सुरुवातमै यसलाई नियन्त्रण गर्न तदारुकता नदेखाउँदा भारतमा क्लस्टर ट्रान्समिसनदेखि ‘कम्युनिटी’ ट्रान्समिसनको सम्भावना बढ्दै गएको छ। पहिलो पोष्टबाट