म्याग्दीमा क्वारेन्टाईन बस्न आउनेको संख्या ३४ पुग्यो, बाँकीलाई पनि ल्याईने

१६ चैत्र २०७६, आईतवार १८:५९ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

कोरना भाईरस संक्रमण रोक्न म्याग्दीका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाईन बस्न आउने थपिएका छन । शनिवार १९ जना क्वारेन्टाईनमा बस्न आएकामा आईतवारबढेर क्वारेन्टाईन बस्न आउनेको संख्या ३४ पुगेको छ ।
सरकारको आहृानलाई स्वीकार गर्दै विदेशबाट फर्केर घरपरिवारमा बसेकाहरु क्वारेन्टाईनमा बस्न आएका हुन । कोरना भाईरसबाट हुने रोग कोभिड–१९ संक्रमण प्रकोप ब्यवस्थापन कन्ट्रोल कमाण्ड पोष्टले दिएको जानकारी अनुसार आईतवार बेनीमा रहेका क्वारेन्टाईन केन्द्रमा २२ जना, रघुगंगाको क्वारेन्टाईनमा ४ जना र मंगलाको क्वारेन्टाईन केन्द्रमा ८ जना बस्नु भएको छ । अन्नपूर्ण, मालिका र धौलागिरीमा पनि विदेशबाट पछिल्लो १५ दिनयता घर फर्केका जिल्लाबासीलाई क्वारेन्टाईनमा ल्याउन प्रयास थालिएको छ ।
‘क्वारेन्टाईनमा बस्न आउने दाजुभाई–दिदीबहिनीको संख्या बढेको छ । सुरुमा अलि अप्ठ्यारो महसुस गरेपनि अहिले सवै बसेको देखेपछि ब्यक्तिगत सरसफाईका सामाग्री झोलामा बोकेर उहीहरु क्वारेन्टाईन केन्द्रमा आउनु भएको छ’ संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘बेनीको क्वारेन्टाईनमा एउटै हलमा निश्चित दुरीमा राखिएको भएपनि मंगला र मालिकामा भने हरेकलाइ फरक फरक कोठामा राख्ने गरी ब्यवस्था मिलाईएको छ । आईतवारसम्म सवैको स्वास्थ्य अवस्था राम्रो छ ।’
विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमणको संख्या नेपालमा बढ्दै बाग्लुङ्गमा पाँचौं कोरना संक्रमित भेटिएपछि छिमेकी जिल्ला म्याग्दीमा पनि त्रास थप बढेको छ । नेपालमा पत्ता लागेका पाँचै जना कोरना भाईरस संक्रमित विदेशबाट आएका देखिएपछि पछिल्लो १५ दिन यता विदेशबाट घर फर्केकाहरुको खोजी र पहिचान गरी बेनीमा स्थापना गरिएको आईसोलेसन केन्द्रमा राखिएको हो ।
स्थानीय तहले संकलन गरेको तथ्याङ्ढ अनुसार विदेशबाट पछिल्लो १५ दिनयता घर फर्केका १ सय १० जनालाई होम क्वारेन्टाईनमा राखिएको हो ।
सदरमुकामको बेनी अस्पतालमा समेत जिल्लाका सवै ६ स्थानीय तहमा एक–एक वटा क्वारेन्टाईन सेन्टर स्थापना गरिएको छ । त्यसैगरी कोरना संक्रमणको लक्षण देखिएका विरामीलाई राख्न मालिका गाउँपालिकाको दरवाङ्ग र सदरमुकाम बेनीका ६–६ बेड क्षमताको विशेष आईसोलेसन कक्ष स्थापना गरिएको छ ।
क्वारेन्टाईनमा राखिएका ब्यक्तिमा कोरना भाईरस संक्रमणको लक्षण देखिएको खण्डमा आईसोलेसन पठाउने, आईसोलेसनमा विरामीको स्वाव परिक्षणमा पठाउने र कोभिड–१९ पुष्टि भएमो वेनी अस्पतालमा रहेको क्वारेन्टाईनमा ३ दिन राख्ने, स्वास्थ्यमा सुधार नभए पोखरा रिफर गर्ने सिस्टम मिलाईएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
लक डाउनको कारण दैनिक ज्यालादारी मजदुरको दैनिक जीवनमा प्रभाव अध्ययनगरी खाद्यान्न सहयोग गर्न जिल्ला समवन्यय समितिको नेतृत्वमा खाद्यान्न ब्यवस्थापन कोष स्थापना गरिएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा अझै १ महिनालाई पुग्ने खाद्यान्न, एलपी ग्याँस, पेट्रोलियम पदार्थ  स्टक रहेको जनाएको छ ।